म्याग्दी । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेका छन् । सर्वेक्षण र प्रक्रिया पूरा गरेर अनुमति पाएका धेरै आयोजना वर्षौंपछि निर्माणको प्रक्रियामा अघि बढेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पश्चिमी भेगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न प्रसारण लाइन र सवस्टेशन बनाउन थालेपछि प्रवद्र्धक सक्रिय बनेका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । प्राधिकरणले मालिका गाउँपालिका–७ मा १ सय ३२ केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण थालेको छ ।
डाँडाखेत सवस्टेशन र प्रसारण लाइन निर्माण हुन थालेपछि अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका हुन् । सन् २०२४ भित्र डाँडाखेत सवस्टेशन र प्रसारण लाइन निर्माण गर्ने तयारीसहित काम थालिएको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए ।
विद्युत् विकास विभागका अनुसार धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा २ सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ जलविद्युत् आयोजना निर्माणाधीन र निर्माणका क्रममा छन् ।
जलविद्युत् आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रि खोलादेखि भारवाङ, कल्लेनी, छहरी, खारा, खाम्ला हुँदै नाउरासम्म १० किलोमिटरभन्दा बढी सडक मार्ग खोलेका छन् । शिवरात्री खोलाको पहरामा अड्किएको सडक निर्माण कार्य धवलागिरि गाउँपालिकाले बजेट विनियोजन गरेर सफल बनाएको थियो ।
शिवरात्री खोलामा मार्ग खोलेपछि त्यसअघि सडक निर्माण भएको हो । विभागका अनुसार हाइड्रो इम्पायर प्राली काठमाडौँले धवलागिरि–४ मा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको अनुमति लिएको छ ।
आयोजनाका अध्यक्ष जीतबहादुर घर्तीले पहुँचमार्ग निर्माण सकेपछि सुरुङ, विद्युत्गृह निर्माण थाल्ने तयारी भएको बताउनुभयो । सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा १ सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ ।
धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट तीन आयोजनाले निर्माणको अनुमति पाएका छन् । त्रिपन्न दशमलव मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४.७० मेगावाट क्षमताको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणको अनुमति लिएका छन् ।
म्याग्दीखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक हाइड्रो भिलेज प्राली र ऊर्जा डेभलपर्सबीच हालै लगानी सम्झौता भएको छ । अपर म्याग्दी जलविद्युत् आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाउन थालेको छ । धवलागिरि–४ मा दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले २३.७० मेगावाट क्षमताको म्याग्दीखोला ‘ए’ र धवलागिरि–१ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् ।
एभरेष्ट इनर्जी एण्ड इन्फ्राइस्टक्चर प्रालीले धवलागिरि–४ मा १४ दशमलव ७० मेगावाट क्षमताको मुदीखोला निर्माणको अनुमति पाएको छ । सुसमित हाइड्रोपावर लिमिटेडले धवलागिरिमा २० मेगावाट क्षमताको कुनबान खोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति मागेको छ ।
दरखोला हाइड्रोपावर लिमिटेडले छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला साना जलविद्युत् आयोजना, सिम्कोश हाइड्रोपावर लिमिटेडले धवलागिरि–४ मा ३.४५ मेगावाट क्षमताको सिम्कोश जलविद्युत् आयोजना, फ्रेस वाटर इनर्जी नेपालले धवलागिरि–४ मुदीमा १२ दशमलव ७३ मेगावाट क्षमताको अपर मुदी, सुसमित इनर्जीले धवलागिरि–४ मुदीमा ९.५मेगावाट क्षमताको म्याग्दीखोला ‘बि’ जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएको छ ।
प्रकाश जोशीले धवलागिरि गाउँपालिकाको मुदीमा ४.६ मेगावाट क्षमताको तिरिजा खोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका छन् । जलविद्युत् आयोजना भित्रिएसँगै सडकलगायत भौतिक पूर्वाधार निर्माणले गति लिने, आयोजनाले बनाएका पूर्वाधारबाट सर्वसाधारणलाई सुविधा पुग्ने, रोजगारी र लगानीको अवसर पाउनुका साथै दीर्घकालीन हिसाबले गाउँपालिकालाई विद्युत् रोयल्टी आम्दानी हुने सम्भावना छ ।


