काठमाडौं । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (नाफिज) ले दृष्टिविहीन अपांगता भएका केही व्यक्ति र वित्तीय क्षेत्रका प्रतिनिधिहरुबीच छलफल गरायो । विषय थियो अहिले विकास भएको प्रविधि अपांगमैत्री कति छ त भन्ने ? कार्यक्रममा रोचक त यो भयो जहाँ दृष्टिविहीनहरुले कसैको सहारा नै नलिई मोबाइल बैंकिङबाट पैसा ट्रान्सफर गरे, बिल तिरे अनि शेयर कारोबार गरेको रेकर्ड समेत देखाए ।
पछिल्लो समय भित्रिएको प्रविधिले त्यस्ता अपांगता भएका व्यक्तिलाई सक्षम बनाउने प्रणालीको विकास गरिसकेको छ । दृष्टि भएर पनि अहिलेसम्म शेयर नबुझ्नेका अगाडि दृष्टिविहीन भएर पनि शेयर कारोबार गर्न सक्षम रहेको प्रमााणित गरेर देखाइदिए । तर उनीहरुले राज्यको कानून र व्यवहारका कारण आफूहरु कानूनी रुपमा यस्तो सुविधा पाउनबाट बञ्चित रहेको गुनासो गरे ।
‘हामीले मोबाइल बैंकिङ गरेर देखाएका छौं, तर बैंकमा जाँदा तपाइँहरुलाई यस्तो सुविधा दिन मिल्दैन भन्छन्,’ नेपाल नेत्रहित संघका उपाध्यक्ष खोमराज शर्माले भने, ‘हामीलाई प्रविधिले त चिन्यो, राज्यले चिन्न सकेन । अझै पनि हामी विभेदको शिकार बन्नुपरिरहेकै छ ।’
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले नेत्रहीन व्यक्तिहरुको सक्षमता देखेर आफू अचम्मित भएको भन्दै यस्ता व्यक्तिहरु अपांग नभएर फरक किसिमले सक्षम भएको व्यक्ति मात्रै रहेको बताए । उनले यस्ता व्यक्तिलाई सुविधा वञ्चित गर्न बैंक तथा वित्तीय संस्थाले नमिल्ने भन्दै यस्तो व्यवस्था आफूहरुले गरिसकेको बताए । देशका पूर्वाधारहरु पछिल्लो समय त्यस्ता व्यक्तिहरुमैत्री हुँदै गए पनि एकैपटक सबै हुन सम्भव नरहेकोले धैर्य गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अपाङ्गता भएका व्यक्तिहरुले तस्विर, डाटाहरुमा भएका सुचनाहरुलाई कसरी ग्रहण गर्न सक्छन् भन्नेमा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । सेयर कारोबार र राफसापका लागि बैंकिङ क्षेत्र पनि जोडिने भएकाले सबै वित्तीय क्षेत्रमा आवश्यक सुधार गर्नुपर्र्नेे ढुङ्गानाको भनाई छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि अपाङ्गता भएका व्यक्तिका लागि प्रविधिमा सहज बनाउन नीतिगत व्यवस्था अनुसारको सिस्टम विकासमा जोड दिए । उनले अहिले पनि अपाङ्गता भएका व्यक्तिहरुले प्रविधिको प्रयोगबाटै गरिरहेको अवस्थामा अपांगमैत्री प्रविधिको विकास गर्न आफूहरु तयार रहेको बताए ।
कार्यक्रममा नेपाल बैंकर संघका अध्यक्ष भुवन दाहालले वित्तीय संस्थाहरुमा अपाङ्गमैत्री सेवामा पूर्णता नभएको स्वीकार्दै आगामी दिनमा आवश्यक नीतिगत व्यवस्था सहित अघि बढ्नुपर्ने बताए । कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष पद्युमन पोखरेलले ग्राहकलाई सेवा दिने क्रममा धेरै कुराहरु सुधार गर्दै जानुपर्ने बताए ।
मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष मेख बहादुर थापाले पनि आफुहरुले दिने सेवाप्रवाहलाई अपाङ्गतामैत्री बनाउनेतर्फ आन्तरिक रुपमै छलफलमा जुट्ने र थप छलफलका लागि आगामी दिनमा छुट्टै कार्यक्रमको समेत आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे ।



