काठमाडौं । चालू आर्थिक वर्षमा कर्णाली प्रदेशको बजेट कार्यान्वयनको गति सुस्त देखिएको छ । आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी रहँदा प्रदेशले ल्याएको समग्र बजेटको एक चौथाई मात्रै खर्चिन सक्षम भएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ को चैतसम्ममा कर्णाली प्रदेश सरकारले २५.६६ प्रतिशत बजेट खर्च गरेको छ । ३३ अर्ब ४१ करोड रुपैयाँको बजेट ल्याएको कर्णालीले ९ महिनामा ८ अर्ब ५७ कराेड रुपैयाँ मात्रै खर्च गरेको छ ।
कर्णाली प्रदेश सरकारले यस आर्थिक वर्षका लागि चालु खर्च भन्दा पुँजीगत खर्चका लागि बढी बजेट विनियोजन गरेको थियो । समग्र बजेटको कार्यान्वयन एक चौथाई मात्रै रहँदा विकास खर्चको अवस्था भने झनै नाजुक रहेको छ । चालु आर्थिक वर्षको ९ महिना सकिँदा सम्म प्रदेश १९.०८ प्रतिशत मात्रै पुँजीगत खर्चका लागि छुट्याइएको बजेट खर्चिन सक्षम भएको छ । विकास निर्माणका लागि प्रदेशले विनियोजन गरेको १९ अर्ब ५७ करोडमध्ये हालसम्म ३ अर्ब ७३ करोड रुपैयाँ मात्र खर्च भएको छ ।
चालु बजेट खर्चको अनुपात पुँजीगतको तुलनामा केही बढी छ । कर्णाली सरकारले ९ महिनामा ४ अर्ब ८३ करोड रुपैयाँ चालु खर्च गरेको छ । प्रदेशले गरेको उक्त खर्च सो कार्यका लागि विनियोजन गरिएको बजेटको ३४.९८ प्रतिशत हो । कर्णाली प्रदेशले १३ अर्ब ८३ करोड रुपैयाँ चालु खर्चका लागि विनियोजन गरेको थियो ।
प्रदेशले ९ महिनाको अवधिमा १२ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।


