images
images

सिमेन्ट उत्पादनमा ३० देखि ३६ प्रतिशतले गिरावट


  • 510
    SHARES
  • २०८० माघ ९ गते मंगलबार

    सिमेन्ट उत्पादनमा ३० देखि ३६ प्रतिशतले गिरावट

    काठमाडौं ।  सिमेन्ट उत्पादन ३० देखि ३६ प्रतिशतले गिरावट आएको छ । बजारमा माग न्यून हुँदा उत्पादनमा उल्लेख्य गिरावट आएको हो । आर्थिक सङ्कटका कारण विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढ्न नसक्दा सिमेन्ट उत्पादनमा कमी आएको छ । ठुला जलविद्युत् आयोजना, हाउजिङ, घर निर्माण न्यून हुँदा बजारमा सिमेन्टको माग कम रहेको उद्योगीको भनाइ छ ।   

    सिमेन्ट उत्पादक सङ्घका अनुसार वार्षिक ५० करोड बोरा सिमेन्ट उत्पादन हुने क्षमता रहेकामा हाल १८ करोड बोरा मात्र उत्पादन भइरहेको छ । 

    सङ्घका उपाध्यक्ष ताराप्रसाद पोखरेलले आन्तरिक बजारमा माग कम हुँदा उत्पादनमा उलेख्य कमी आएको जानकारी दिए । “ठुला जलविद्युत् निर्माणको काम नहुँदा आन्तरिक बजारमा सिमेन्टको खपत न्यून छ,” उनले भने, “सरकारले निर्यातमा नगद रकम वृद्धि गरे निर्यात बढाई विदेशी मुद्रा भित्र्याउन सक्छौँ ।” निर्यातमा नगद अनुदानको व्यवस्थाले पनि सिमेन्ट क्लिङ्कर निर्यातमा उलेख्य वृद्धि भएको जानकारी दिए । सिमेन्ट निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरिएको छ । आन्तरिक बजारमा सिमेन्टको माग कम भए पनि निर्यातमा भने वृद्धि भएको छ । 

    मुलकमा सिमेन्ट र क्लिङ्करको निर्यातमा उलेख्य वृद्धि भएको छ । अन्य वस्तुको निर्यात घटिरहेका बेला सिमेन्ट र क्लिङ्कर निर्यातमा भने उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिनामा एक अर्ब ७६ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको १६ लाख ७२ हजार टन सिमेन्ट निर्यात  भएको छ । 

    गत आवको सो अवधिमा आठ करोड ६२ लाख रुपैयाँ बराबरको दुई लाख ६७ हजार टन सिमेन्ट निर्यात भएको छ । छिमेकी मुलुक भारतमा सिमेन्ट निर्यात हुने गरेको छ । सिमेन्ट निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरिएको छ । गत वर्षदेखि सिमेन्ट निर्यातमा नगद अनुदान बढाएर आठ प्रतिशतसम्म पुर्याएको थियो । 

    नेपालबाट सिमेन्ट तथा क्लिङ्कर भारतमा निर्यात भइरहेको छ । निर्यात हुन थालेको १८ महिना मात्र पुगेको छ । हाल पाल्पा, अर्घाखाँची, सर्वोत्तम, सिजी, बालाजी, बाहुबली र सृष्टि ब्रान्डका नेपाली सिमेन्ट भारतीय बजारमा बिक्री भइरहेका छन् । 

    विभागका अनुसार चालु आवको छ महिनामा तयारी सिमेन्ट मात्रै ८७ करोड २० लाख रुपैयाँ बराबरको निर्यात भएको छ । त्यस्तै ८९ करोड १२ लाख रुपैयाँ बराबरको क्लिङ्कर निर्यात भएको छ ।  


    images
    images

    Logo