संघ र प्रदेशको बजेटसँगै यतिबेला स्थानीय तहहरु बजेट निर्माणको चटारोमा छन् । कानूनी व्यवस्था अनुसार स्थानीय तहहरुले असार १० गतेभित्रै बजेट ल्याइसक्नुपर्छ । यसका लागि स्थानीय तहहरुले गाउँसभा/नगरसभा बोलाउने र नीति तथा कार्यक्रम र बजेट पेश गर्ने अन्तिम तयारी गरिसकेका छन् ।
नयाँ संविधानपछि पहिलोपटक निर्वाचित स्थानीय सरकारको यो अन्तिम बजेट हो । कोभिड–१९ महामारीबीच गुज्रिरहँदा आफूले जनतालाई दिएका आश्वासनलाई कार्यान्वयन गर्ने अन्तिम मौकाको रुपमा बजेट ल्याउँदै गर्दा यतिबेला जनप्रतिनिधिहरु के सोचिरहेका छन् त ? भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रसँग गरिएको प्रतिनिधिमूलक अन्तर्वार्ता :
कोभिड–१९ महामारीको दोस्रो लहर नियन्त्रणउन्मुख बन्दै गएको छ । स्थानीय सरकारको हैसियतले नगरपालिका यसमा तपाइँहरुले के के योगदान गर्नुभयो ?
हामीले कोभिड–१९ महामारीको नियन्त्रणका लागि हाम्रो तर्फबाट सक्नेजति सबै कामहरु गर्याैं । योबीचमा हामीले हस्पिटल बनायौं, आइशोलेसन वार्डहरुको निर्माण गर्यौं । प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण भएको छ, दुुईवटा वडामा ल्याव निर्माण समेत हुँदैछ । आइशोलेसनमा बस्नेहरुलाई निःशुल्क रुपमा खाना र उपचारको व्यवस्था गर्यौं । घरमै रहनुभएका संक्रमितहरुलाई चिकित्सकीय सुझावहरु उपलब्ध पनि गरायौं ।
हामीसँग अहिले ५० जना अट्ने आइशोलेसन सेन्टर छ । आवश्यक पर्दा यसमा १०० जनासम्म अट्नसक्ने बनाउने क्षमता छ । मंसिर १५ गते देशभर अस्पताल शिलान्यास भए, हामीले मंसिर २८ गते यसको उद्घाटन नै गर्यौं । यसलाई कोभिड हस्पिटलको रुपमा रुपान्तरण गरेर सेवा पुुर्याइरहेका छौं ।
हाम्रो नगरपालिकासँग अहिले ३ वटा एम्बुलेन्स छन् । नगरपालिकाभित्र भएका १० एम्बुलेन्समध्ये अरुले नन कोभिड बिरामी बोक्छन् । नगरपालिकाका ३ एम्बुलेन्सले डेडिकेटेड रुपमा कोभिडका बिरामी मात्रै बोक्छन् । यो पनि हामीले गरेको एउटा काम हो ।
अहिले पनि टोलटोलमा गएर स्वाव संकलन गर्ने र त्यसलाई परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौं । यसैको कारण हुनसक्छ । पहिले दिनमै ५०/६० जना संक्रमित भेटिने हाम्रो नगरपालिकामा अहिले २÷३ जना संक्रमित मात्रै देखिनुभएको छ ।
तपाइँहरुले हस्पिटल उद्घाटन गर्यौं भन्नुभयो, यसमा सुविधारु चाहिँ के के छन् ?
हाम्रो अस्पतालमा कोभिडको लागि भेन्टिलेटर र आईसीयू बाहेकका सबै सुविधाहरु छन् । एक्स्रे छ, ल्याब छ । कोभिडको दोस्रो लहरपछि हामीले रेडियोग्राफी राखेका छौं । अहिले अक्सिजन प्लान्ट र एचडीयूू राख्ने प्रक्रियामा छ । इको, इसीजी लगायतका सेवाहरु पनि असारभित्र राखिसक्छौं ।
कोभिडलाई स्वास्थ्य पूर्वाधार विकासको एउटा अवसर पनि मानिन्छ । तपाइँहरुले पछिल्लो समय गरेको कामले चाहिँ स्वास्थ्य क्षेत्रको दीर्घकालीन पूर्वाधार निर्माणमा कसरी काम गरिरहेको छ ?
हामीले बनाएको अस्पताल दीर्घकालीन पूर्वाधार हो । यहाँ थपिएका सेवा र उपकरणहरु कोभिड नभएको अवस्थामा पनि काम लाग्छन् । त्यसबाहेक हामीले सबै वडाहरुमा स्वास्थ्यचौकी बनाएका छौं । त्यो पनि दीर्घकालीन पूर्वाधार अन्तर्गत नै पर्छन् ।
अहिले भएका आइशोलेसन सेन्टरहरु कोभिड महामारीकै लागि केन्द्रित गरेर बनाइएको भए पनि त्यसलाई स्वास्थ्य पूर्वाधारको रुपान्तरण गर्न सकिन्छ । यसैले अहिले भइरहेको कामले पक्कै पनि दीर्घकालमा राम्रै गर्छ भन्ने लाग्छ । हामीले सञ्चालन गरेका एम्बुलेन्सलाई पछि अरु बिरामी बोक्न प्रयोग गर्न सकिन्छ ।
तपाइँले भन्नुुभएजस्तै यी पूर्वाधारहरुको निर्माण हामीले जति छिटो सम्पन्न गर्यौं, कोभिड महामारी आएको थिएन भने त्यो यति छिटो नहुन पनि सक्थ्यो । त्यसैले हामीले पनि यसलाई एउटा अवसरको रुपमा पनि हेरेका छौं ।
अब बजेट कार्यान्वयनको कुरा गरौं । चालु आर्थिक वर्षको ११ महिना बितिसेकेको छ । तपाइँको नगरपालिकाको पुँजीगत खर्चको अवस्था कस्तो छ ?
अहिले ७५ वटा योजना टेन्डरमा छ । त्यसमध्ये आजसम्म करिब ५५ प्रतिशत पुँजीगत खर्च भएको छ । तर, अफिस बन्द भएको कारणले कतिपय कामहरु सम्पन्न भएर पनि भुक्तानी हुन बाँकी छ । उपभोक्ता समिति वा ठेकेदारले काम सकेर पनि भुक्तानी हुन बाँकी रहेको अवस्थामा असार अन्त्यसम्ममा हाम्रो खर्च ७५ प्रतिशतसम्म पुग्छ होला भन्ने हाम्रो अनुमान छ ।
यो वर्ष हामीले केही गर्नैपर्ने कामहरु गर्न सकेनौं । यो वर्ष कृषि बजार र तरकारी संकलन केन्द्रहरु बनाउन हामीले बजेट विनियोजन गरेका थियौं । त्यो हामीले गर्न सकेनौं । यो वर्ष ३ सय जना नगरबासीलाई उद्यमी बनाउने कार्यक्रम थियो । त्यसका लागि हामीले आवेदन खुला पनि गर्यौं । ११ सय भन्दा धेरैले त्यसमा आवेदन पनि दिनुभयो । तर, छनौट प्रक्रिया अघि बढ्न सकेन ।
युवाहरुलाई बिनाधितो ऋण दिने कार्यक्रम, स्वास्थ्य बीमामा अनुदान दिने कार्यक्रम लगायत ४/५ वटा कार्यक्रम यो वर्ष पूर्ण रुपमा कार्यान्वयन हुन सकेनन् । विकास निर्माणको काममा पनि निषेधाज्ञाका कारण पर्याप्त काम भएका छैनन् । यस्तो अवस्थामा हामीले निर्णय गरेर काम गर्ने म्याद थप गर्नुपर्छ । हामी आवश्यकता अनुसार यो पनि गर्छौं ।
राजश्व संकलनको अवस्था चाहिँ कस्तो रह्यो ?
हामीले यो वर्ष करिब २८ करोड राजश्व उठाउछौं भन्ने अनुमान गरेका थियौं । अहिलेसम्म १५ करोड मात्रै उठेको छ । यो महिनाभरीमा २० करोड पुग्ला । अघिल्लो वर्ष करिब २३ करोड उठेको थियो ।
हामीले उठ्न नसक्ने ठाउँमा प्रक्षेपण गरेका थिएनौं र पर्यटन शुुल्क अघिल्लो वर्ष ३ करोड उठाउने भनेका थियौं, यो वर्ष यसमा एक पैसा पनि उठाउने अपेक्षा गरेनौं । इँटा व्यवसायबाट करिब ५ करोड कर उठ्थ्यो । यो वर्ष इँटाभट्टा चल्न नदिने भनेर यसको प्रक्षेपण नै गरेका थिएनौं ।
मालपोत बन्द हुँदा यस्तो कर पनि कम उठ्यो । यसले पनि राजश्व संकलनमा गम्भीर असर गर्ने अवस्था देखिन्छ ।
अहिले संघ र प्रदेशको बजेट आइसकेको छ । विभिन्न शीर्षकमा तपाइँहरुले पाउने रकम पनि निर्धारण भइसक्यो । अनुदानको क्षेत्र र रकमबारे तपाइँहरुको धारणा कस्तो छ ?
संघ र प्रदेशले हाम्रो लागि छुट्याएको बजेटमा हामी सन्तुष्ट नै छौं । पोहोरभन्दा बजेट बढेर पनि आएको छ । एउटै मात्र कुरा संघीयताको कार्यान्वयनमा सानासाना आयोजनाहरु संघले नचलाएको भए हुन्थ्यो भन्ने मलाई लाग्छ । अहिले हाम्रो नगरपालिकामा ५० ६० वटा आयोजनाहरु त्यसरी संघबाट आएका छन् ।
नगरपालिकाले १ करोडको बाटो बनाउँदा डेढ करोडको काम हुन्छ । त्यही बाटो संघले बनाउँदा ५० लाखको मात्रै काम हुन्छ । त्यसैले आयोजनाको प्रभावकारिता बढाउनकै लागि पनि यस्ता आयोजना स्थानीय सरकारलाई दिनुपर्छ । तर, सिंहदरबारको मानसिकताका कारण यसो हुन सकिरहेको छैन ।
नगरपालिकाको बजेट १० गते ल्याउनुपर्ने बाध्यता छ । तयारी कसरी अघि बढिरहेको छ ?
बजेटको तयारी अन्तिम चरणमा छ । यो वर्ष हामीले सार्वजनिक सूचना मार्फत् जनताका सुझाव लियौं । प्राप्त सुझावका आधारमा नीति तथा कार्यक्रम र बजेटको निर्माण सँगसँगै हुँदैछ । ८ गते हामी नीति तथा कार्यक्रम ल्याउँछौं । त्यसलाई अध्ययन गरेर नगरसभा सदस्यहरुले सुुझाव दिनुुहुन्छ ।
१० गते बस्ने बैठकले त्यसलाई सुझावसहित पास गर्छ । यही आधारमा १० गते नै हामी बजेट पेश गर्छौं । यो वर्ष हामी १ अर्ब ७० करोडको बजेट ल्याउँछौं । अघिल्लो वर्ष हाम्रो बजेट १ अर्ब ५८ करोडको थियो । यो वर्ष खर्च नहुने रकम अर्को वर्ष जाँदा बजेटको आकार बढ्ने सम्भावना छ ।
यो वर्ष नयाँ केही गर्दै हुनुहुन्छ ?
हामीले यसअघि सुरु गरेका केही कार्यक्रमहरु अन्यन्तै लोकप्रिय भए । ती कार्यक्रमहरुलाई यसपालि निरन्तरता दिन्छौं । नयाँ कार्यक्रमबारे पनि केही सोचेका छौं ।
हामीले प्रत्येक वडामा जेष्ठ नागरिक मिलन चौतारी निर्माण गर्ने योजना बनाएका छौं । यस्तो संस्थामा जेष्ठ नागरिककै समिति हुन्छ । त्यहाँ बसेर उहाँहरुले जीवन, जवानी र अनुभवका बारेमा छलफल गर्न सक्छन् । वडाध्यक्ष, मेयर लगायतको छलफल, आलोचना गर्ने भए पनि गर्छन् । त्यो ज्ञानको केन्द्र पनि बन्छ ।
त्यहाँ हामी बजेट पनि दिन्छौं । त्यो बजेट पनि उहाँहरुले कसरी खर्च गर्ने भन्ने योजना समेत उहाँहरुलाई नै बनाउन दिन्छौं । चिया खाएर सक्ने होकि, देवघाट जाने हो कि, भजन कीर्तनका सामान जुटाउने हो कि ? सबै निर्णयको अधिकार उहाँहरुलाई नै दिन्छौं । यो एउटा प्रस्ताव गर्दैछौं ।
अहिले राज्यले ३ सम्बे अर्थनीति अंगिकार गरेको छ । तर, व्यवहारमा कहिँ पनि हामी यस्तो भएको पाउँदैनौं । हामीले यसपालि नगरपालिका, यहाँभित्रका निजी क्षेत्र र सहकारी संस्था समेतको शेयर हालेर उद्योग खोलौं, काम गरौं भन्ने परिकल्पना छ ।
नगरपालिकाको सेवा सञ्चालनको कुरा गरौं न । निषेधाज्ञाको समयमा कसरी सेवा प्रवाह भयो ? अब कसरी सञ्चालन गर्ने योजना छ ?
अहिले वडा कार्यालयहरु त सबै बन्द नै छन् । नगरपालिकाको स्वास्थ्य शाखा २४ सै घण्टा खुलेका छन् । प्रशासनिक कामहरु आलोपालोमा सञ्चालन गर्यौं । अहिलेको अवस्थामा समग्र ३० प्रतिशत कार्यालय खोलेर सेवा दिएको अवस्था छ । स्थानीय प्रशासनको आदेश अनुसार हामी सेवा सञ्चालनसम्बन्धी निर्णय गर्छाैं ।
तपाइँहरु ५ वर्षको कार्यकालसहित निर्वाचित जनप्रतिनिधि, तपाइँहरुले बजेट बनाउने यो नै अन्तिम वर्ष पनि हो । ५ वर्षअघि जनतालाई जुन हिसाबले कन्भिन्स गराउनुभएको थियो, आज आउँदा त्यो लक्ष्यजजिक पुग्नुुभयो कि भएन ? अलिकति समीक्षा गरिदिनुस् न ।
यसमा मेरो २/३ वटा कुरा छ । पहिलो कुरा यो मुलुकमा २० वर्षदेखि स्थानीय सरकारको चुनाव भएको थिएन । १५ वर्षदेखि जनप्रतिनिधि थिएन । केही टाठाबाठाले सर्वदलीय बैठकको नाममा सुविधा लिए पनि आम मान्छेले सुविधा लिन पाएका थिएनन् ।
२० वर्षपछि चुनाव हुँदा एउटा महोत्सवको हिसाबले बडो उत्साहका पैदा गरायो । यसले मान्छेको अपेक्षा र महत्वाकांक्षा एकैपटक बढ्यो । यसलाई हामी उम्मेदवार र पार्टीले अझै बढाइदियौं । त्यसै अनुसार हामी जितेर पनि आयौं ।
यो हाम्रो नयाँ नगरपालिका । २०७३ फागुन २३ गते नगरपालिका घोषणा भयो, २०७४ बैशाखमा चुनाव नै भइहाल्यो । संयोगवश नगरपालिका बसेको यो घर कुनै समयमा कुनै व्यापारीले कुखुुरापालनका लागि बनाइदिएछ र हामी भाडामा भए पनि यहाँ बस्न पाएका छौं । नत्र हामीसँग पूर्वाधार, स्रोत, जनशक्ति, प्रविधि केही पनि थिएन । तर, जनताको अपेक्षा चाहिँ ठूलो छ । योबीचमा सुरुसुरुमा केही ग्याप भएकै थियो ।
पहिलो वर्ष म अलिकति आत्तिएँ । कर्मचारी छैन, इन्जिनियन थिएन, अफिस सेटअप राम्रो थिएन, स्रोत एकदमै थोरै थियो । पहिलो वर्ष हामीले ४९ करोडको बजेट बनाएका थियौं । त्यसमध्ये ३५ करोड चालुखर्चमै थियो । उता काम चाहिँ यति धेरै थियो कि चाँगुनारायणमा सडक मात्रै ४ सय वटा थिए ।
त्यतिबेला मेरो ४० वर्षको राजनीतिक करियर यही खत्तम हुने भयो भन्ने समेत लागेको थियो । कस्तो बेलामा मेयर जितेछु भन्ने पनि मलाई परेको थियो । हामीले पहिलो १ वर्षजति त कानूनको अभाव नै खेप्यौं । बैशाखमा चुनाव भयो । असोजमा मात्रै स्थानीय सरकार सञ्चालन ऐन आयो । कानून आएपछि पनि नियमावली आउनुपर्यो । अफिस र कर्मचारी सेटअप हुँदै जानुपर्यो । स्रोत परिचालनको नयाँ क्षेत्र खोज्नुपर्यो । पहिलो वर्ष यसरी नै बित्यो ।
अर्को २ वर्ष हामीले मज्जाले काम गर्यौं । फेरि पछिल्लो २ वर्ष कोरोनाले हामीलाई अवरोध गर्यो । त्यसैले ५ वर्षे कार्यकालमा हामीले राम्रोसँग काम गर्न पाएको २ वर्ष मात्रै भयो । त्यसैले हामीले अपेक्षा गरेअनुसार काम गर्न सकेनौं । तर, जति गर्न सकियो, त्यसमा व्यक्तिगत रुपमा म सन्तुष्ट छु । स्रोत साधनले भ्याएकोसम्म काम गर्ने सम्बन्धमा कुनै कसर बाँकी राखेको छैन भन्ने लाग्छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
म मेरो नगरवासी र आम नेपालीलाई के भन्न चाहन्छु भने कोभिडको कुनै उपचार छैन, रोकथाम मात्रै हो । रोकथामको २ वटा तरिका छ । एउटा खोप र अर्को स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने नै हो ।
खोपको लागि हामी तड्पिरहेका छौं । त्यो कहिले आउँछ भन्ने थाहा छैन । खोप नआएसम्मका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरौं । मास्क लगाऔं, सेनिटाइजर प्रयोग गरौं । आफू बाँचौं र अरुलाई पनि बचाऔं ।


पेशल आचार्य
