काठमाडौं । स्वास्थ्य बिमा बोर्डले निजी संस्थाबाट स्वास्थ्य बिमाबापतको सेवा लिएमा २० प्रतिशत रकम आफैंले भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । बोर्डको २४ फागुनमा बसेको बैठकले सह भुक्तानी कार्यविधि संशोधन गर्दै निजी स्वास्थ्य संस्थाबाट बिमा सेवा लिनेहरूले २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि सह भुक्तानी कार्यविधिअनुसार बिमितले निजी र सरकारी दुवै स्वास्थ्य संस्थामा १० प्रतिशत कोपेमेन्ट शुल्क तिर्नुपर्ने व्यवस्था लागु गरिएको थियो ।
तर निजी स्वास्थ्य संस्थामा २० प्रतिशत भुक्तानी गनुपर्ने नयाँ व्यवस्था निःशुल्क लक्षित समूह र आकस्मिक सेवा लिन जानेका हकमा भने लागु हुने छैन ।
१५ शैय्यासम्मका आधारभूत अस्पतालमा भने सह भुक्तानी व्यवस्था लागु हुने छैन । १५ शैय्यामाथिका सरकारी अस्पतालहरूमा स्वास्थ्य बिमा सेवा लिनेहरूले १० प्रतिशत सह भुक्तानी गर्नुपर्नेछ ।


