images
images

बेगनास–रुपा जलाशययुक्त आयोजना : प्रतिमेगावाट लागत १३ करोड मात्रै


  • 457
    SHARES
  • २०७९ आश्विन ६ गते बिहीबार

    बेगनास–रुपा जलाशययुक्त आयोजना : प्रतिमेगावाट लागत १३ करोड मात्रै

    काठमाडौं । नेपाल विद्युत् प्रधिकरण, इञ्जिनियरिङ सेवा निर्देशनालय आयोजना विकास विभागले पोखराको लेखनाथस्थित बेगनास–रुपा पम्प जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि हालसम्म गरिएको वातावरण तथा सामाजिक अध्ययन प्रगति विवरण सार्वजनिक गरेको छ । 

    विभागले वातावरण तथा सामाजिक क्षेत्रमा हालसम्म भएका अध्ययन प्रगतिका बारेमा बुधबार पोखरामा सरोकारवालासँग अन्तरक्रियात्मक कार्यक्रम गरी सार्वजनिक गरेको हो । नेपालमै पहिलो प्रयोगमा बेगनास–रुपा पम्प जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि प्राधिकरणको २० अर्ब रुपैयाँ  खर्च लाग्ने प्राधिकरणका उपनिर्देशक रामजी भण्डारीले जानकारी दिए । यो लागत प्रतिमेगावाट करिब १३ करोड रुपैयाँ हो । जुन नदी प्रवाहमा आधारित आयोजना निर्माणको औसत लागतभन्दा पनि कम हो । 

    उक्त जलाशययुक्त आयोजनाबाट १ सय ५०  मेगावाट  जलविद्युत् उत्पादन हुने जानकारी सो अवसरमा दिइएको थियो  । २०७४ सालमा  सरकारबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी प्राधिकरणले जलविद्युत् सञ्चालन गर्न वातावरणीय तथा सामाजिक अध्ययन कार्य अगाडि बढाएको थियो । बेगनास तालमा भइरहेको पानीको सतहलाई  एक मिटर बढाइ सङ्कलित गरिएको पानीलाई एक किलोमिटर सुरुङ मार्गमार्फत् रुपातालको छेउमा विद्युतगृह निर्माण गरी निस्केको पानी रुपातालमा लगेर खसाल्ने र पुनः रुपातालको पानी पम्पमार्फत बेगनासमा नै ल्याइने योजनाका साथ प्राधिकरण निर्माणमा अगाडि बढेको छ । 

    उक्त आयोजनाबाट ‘पिकआवर’ अर्थात साँझको समयमा दैनिक चार घण्टा विद्युत् निकाल्न सकिन्छ, यसले पिकआवरमा हुने विद्युत् अभावलाई केही मात्रामा सहयोग पुर्याउने जानकारी प्राधिकरणका प्राविधिक प्रकाश गौडेलले जानकारी दिए । बेगनास तालभन्दा रुपातालमा रहेको पानीको सतह ६८ मिटर गहिराइमा भएकाले रुपातालमा  विद्युतगृह सञ्चालन गर्न सजिलो भएको छ । 

    दैनिक अधिकतम साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत् उत्पादन गर्न सकिने र यस समयमा बेगनासको पानीको सतह एक मिटरले कम हुने छ राति १२ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म रुपातालमा जम्मा भएको पानी पुनः बेगनासतालमा पम्पमार्फत् तानिने छ । बेगनासभन्दा रुपाताल सानो भएकाले बेगनासको पानीको सतहभन्दा एक मिटरमाथिको पानी रुपामा अहिले भइरहेको पानीको सतहभन्दा तीन मिटर उचाइमा पुग्ने छ । 

    अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकांश सरोकारवाला निकायका व्यक्तिले वातावरणीय तथा सामाजिक प्रभाव नहुने गरी जलविद्युत्  आयोजना सञ्चालनमा ल्याउन आग्रह गरेका थिए । स्थानीय सरकोकारवाला समेत रहेका पूर्व स्वास्थ्य तथा गृहमन्त्री खगराज अधिकारीले जलचरमा पर्ने असरलाई कम गर्दै तालबाट हुने सिँचाइ, डुङ्गा व्यवसायी तथा स्थानीयवासीलाई असर नपुग्ने गरी आयोजना सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

    प्राधिकरणले आफ्नो स्वार्थभन्दा पनि स्थानीयवासीको स्वार्थलाई मध्यनजर गर्दै आयोजना अगाडि बढाउनुपर्ने र प्राधिकरणले ठाउँठाउँमा पानीको फोहरा राखेर बेगनासमा पर्यटकलाई एक रात बिताउने गरी संरचना पनि खडा गरिदिनुपर्नेमा उनले जोड दिए ।  

    गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग तथा वाणिज्यमन्त्री मणिभद्र शर्मा कँडेलले स्थानीय जनताको सहमति र उनीहरूलाई नै रोजगारीमा सहभागी गराई आयोजना सञ्चालन गर्न आग्रह गरे । गण्डकी प्रदेशका ऊर्जा सचिव डा सन्तोष कैनीले ‘पीक आवर’का समयमा विद्युत् उत्पादन गर्नका  लागि भनेर आयोजनाले घाटाको योजना सञ्चालन गर्न नहुने बताए । 

    स्थानीयवासी तथा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विद्युत् आयोजनाका नाउँमा बस्ती नै डुब्ने सिञ्चाइ नै बन्द हुने किसिमबाट आयोजना सञ्चालन हुन नुहने बताउनुभयो । साथै उहाँले वातावरणीय असर केही पनि नहुने किसिमबाट योजना सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

    स्थानीय सरोकारबाला तथा बेगनास सिञ्चाइ  सरोकार समितिका पूर्व अध्यक्ष पुष्पराज भण्डारीले  बेगनास तालको पानीले ८ सय ८० हेक्टर  जमिन सिँचाइ भएको र विद्युत् आयोजना सञ्चालन हुँदा स्थानीय उपभोक्ता सिँचाइबाट बञ्चित हुन नहुने बताए ।


    images

    Logo