काठमाडौं । २०५४ सालको निर्वाचनमा मेयर बन्दा काठमाडौं महानगरपालिकाका तात्कालिन मेयर केशव स्थापितले गरेको मुख्य २ वटा कामको अहिले सम्झना हुन्छ, पहिलो माइतीघर मण्डला खाली गर्ने । दोस्रो, कलंकी–सोल्टीमोडको सडक विस्तार गर्ने । तात्कालीन समयमा यो काम गर्नु निकै साहसिक र महत्वपूर्ण थियो ।
२०५७ सालमासम्म रहेका घरहरु भत्काएर बनाइएको माइतीघर क्षेत्रमा आज सुन्दर मण्डला बनेको छ, कलंकीमा फराकिलो सडक छ । समयले उनको यो कदमलाई सही सावित गरिदिएको छ । तर, उनको कार्यकालमा भएका हजाराैं काममध्ये यही दुइवटा कामको मात्रै चर्चा हुनु भने विडम्बनापूर्ण छ । किनकी यी काम निर्माणका थिएनन्, विध्वंशका थिए ।
बाबुराम भट्टराई नेपालको अर्थमन्त्रीदेखि प्रधानमन्त्री दुवै भए । तर, उनको राजनीतिक करियरमा सडक विस्तार मात्रै उपलब्धी भएकाे जसरी चर्चा गरिन्छ । उनले लिएका कर प्रणाली, तलब वृद्धिमा पहिलोपटक लिएको प्रगतिशील नीति र अन्य योजनाको खासै चर्चा हुँदैन । त्यसो त नागरिकहरुमाथि निर्मम भएर घरमा डोजर चलाउनुको नकारात्मक पाटो नभएका पनि होइनन्, तर यसको नपि मूल्यांकन हुँदैन ।
स्थापित र भट्टराईका यी एक्सनले आजको शहरलाई व्यवस्थित बनाउन सहयाेग पक्कै गरेको छ । जनताबाट निर्वाचित हुनुपर्ने व्यक्तिका लागि जनतामाथि नै निर्मम बन्ने यफ एउटा साहसिक काम पनि थियो । तर, हजाराैं काकमो बीचमा ध्वंसलाई मात्रै उपलब्धि देख्ने नेपाली समाजको प्रवृत्तिले निर्माणलाई प्राथमिकता दिन सकिरहेको छैन । यही प्रवृत्ति अहिले काठमाडाैं महानगरका मेयर बालेन्द्र शाहमा पनि देखिन्छ ।
मेयरका लागि उम्मेदवार बन्दै मैदानमा उत्रिँदा बालेन्द्र शाहले कहिलै ध्वंसका कुरा गरेका गरेनन्, बरु निर्माणका कुरा गरे । २८ बुँदे उनकोे घोषणापत्रमा फोहोरलाई मल बनाएर छिमेकी जिल्लामा बेच्ने, खानेपानीको सञ्चयका लागि घर घरमा रिभर्स बोरिङको व्यवस्थापन गर्ने, आयुर्वेद, योग जस्ता विषयको शिक्षालाई प्रवर्द्धन गर्ने, बढ्दो ट्राफिक जाम नियन्त्रणका लागि जिपिएस प्रणालीमा आधारित यातायात व्यवस्था गर्ने, बहुतले पार्किङहरु निर्माण गर्ने, आइडिया बैंक र इनोभेसन केन्द्रमार्फत् नयाँ उद्यमशीलताको क्षेत्रहरु प्रवद्र्धन गर्ने लगायत विषयहरु थिए । तर, लोकप्रियताको घट्दै गएको ग्राफलाई रोक्न उनले पनि पूर्ववर्ती मेयरकै बाटो पच्छ्याएका छन् ।
मंगलबार काठमाडौं महानगरपालिकाका मेयर शाहले बानेश्वरका भवनको बेसमेन्ट मार्केटलाई हटाए । बेसमेन्टमा पार्किङको अनिवार्य व्यवस्था हुनुपर्नेमा बजार सञ्चालन भएको पाइएपछि उनले यो हटाउन लगाएका हुन् । यसको नेतृत्व शाह आफैंले गरे । त्यस्तै, बुधबार नै उनले काठमाडौं महलमा डोजर चलाए । नक्सापास गरिएको भन्दा थप संरचनालाई उनले भत्काउन लगाएका हुन् ।
यी कदम आफैंमा नाजायज होइनन् । कानूनको परिपालनालाई व्यवस्थित गर्दा यसबाट कसैले अनधिकृत लाभ लिने र कसैलाई हानी हुँदैन । त्यसैले भाडा र कर तिरेर सटरमा बसेकामाथि नि:शुल्क सडकमा बसेकाले गरेको 'दमन' विरुद्धको यो कारबाही आवश्यक थियो । सडकमा मकै बेच्नेदेखि अस्पताल चलाउनेसम्ममाथिको कारबाही कुनै कालखण्डमा गर्नैपर्थ्यो ।
तर, आफैँले थुपारेका सपनाको चाङमा उभिएर अहिले नै बालेन यही एक्सनमा उत्रिनु भने विडम्बना हो । महानगरपालिकाको सिस्टमबाट यो काम भएको भए यसलाई सयाैं कामहरुमध्ये एउटा मान्न सकिन्थ्यो । तर, मेयरकै उपस्थितिमा दैनिकजसो हुने यी कामहरुले काठमाडाैं पहिलो प्राथमिकतामा यीनै विषयलाई राखेको जस्तो देखिन्छ । जबकी मेयर शाहले भन्दै आएको 'भिजन एजेन्डा'मा यी विषय प्रष्ट रुपमा उल्लेख छैनन् ।
हुन त मेयर शाहको आफ्नै विवशता पनि छ । सामाजिक सञ्जालकै बलमा चुनाव जितेका उनलाई सञ्जालमै देखिन थालेका नकारात्मक टिप्पणीलाई कम गर्न मिश्रित टिप्पणीहरुले पक्कै झस्काएको हुनुपर्छ । फोहोर व्यवस्थापनमा देखिको कमजोरीसँगै घट्दै गएको लोकप्रियताको ग्राफलाई जोगाउन उनी एक्सनमा उत्रिएको बुझ्न गाह्रो छैन । त्यसैले उनी आफैं फिल्डमा खटिन्छन् र दिनदिनै स्टाटस अपलोड गर्छन् ।
कुनैपनि जनप्रतिनिधिकाे प्राथमिकता सम्बन्धित कामको गुणक प्रभावको आधारमा हुनुपर्छ । अहिले काठमाडौंमा भत्काइएका बेसमेन्ट र संरचनाले सयौंको रोजगारी तत्कालै गुम्छ, तर तात्कालिन रुपमा यसको सकारात्मक प्रभाव भने थोरै मात्र पर्छ । त्यसैले यसलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्नु बालेनको बुद्धिमता होइन । तर, यी सबैमा बालेन मात्रै दोषी होइनन् । दोषी आम जनता हुन्, जसलाई निर्माण मन पर्दैन, विध्वंश मन पर्छ ।
तिनै जनता आफूमाथि राज्यले दमन गरेको मन पराउँदैनन् । तर अरुमाथिको दमनलाई खुलेआम प्रशंखा गर्छन् । अरु उँचो भएर अरुसमान बन्ने होइन, अरुको खुट्टा काटेर आफूसमान बनाउनुपर्छ भन्ने मानसिकता जबरजस्त हावी हुँदाका परिणाम हुन् यी सबै ।


