भक्तपुर । भक्तपुर नगरपालिकाले सञ्चालनगर्दै आएको ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान लगायतका सुविधा बिस्तारका लागि पाँच करोड ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको छ । नगरपालिकाले जेठ ५ गते स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा शुक्रबारसम्म ५ करोड ५० लाख ५४ हजार ७ सय ६२ रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको हो ।
कोरोना संक्रमितहरू थपिने क्रमसँगै आइसोलेसन केन्द्र र आकस्मिक सेवामा अक्सिजनको माग बढ्न थालेपनि माग अनुसार अक्सिजन पाउँन नसक्दा बिरामीको उपचारमा समस्या पर्यो । नगरपालिकाले स्वास्थ्य मन्त्रालयसँग अक्सिजन आपूर्तिका लागि पटक–पटक आग्रह गर्दा दैनिक ८० सिलिन्डर अक्सिजन ख्वपः अस्पताललाई प्रदान गर्ने निर्णय सीसीएमसीले गरेपनि निर्णयअनुसार अक्सिजन उपलव्ध भएन ।
अक्सिजन अभावमा बिरामीको मृत्यु हुने अवस्था आएपछि विभिन्न अक्सिजन प्लान्टमा नगरपालिकाका कर्मचारीहरू खटाएर अक्सिजनको जोहो गरेको तितो अनुभव सुनाउँदै भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले त्यसैबाट पाठ सिकेर आफैं अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णयमा पुगेको बताए । प्रमुख प्रजापतिका अनुसार, कोरोना महामारीको विषम् परिस्थितिमा जनतालाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण खरिद कार्यमा जनस्तरबाट स्वेच्छाले आर्थिक, भौतिक सहयोग प्राप्त भएको हो ।
कोषमा विभिन्न सहकारी संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी, संघसंस्था तथा स्थानीय बासिन्दाले सहयोग गरेको नगरपालिकाले जनाएको छ । यसअघि अक्सिजन प्लान्ट स्थापना गर्ने भनिएकोमा अपेक्षित रुपमा बढी सहयोग संकलन भएपछि नगरपालिकाले अक्सिजन प्लान्ट, भेन्टिलेटर, आईसीयूसहितको सुविधायुक्त अस्पताल सञ्चालनको तयारी गरेको छ । नगर प्रमुख प्रजापतिका अनुसार, अक्सिजन प्लान्ट जडानका लागि भौतिक संरचना निर्माण भइरहेको छ, भने जेनेरेटर र बिद्युत ट्रान्सफर्मर जडान भइसकेको छ ।
जिल्ला र नगर क्षेत्रमा कोभिड–१९ कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नगरपालिकाले स्थानीयलाई सर्वसुलभ र गुणस्तरीय उपचारको व्यवस्था मिलाउन ख्वप अस्पताल कोभिड युनिटमा आइसोलेसन केन्द्र र एचडीयु सञ्चालनमा ल्याइएको थियो । उपचारका क्रममा अक्सिजन अभाव भएपछि नगपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेर स्थानीय सर्वसाधारण, संघ संस्था, लगायतलाई सहयोग गर्न अपिल गरेको थियो । नगर प्रमुख प्रजापतिका अनुसार, फिजिसियन, एनेस्थेसिया विशेषज्ञ र आवश्यक कर्मचारी खटाइएको आइसोलेसन सेन्टरमा बस्ने बिरामीले निःशुल्क सेवा पाउँदै आएका छन् ।
नगरपालिकाद्धारा सञ्चालित अस्पतालमा वैशाख १७ गतेबाट ५० शैय्याको आइसोलेसन र २५ शैयाको एचडीयू सेवा दिँदै आएको छ । भक्तपुर नगरपालिकाले १ सय शैय्या क्षमताको ख्वपः अस्पताल सञ्चालनका लागि च्याम्हासिंहमा भवन निर्माण गरिरहेको जनाएको छ । नगरपालिकाले यसअघि जनस्वास्थ्य केन्द्रमार्फत विभिन्न रोगका विशेषज्ञबाट नियमित ओपीडी, इमर्जेन्सी, ल्याब, एक्सरे र अल्ट्रासाउन्ड, फिजियोथेरापी र फार्मेसी सेवा सञ्चालन गर्दै आएको थियो ।



