काठमाडौं । देशमा सञ्चालित लघुवित्त कम्पनीहरूले कमाइलाई बढाउँदै लगेका छन् । कुनै लघुवित्त कम्पनीहरूले आफ्नो कमाइ बढाएका छन् भने कतिले खराब कर्जा बढाएका छन् । हालसम्म वित्तीय विवरण पेश गरेका लघुवित्त कम्पनीमध्ये केही लघुवित्त कम्पनीहरूले खुद नाफा, जगेडा कोष, प्रतिसेयर आम्दानी लगातका महत्वपूर्ण सूचकहरुमा सुधार गरेका छन् ।
लघुवित्त कम्पनीहरूले नाफा, ब्याज आम्दानी, रिजर्भ लगायतका सूचक समेतमा सुधार गरेका छन् । कोभिडका बीचमा पनि वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्त कम्पनीहरुले तुलनात्मक रुपमा राम्रो नाफा कमाएको देखिएको छ । प्रतिशेयर आम्दानी, रिजर्भ, नेटवर्थ लगायतका सूचकमा पनि सुधार आएको देखिएको छ ।
कालिका लघुवित्त आकासिँदो नाफा
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ । खुद ब्याज आम्दानीसँगै खराब कर्जा उठाउन सफल भएसँगै लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो ।
लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ करोड ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार ३६४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तको निष्क्रिय कर्जा १.६८ प्रतिशतविन्दु बढेर ४.७४ प्रतिशत पुगे पनि नाफा बढाउन भने सफल भएको छ ।
चैत मसान्तसम्ममा लघुवित्तले ८ करोड ८१ लाख रुपैयाँ राइट व्याक गरेको छ । सो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८९.१९ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६३ लाख ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७२ लाख ८३ हजार रुपैयाँ धनात्मक भएको छ । सो कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार भएको हो।
लघुवित्तको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष २१.०३ प्रतिशत बढेको छ । तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ४१ करोड ६७ लाख रुपैयाँ सापटी र १ अर्ब २० करोड ३५ लाख रुपैयाँ निक्षेपबाट २ अर्ब ९९ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २१.७३ रुपैयाँ बढेको छ ।
मिर्मिरे लघुवित्तले १ करोड ५८ लाख खराब कर्जा उठायो
मिर्मिरे लघुवित्तको १ वर्षको अवधिमा १ करोड ५८ लाख खराब कर्जा उठाउन सफल भएको छ । लघुवित्तले खराब कर्जा उठाएसँगै नाफामा पनि उल्लेख्य वृद्धि गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण यसको खुद नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १४ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३९२.७२ प्रतिशत बढी हो ।
लघुवित्तको खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै र खराब कर्जा पनि उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६२.६८ प्रतिशत बढेको छ ।
सञ्चालन मुनाफा ५४१.६१ प्रतिशत बढेको छ । १ वर्षको अवधिमा लघुवित्तले १ करोड ५८ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।
सो लघुवित्तको नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । लघुवित्तको यस्तो आम्दानी गत आवको चैत मसान्तको तुलनामा २७ रुपैयाँ ९६ पैसा बढेर ४९ रुपैयाँ ३३ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३३.५४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २९ पैसा रहेको छ ।
आरम्भ लघुवित्त करिब ८ करोड नाफा
आरम्भ लघुवित्त र चौतारी लघुवित्त मर्ज भइ बनेको आरम्भ चौतारी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो अवधिसम्ममा लघुवित्तले २० करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । १२ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
२८ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको आरम्भ लघुवित्तको जगेडा कोषमा १२ करोड ४२ लाख रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा लघुवित्तले २ अर्ब ४३ करोड १५ लाख रुपैयाँ सापटी र १ अर्ब १७ करोड ८६ लाख रुपैयाँबाट ३ अर्ब ९० करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । नाफा बढाएपनि लघुवित्तको निष्क्रिय कर्जा ३.६५ गुणा रहेको छ ।
सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४२ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ३१ पैसा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४५.५७ गुणा रहेको छ ।
लक्ष्मी लघुवित्तको नाफा पौने १६ करोड
लक्ष्मी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले १५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९.४३ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.६० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५९.९८ प्रतिशत बढेको छ ।
उक्त लघुवित्त कम्पनीको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ रुपैयाँ ३० पैसा बढेको छ । चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ६५ रुपैयाँ ६९ पैसा पुगेको छ ।
समीक्षा अवधिमा चुक्ता पूँजीको तुलनामा खुद नाफा उल्लेख्य बढेका कारण प्रतिशेयर आम्दानी बढेको हो । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३१.७५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ५ पैसा रहेको छ ।
१५ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी ३२ करोड रुपैयाँ पुर्याएको यस लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा २०.६५ प्रतिशत बढेको छ । लघुवित्तको सापटी ४४.४२ प्रतिशत, निक्षेप ३४.८२ प्रतिशत र कर्जा ३८.६६ प्रतिशत बढेको छ । कर्जासँगै लघुवित्तको निष्क्रिय कर्जा पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.४४ प्रतिशतविन्दु बढेर ३.१४ प्रतिशत पुगेको छ ।
समता लघुवित्तको खुद नाफा बढ्यो
समता लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५.०३ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी बढेसँगै सञ्चालन मुनाफा बढेपछि लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६१.३० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९५.०३ प्रतिशत बढेको छ । खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २३ रुपैयाँ ६१ पैसा रहेको यस लघुवित्तको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १४ रुपैयाँ ९७ पैसा बढेर ३८ रुपैयाँ ५८ पैसा पुगेको छ ।
चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७.२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७६ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी २० प्रतिशत बढेको छ । लघुवित्तको निक्षेप २९.४४ प्रतिशत र कर्जा ३५.३२ प्रतिशत बढेको छ । जगेडा कोष ३५.६६ प्रतिशतले बढेको छ । लघुवित्तको सापटी ७३.४४ प्रतिशत रहेको छ । कर्जा लगानीसँगै लघुवित्तको निष्क्रिय कर्जा पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो कर्जा १.६४ प्रतिशतविन्दु बढेर ३.७५ प्रतिशत पुगेको छ ।
एनआईसी एशिया लघुवित्तको प्रतिशेयर ३२ रुपैयाँ ७५ पैसा
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४२ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४७.९३ प्रतिशत बढी हो । खुुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४२.९४ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा २२०.१८ प्रतिशत बढेको छ ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार भएको छ । लघुवित्तको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा १६ रुपैयाँ ४६ पैसा बढेर ३२ रुपैयाँ ७५ पैसा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५१.८८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७२ पैसा रहेको छ ।
लघुवित्तले चैत मसान्तसम्ममा चुक्ता पूँजी ७३.१६ प्रतिशत बढाएको छ भने जगेडा कोष २४९.५७ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको सापटी १४४.२३ प्रतिशत, निक्षेप १७२.८२ प्रतिशत र कर्जा लगानी ११९.७५ प्रतिशत बढेको छ ।
फरवार्ड माइक्रोफाइनान्सको निस्क्रिय कर्जा बढेसँगै नाफा घट्यो
अन्य लुघुवित्तले नाफा बढाएपनि फरवार्ड माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रा त्रैमासमसम्ममा आफ्नो नाफा घटाएको छ । माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको यो अवधिसम्म २१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा २३ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको यस माइक्रोफाइनान्सको नाफा ७.७४ प्रतिशत घटेको हो ।
माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै निष्क्रिय कर्जा बढेको छ । माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ५९ करोड ८ लाख रुपैयाँबाट घटेर ५६ करोड २१ लख रुपैयाँमा ओर्लिएको छ । सञ्चालन नाफा ३६ करोड ९९ लाख रुपैयाँबाट घटेर ३४ करोड १८ लाख रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा माइक्रोफाइनान्सले ५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यसै अवधिमा माइक्रोफाइनान्सको निक्षेप संकलन ४ अर्ब ३३ करोड र कर्जा लगानी ९ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा माइक्रोफाइनान्सको खराब कर्जा ०.७६ प्रतिशतबाट बढेर १.०६ प्रतिशत पुगेको छ ।
हाल ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको माइक्रोफाइनान्सको जगेडा कोषमा ८९ करोड ७ लाख रुपैयाँ रहेको छ । माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ५९ रुपैयाँ ९८ पैसा, प्रतिशेयर नेटवर्थ २७८ रुपैयाँ र मुल्य आम्दानी अनुपात ३१.७३ गुणा रहेको छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको निष्क्रिय कर्जा शुन्य
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्क्रिय कर्जा शून्य रहेको छ । माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत बढी हो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३४ प्रतिशत र सञ्चालन मुनाफा १३ प्रतिशतले बढेको छ । लघुवित्तले ५७ प्रतिशत सापटी लिएपछि कर्जा लगानी ४८ प्रतिशत बढेको छ ।
८७ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ९ प्रतिशत बढेको छ भने जगेडा कोष २१ प्रतिशत बढेको छ ।
खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि सामान्य सुधार भएको छ । हाल लघुवित्तको प्रतिशेयर आम्दानी ४६ पैसा बढेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २ रुपैयाँ ४३ पैसा बढेको छ भने मूल्य आम्दानी अनुपात ५९.३९ गुणा रहेको छ ।
मेरो माइक्रोफाइनान्सको खराब कर्जा १.९ प्रतिशत
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्स लघुवित्तले २९ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको यहि अवधिमा लघुवित्तले ९ करोड ५८ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । यस माइक्रोफाइनान्सकोे खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आकर्षक सुधार आएकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।
खुद ब्याज आम्दानी बढेर ५७ करोड १४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ३१ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा बढेर ३८ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १२ करोड १५ लाख रुपैयाँ मात्रै सञ्चालन नाफा कमाएको थियो ।
तेस्रो त्रैमाससम्ममा चुक्ता पुँजी १ अर्ब रुपैयाँ र जगेडा कोषमा ४८ करोड रुपैयाँ छ । यसअवधिमा २ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेर १२ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
मेरोको खराब कर्जा भने घटेर १.७० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यसको खराब कर्जा १.९ प्रतिशत थियो । कस्टअफ फन्ड ५.०७ प्रतिशत छ । चैत मसान्तसम्म आइपुग्दा प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ५३ पैसा र प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ०२ पैसा छ ।


