काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्तसम्म) कुल बजेटको ७.६० प्रतिशत मात्रै खर्च गरेको छ । प्रदेशको विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च झन् कमजोर देखिएको छ । यस अवधिमा पुँजीगत खर्च ३.५६ प्रतिशतमा सीमित भएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा कात्तिक मसान्तसम्म ५ अर्ब ८ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ । कुल खर्चमध्ये चालुतर्फ १५.३५ प्रतिशत र पुँजीगततर्फ ३.५६ प्रतिशत खर्च भएको छ ।
ठूलो बजेट भएका विकासे मन्त्रालयहरूको खर्च प्रगति पनि सुस्त देखिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले ४.५३ प्रतिशत, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले २.८९ प्रतिशत र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले ४ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् ।
यता प्रदेश सरकारको राजस्व संकलन भने वार्षिक लक्ष्यको १९.३५ प्रतिशत पुगेको छ । कुल ६६ अर्ब ९३ करोड ४३ लाख रुपैयाँ आम्दानीको लक्ष्य राखिएकामा चार महिनामा १२ अर्ब ९५ करोड ४० लाख रुपैयाँ संकलन भएको मन्त्रालयले जनाएको छ ।
प्रदेशको आन्तरिक स्रोतबाट ३०.३१ प्रतिशत, संघीय सरकारबाट प्राप्त अनुदानतर्फ २६.०९ प्रतिशत र राजस्व बाँडफाँटबाट २२.४३ प्रतिशत आम्दानी भएको छ ।
राजस्व संकलनको तुलनामा बजेट खर्च निकै कमजोर देखिँदा बागमती प्रदेशमा विकास निर्माणका कामको कार्यान्वयन गति सुस्त रहेको तथ्यांकले देखाएको छ ।



