images
images

नयाँ महाप्रबन्धक आएपछि फेरियो उदयपुर सिमेन्टको मुहार : ६ महिनाको व्यापार १०० दिनमै

६० करोड खर्चेर आरएसपी जडान गरिने, उत्पादन ३ गुणा बढ्ने


  • 667
    SHARES
  • २०७८ बैशाख ११ गते शनिबार

    नयाँ महाप्रबन्धक आएपछि फेरियो उदयपुर सिमेन्टको मुहार : ६ महिनाको व्यापार १०० दिनमै

    काठमाडौं । उदयपुर सिमेन्टमा नयाँ महाप्रबन्धक आएको १ सय दिन पूरा भएको छ । सरकारले माघ १ गते सो उद्योगमा गोपी न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरेको थियो । बैशाख १० गते उनको कार्यकालको १ सय दिन पूरा भएको हो । यो अवधिमा सिमेन्टले प्रशासनिक, वित्तीय एवं बजार सुधारमा निकै ठूलो फड्को मारेको छ । 

    सन् १९९४ मा जापान सरकारको सहयोगमा उदयपूर सिमेन्टको कारखाना स्थापना भएको थियो । अहिले यो मेसिन जडान भएको २८ वर्ष पूरा भइसकेको छ । पुरानो भइसकेकोले अहिले उद्योगका मेसिनहरु पटकपटक बिग्रिने गरेको छ । मेसिन बिग्रेकै निहुँमा उद्योग पटक पटक बन्द हुुँदै आएको थियो । 

    न्यौपाने आएपछि मेसिन मर्मतका लागि भारतबाट विशेषज्ञ ल्याएका छन् । विशेषज्ञले अहोरात्र रुपमा खटिएर ब्रेकडाउन कम गर्न सफल भएको उद्योगले जनाएको छ । यो अवधिमा क्लिन शेल, मिल र कोलमिलको रोलर मर्मत गरी सञ्चालनमा ल्याइएको छ । लाइनर, ड्राइफार्म लगायतका उपकरण भने नयाँ जडान गरिएको छ । 

    त्यस्तै, उद्योगमा कोइला, जिप्सन, आइरनओर लगायतका इन्धन तथा कच्चा पदार्थको मौज्दात शुन्य हुने अवस्था पनि अहिले समाधान भएको छ । न्यौपाने आएलगत्तै यसको व्यवस्थापन गरी माघ १० गतेदेखि नै नियमित रुपमा कारखाना सञ्चालन हुने व्यवस्था मिलाएका छन् । अहिले यार्डमा ५ हजार मेट्रिकटनभन्दा बढी कोइला, १ हजार ५ सय मेट्रिकटनभन्दा बढी जिप्सन र १ हजार मेट्रिकटनभन्दा बढी आइरन ओर रहेको जनाइएको छ । 

    उदयपुर सिमेन्टको अर्को मुख्य समस्या कर्मचारी व्यवस्थापनको थियो । ६ सय १३ जनाको दरबन्दी रहेको उद्योगमा हाल ३ सय ३४ जना मात्रै कर्मचारी छन् । अहिलेसम्म कर्मचारी नियुक्तिमा उल्लेखनीय प्रगति नभए पनि पुरानै कर्मचारीबाट व्यवस्थापनको काम गरिरहेको उद्योगले जनाएको छ । 

    १०० दिनको यो अवधिमा उद्योगले ६ लाख ६० हजार बोरा सिमेन्ट बिक्री गरी ४९ करोड रुपैयाँ आम्दानी गरेको छ । जबकी साउनदेखि पुस मसान्तसम्म ६ लाख ९८ हजार बोरा सिमेन्ट बिक्री गरी ५२ करोड रुपैयाँ आम्दानी गरेको थियो । १०० दिनमै उद्योगले ६ महिना बराबरको व्यापार गर्न सफल भएको हो । बैशाख ६ गते सिमेन्टले एकैदिन १७ हजार ३ सय ६४ बोरा सिमेन्ट बिक्री गरेको छ । यो ४ वर्ष पछिकै सबैभन्दा धेरै हो । 

    विगतमा उद्योगले गर्ने अधिकांश खरिद सामान्य दरभाउपत्रबाट खरिद गरिँदै आएको थियो । यसले गर्दा यस्तो खरिदमा अनियमितताको आशंका हुने गरेको थियो । अहिले यसलाई सुधार गरी अहिले आकस्मिक बाहेकका खरिदहरु शिलबन्दी बोलपत्र प्रकृयाबाट खरिद गर्न थालिएको छ ।

    त्यस्तै, सिमेन्टको इपीबाट कच्चा धुलो उड्ने समस्या समाधान गर्न त्यसलाई पनि मर्मत गरिएको छ । मर्मतपछि यस्तो समस्या न्यूनीकरण भएको उद्योगले दाबी गरेको छ । त्यस्तै, यो अवधिमा उद्योगले कारखाना प्रशासन भवन, क्यानटिन तथा आवास परिसरका झाडी बुट्यान तथा नाला सरसफाई गरेको छ । उद्योगको नाममा रहेको जग्गामा भएको अतिक्रमण रोक्न सूचना सम्प्रेषण समेत गरिएको छ । 

    त्यस्तै, स्क्र्याप सामानहरुको बोलपत्रका लागि मूल्यांकन गरिएको, क्लिंकर लगायतका मौन्दातमा रहेको सामानको भौतिक जाँच तथा भिडान गर्ने काम भइरहेको जनाइएको छ । 

    पौष मसान्तसम्म उद्योगले तत्काल भुक्तानी गर्नुपर्ने ६६ करोड लायित्व बाँकी रहेकोमा ४९ करोड रुपैयाँ भुक्तानी गरिएको छ । यस्तो भुक्तानीमध्ये सरकारी राजस्वमा ७ करोड, कर्मचारी सेवा सुविधा भुक्तानीमा ८ करोड, वस्तु आपुर्ति सेवाको भुक्तानी वापत ३० करोड र अवकाश कोषमा ४ करोड रुपैयाँ रहेको छ ।

    उदयपुर सिमेन्टले हाल सिमेन्ट कारखाना रहेको जलजलेबाट २७ किलोमिटर टाढा रहेको खानीबाट चुनढुंगा उत्पादन गर्दै आएको छ । सो खानीमा ७ करोड ३० लाख मेट्रिकटन क्लिंकर रहेको जनाइएको छ । अहिलेको उत्पादन क्षमता अनुसार यो क्लिंकरले ३ सय वर्षलाई पुग्ने अनुमान गरिएको छ । यो उच्च गुणस्तरीय रहेको छ । 

    gopi-neupane.jpg

    अहिले यो सिमेन्टको उत्पादन क्षमता ८ सय मेट्रिकटन रहेको छ । तर मेसिज बिग्रिएकै कारण करिब ३ सय मेट्रिक टन मात्रै उत्पादन हुन सकिरहेको कम्पनीले जनाएको छ । पूर्ण क्षमतामा सञ्चालन गर्नको लागि कतिपय मेसिन फेर्नुपर्ने, कतिपय मर्मत गुर्नुपर्ने अवस्थामा छ । कतिपय मेसिन भने चलिरहेको भए पनि पूरानो मोडल भएकोले बिग्रिएमा बनाउनै नसक्ने अवस्थामा रहेकोले समेत जनाइएको छ । 

    उद्योगलाई अहिलेकै अवस्था अर्थात् करिब ३ सय मेट्रिकटन क्षमतामा सञ्चालन गर्न ३५ करोड लगानी गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । त्यसमा थप २५ करोड रुपैयाँ लगानी गरी आरएसपी जडान गर्ने हो भने दैनिक ११ सय मेट्रिकटन उत्पादन गर्नसक्ने क्षमता बन्ने अध्ययनले देखाएको छ । जबकी नयाँ उद्योग जडान गर्दा अर्बौं रुपैयाँ खर्च लाग्छ । त्यसैले भावी दिनमा उद्योगले आरएसपी जडान गर्ने बाटोलाई समात्ने योजना बनाएको छ । 

    एक वर्षभित्रै यस्तो आरएसपी जडान जनाइएको छ । यो काय सम्पन्न भएपछि अहिले १ अर्ब २० करोड रुपैयाँ रहेको उद्योगको बिक्री आम्दानी ४ अर्ब भन्दा बढी पुग्ने उद्योगको दाबी छ ।


    images

    Logo