images
images

भूटानमा हिमनदी र हिमतालको २४ घण्टा निगरानी


  • 122
    SHARES
  • २०८३ भाद्र २४ गते बुधबार

    भूटानमा हिमनदी र हिमतालको २४ घण्टा निगरानी

    थिम्पु । जलवायु परिवर्तनका कारण हिमनदी तीव्र रूपमा पग्लिन थालेपछि भूटानले सम्भावित हिमताल विस्फोटजन्य बाढीको जोखिम न्यूनीकरण गर्न हिमनदी तथा हिमतालको चौबीसै घण्टा निगरानी सुरु गरेको छ ।

    थिम्पु नजिक रहेको नियन्त्रण कक्षबाट उत्तरी हिमाली क्षेत्रमा रहेका ६०० भन्दा बढी हिमनदी र हिमतालको जलसतह निरन्तर अनुगमन भइरहेको छ । सन् २०११ देखि सञ्चालनमा रहेको पूर्वसूचना प्रणालीमार्फत पानीको सतहमा असामान्य परिवर्तन देखिएमा तल्लो तटीय क्षेत्रमा स्वतः साइरन बज्ने व्यवस्था गरिएको छ ।

    भूटानमा हिमताल विस्फोटजन्य बाढीको जोखिम पुरानै चुनौतीका रूपमा रहेको छ । सन् १९९४ मा पुनात्सङछु नदीमा आएको विनाशकारी बाढीमा २१ जनाको ज्यान गएको थियो। हाल देशका १७ वटा हिमताललाई अत्यन्त जोखिमपूर्ण सूचीमा राखिएको छ ।

    विशेषगरी पुनात्सङछु नदीको मुहान क्षेत्रमा रहेका प्रमुख हिमतालका प्राकृतिक बाँध भत्किएमा ५ करोड ३० लाख घनमिटरभन्दा बढी पानी एकैपटक तलतिर बग्न सक्ने र त्यसबाट ठूलो जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

    भूटानका प्रमुख हिमनदीविद् कर्माका अनुसार देशका साना तथा ठूला हिमनदीहरू वार्षिक रूपमा १२ देखि ३५ मिटरसम्म पछाडि हटिरहेका छन् । हिमनदीको तीव्र पग्लाइसँगै हिमतालको आकार बढ्दै जाँदा विस्फोटजन्य बाढीको जोखिम पनि बढिरहेको छ ।

    जलवायु परिवर्तनको प्रत्यक्ष असर सामना गरिरहेको भूटानले जोखिममा रहेका समुदायको सुरक्षा र पूर्वतयारीका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको आग्रहसमेत गरेको छ ।


    images
    images

    Logo