images
images

"ल्यान्ड पुलिङले जग्गाको मूल्य ३ गुणासम्म बढ्यो ; मध्यपुर थिमि परम्परा र आधुनिकताको फ्युजन शहर बन्छ"

मदनसुन्दर श्रेष्ठ, मेयर, मध्यपुर थिमि नगरपालिका


  • 1.4K
    SHARES
  • २०७८ आषाढ १७ गते बिहीबार

    "ल्यान्ड पुलिङले जग्गाको मूल्य ३ गुणासम्म बढ्यो ; मध्यपुर थिमि परम्परा र आधुनिकताको फ्युजन शहर बन्छ"

    मदनसुन्दर श्रेष्ठ मध्यपुर थिमि नगरपालिकाका मेयर हुन् । भक्तपुरका ४ नगरपालिकामध्ये यो काठमाडौं महानगरपालिकासँग जोडिएको र सबैभन्दा नजिकको नगरपािलका समेत हो । पकोभिड महामारीको व्यवस्थापन, सम्पदा संरक्षण, फोहोरमैला प्रशोधन र व्यवस्थापन लगायत क्षेत्रमा उत्कृष्ठ र नमूना काम गरेबापत मध्यपुर थिमि चर्चामा समेत रहेको छ । उत्कृष्ठ काम गरेेवापत नगरपालिकाले विभिन्न अवार्डहरु पनि प्राप्त गर्दै आएको छ । 

    अन्य क्षेत्रमा राम्रो कार्यम्पादन गर्दै आए पनि बजेट ल्याउने मामिलामा भने पछाडि छ । अधिकांश स्थानीय तहले बजेट ल्याइसक्दा यो नगरपालिकाले भने यतिबेला बजेट निर्माण गर्ने तयारीमै छ । यही २४ गते बस्ने नगरसभामा बजेट पेश गर्ने तयारी गरिएको छ । यसै सन्दर्भमा नगरपालिकाको आउँदै गरेको बजेट, विकास निर्माण र पुँजीगत खर्च, कोभिड–१९ महामारीको नियन्त्रण र नगरपालिकाको सम्पूर्ण गतिविधिबारे केन्द्रित भई मेयर श्रेष्ठसँग नेपालअर्थले गरेको अन्तर्वार्ता :

    स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेसम्म नगरसभामा बजेट पेश हुनुपर्थ्यो  । तर, मध्यपुर थिमिको बजेट अझै आएको छैन, यसको कारण के हो ? 

    नीतिगत रुपमा १० गते पेश गर्ने र असार मसान्तसम्म पास गर्ने भन्ने छ । यसअनुसार हाम्रो नीति तथा कार्यक्रम ७ गते नै पास भइसकेको छ । हामीले वडा वडामा पठाएको बजेट सिलिङ अनुसार योजना आउन ढिला भएको र बजेटको सम्बन्धमा छलफल गर्न बाँकी रहेकोले बजेट आउन ढिला भएको हो । 

    यसपालि २४ गतेको लागि मिति तोकेका छौं । सहमतिमै जाऔं भनेर हामीले यसअघि बजेट पेश गरेनौं । २४ गते बजेट ल्याएर यो महिनासम्म टुंग्याउने अपेक्षा हामीले गरेका छौं । असार मसान्तसम्म सहमतिमै बजेट पास गर्ने र साउनदेखि कार्यान्वयनमा जानेगरी हाम्रो योजना छ । 

    यसपालि बजेट कस्तो ल्याउँदै हुनुहुन्छ ? 

    बजेटलाई हामी धेरै महत्वाकांक्षी भन्दा पनि यथार्थपरक बनाउने कोशिस गरिरहेका छौं । यसपटक कोरोनाको कारणले राजश्व संकलनमा पनि कमी देखिएको छ । त्यसैले बजेटको आकार यसपालि थोरै घट्न सक्छ । 

    यो वर्ष हाम्रो १ अर्ब ९ करोड रुपैयाँको बजेटको तयारी छ । यो वर्ष खर्च हुन नसकेको रकम सहित १ अर्ब ४० करोडको हाराहारीमा बजेट आउँछ । चालु आर्थिक वर्षमा १ अर्ब ६५ करोडको हाराहारीमा थियो । 

    संघ र प्रदेश सरकारबाट आउने रकम थोरै बढेर आए पनि धेरै योजनाहरु सशर्त योजनामा मात्रै बजेट आएका छन् । यस्तो रकम चालु खर्चमै बढी केन्द्रित छन् । त्यसैले विकास बजेट चाहिँ घट्ने देखिन्छ । 

    कोरोना महामारी कायम रहेको हुनाले यसपालि पनि स्वास्थ्यलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट आउँछ । त्यसपछि रोजगारी सिर्जना र भौतिक पूर्वाधार निर्माणको लागि बढी बजेट खर्च हुन्छ । यसपालि नयाँ योजना धेरै छान्ने भन्दा पुराना चलिरहेका योजनालाई नै पूर्णता दिने तयारी गरिरहेका छौं ।   

    यो वर्ष पूर्णता दिनुुपर्ने कामहरु के के बाँकी छन् ? 

    मुख्यतया हामीले पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिने तयारी गरेका छौं । यसपालि हामी सडकलाई अलि बढी प्राथमिकतामा राख्छौं । कोरोनाको कारणले गत वर्ष टेन्डर गर्नुपर्ने काममा हुन सकेका छैनन् । ती कामहरु निरन्तर रुपमा जानेछन् । 

    उपभोक्ता समितिमार्फत् सम्पदा निर्माणको कामहरु पनि यहाँ भइरहेका छन् । मन्दिर, बिहार, पाटीपौवाहरु निर्माण अन्तिम चरणमा रहेका छन् । यी कामहरु सम्पन्न गर्नेमा हाम्रो ध्यान बढी केन्द्रित हुनेछ । यसपालि अत्यावश्यक बाहेक नयाँ योजनाहरु धेरै आउँदैनन् । 

    edited2.JPG

    दोस्रो चरणको निषेधाज्ञा खुलेसँगै जनजीवन सहज हुँदै गएको छ । अर्को वर्ष सहज अवस्था हुने अनुमान पनि छ । तर, तपाइँहरुले चाहिँ बजेट घटाउनुपर्ने कारण के हो ? 

    बजेटलाई अलि यथार्थपरक बनाउँ भनेर बजेटको आकार सानो बनाउन लागेका हौं । अर्को वर्ष पनि कोरोनाले छोडिहाल्छ भन्ने अनुुमान गर्न सक्दैनौं । त्यसैले पनि बजेटको आकार घट्ने अनुमान गरेका हौं । १५ देखि २० प्रतिशत आकार घटाएर बजेट आउन सक्छ । 

    यो वर्षको राजश्व संकलन र बजेट खर्चको अवस्था चाहिँ कस्तो छ ? 

    यो वर्ष राजश्व संकलन र खर्च दुवै धेरै हुन सकेन । आन्तरिक राजश्व संकलनतर्फ २८ करोडको लक्ष्य थियो । अहिलेसम्म १९/२० करोड संलन भएको छ । यो वर्ष जिल्ला समन्वय समितिबाट आउनुपर्ने ७ करोड रुपैयाँ नआएको र मालपोत बन्द हुँदा त्यहाँबाट आउनुपर्ने राजश्व समेत नआएको कारणले राजश्व संकलन घट्न गएको अवस्था छ । यस्तो असर हामीमात्रै नभएर सबैतिर परेकै छ । 

    पुँजीगत खर्च पनि यसपालि कम नै हुने अवस्था छ । यो वर्ष ६५ देखि ७० प्रतिशत खर्च होला कि भन्ने अनुमान गरेका छौं । बाँकी रकम आगामी वर्षमा सर्छ । 

    यो वर्षको बजेटमा नगरवासीले नगरपालिकाबाट के कस्तो छुट पाउँदैछन् ? 

    यसको लागि नीतिगत रुपमा त नीति तथा कार्यक्रममा आइसकेको छ । निषेधाज्ञालाई ३ महिनाको अवधि मानेर यो आर्थिक वर्षमा तिर्नुपर्ने करहरुमा २५ प्रतिशत छुट दिनेगरी नीति तथा कार्यक्रममा व्यवस्था भएको छ । यो सर्वसम्मत रुपमा पास समेत भइसकेको छ । त्यही अनुसार बजेटमा पनि व्यवस्था गर्छौं । 

    तपाइँहरुको कार्यकालको यो अन्तिम बजेट पनि हो । यो हिसाबले यसलाई चुनावी बजेट पनि मानिन्छ । त्यो हिसाबको कार्यक्रम चाहिँ के आउँदैछन् ? 

    चुनाव भनेको नियमित रुपमा आइराख्ने कुरा हो । त्यसैले हामी चुनावी बजेटको हिसाबले जाँदैनौं । नयाँ योजना बनाउने र अलपत्र छोड्ने काम हामी गर्दैनौं । नियमित रुपमा भइरहेका कामलाई सम्पन्न गर्ने र केही अत्यावश्यक नयाँ योजना मात्रै अघि बढाउने काम यसपालि गर्ने योजना बनाएका छौं । 

    मध्यपुर थिमि नगरपालिका काठमाडौं उपत्यकामा अवस्थित नगरपालिका र दुईवटा ठूला नगरपालिकासँग जोडिएको नगरपालिका पनि हो । तर बजेटको आकार हेर्दा त्यति ठूलो देखिँदैन । यसको भौगोलिक अवस्थितिको लाभ लिन नसकेको कि के हो ? 

    बजेटको आकारलाई मात्रै तुलना गर्दा यसको आकार सानो भएको हो । तर नगरपालिकाभित्रको योजनाहरुलाई हेर्दा यसको आकार ठूलो छ । 

    हामीले नगरपालिका अन्तर्गत नै नेपाल कोरिया मैत्री अस्पताल सञ्चालन गरिरहेका छौं । त्यसको बजेट लगभग ६५ करोडको छ । त्यस्तै, विभिन्न जग्गा एकीकरण आयोजनाहरुको बजेट पनि लगभग ७५ करोडको छ । यी सबै बजेट जोड्दा मध्यपुर थिमि नगरपालिकाको बजेटको आकार ३ अर्ब हाराहारीमा हुन आउँछ । 

    त्यसो त हाम्रो नगरपालिकाको क्षेत्र पनि सानो छ । हाम्रो क्षेत्रफल ११.२७ वर्गकिलोमिटर मात्रै छ । जबकि चाँगुनारायण हाम्रोभन्दा १० गुणा ठूलो छ । सूर्यविनायक नगरपालिका हाम्रो भन्दा ७ गुणा ठूलो छ । भक्तपुर नगरपालिका मात्रै हाम्रोभन्दा केही सानो हो । तर ती नगरपालिकाको बजेट पनि हाम्रो हाराहारीमै छन् । 

    यसरी हेर्दा क्षेत्रफलका आधारमा हाम्रो बजेट सानो होइन । हाम्रो योजना र त्यसबाट पाउने प्रतिफल पनि हाम्रो ठूलो नै हो । यहाँको विकास निर्माणको लागि यो बजेट प्रशस्त त होइन, तर उपयुक्त छ भन्ने मलाई लाग्छ । 

    edited-1.JPG

    स्वास्थ्य क्षेत्रको कुरा गरौं । तपाइँहरुले नेपाल कोरिया मैत्री अस्पतालमार्फत् दिनुभएको सेवाको बारेमा त निकै चर्चा पनि भयो । निषेधाज्ञा खुला भएसँगै अहिले कोरोनाको दोस्रो लहरको संक्रमण बढ्दै गएको छ । तेस्रो लहर पनि आउने चर्चा छ, त्यसको लागि तयारी कस्तो गर्दै हुनुहुन्छ ? 

    कोभिडका व्यवस्थापनको सम्बन्धमा नेपालका ७ सय ५३ नगरपालिकामध्येमै मध्यपुर थिमि नगरपालिकाले अलग रुपमा माग गर्यौं भनेर हामीले गर्वका साथ भनिरहेका छौं । हामी एउटै मात्र नगरपालिका हौं, जसले आफैंले पीसीआर ल्याब सञ्चालन गरिरहेका छौं । नेपालको एउटै मात्र नगरपालिका हामी हौं जसले १०२ बेडको अस्पताल सञ्चालन गरिरहेको छ । अरुले १५ बेडको अस्पातलको शिलान्यास गर्दैगर्दा हामीले भेन्टिलेटरसहितको सेवा दिइरहेका छौं । 

    कोभिडकै कुरा गर्ने हो भने हामीले अक्सिजन थेरापी दिनेगरी इमर्जेन्सी सेवा सञ्चालन गर्यौं । अहिले हामीले २५ बेडको एचडीयू, १० बेडको आईसीयू सञ्चालन गरिरहेका छौं । भेन्टिलेटरकोसेवा समेत उपलब्ध गराइरहेका छौं । 

    अक्सिजन प्लान्टको सन्दर्भमा पनि सबैभन्दा पहिले अक्सिजन प्लान्टसहितको सेवा दिने अस्पताल समेत नेपाल कोरिया मैत्री अस्पताल नै हो । हामी यति सानो क्षेत्रफल र जनसंख्या हुँदा पनि नगरपालिकामा संक्रमितको संख्या करिब १७ सय थियो । हामीले त्यसलाई पनि कुशलतापूर्वक सामना गर्यौं । यो हिसाबले कोभिड प्रतिकार्यको लागि हामी अरुभन्दा फरक र अब्बल रह्यौं भन्ने हाम्रो दाबी रह्यो । 

    अब तेस्रो भेरियन्टको लागि पनि हामीले तयारी थालिसकेका छौं । यो भेरियन्ट बालबालिकाहरुलाई अलि बढी खतरनाक छ भन्ने कुरा आएकोले उनीहरुको लागि हामीले पेडियाट्रिक आईसीयू नै बनाउन खोजिरहेका छौं । बच्चाहरुको लागि उपयुक्त हुनेगरी भेन्टिलेटरलाई मोडिफाई गरेर ३ वटा तयार गरिसकेका छौं ।

    तेस्रो भेरियन्टको प्रतिकार्यको लागि हामीले तयारी अवस्थामा छौं । तयारी सुरु गरिसकेका छौं । दोस्रो भेरियन्टको समयमा हामीले देखाएको कार्यकुशलता भन्दा राम्रो कार्यसम्पादन गर्ने विश्वास छ । उपचार गर्न नसक्नेहरुलाई समेत नगरपालिकाबाटै बजेट व्यवस्थापन गर्ने तयारी पनि गरिरहेका छौं । 

    तपाइँको कार्यकालको ४ वर्ष भन्दा धेरै समय बितिसकेको छ । यो समयमा तपाइँले नगरपालिकामा ल्याउन सक्नुभएको सकारात्मक परिवर्तन के के हुन् ? 

    ४ वर्ष अघि र अहिले मध्यपूर थिमि नगरपालिकामा आउनेले परिवर्तनको अनुभूति हुनेगरी हामीले काम गरेका छौं । पहिले मध्यपुर थिमि नगरपालिकाको नाम खासै सुनिदैनथ्यो । अहिले यो पर्यटकीय नगरीको रुपमा विकास भइसकेको छ । हामीले भक्तपुर नगरपालिका जाँदा मध्यपुर थिमि हुँदै जानुपर्छ भन्ने सन्देश हामीले दिन सफल भएका छौं भन्ने लाग्छ । 

    हामीलाई सबैले राम्रो भन्ने र तारिफ गर्ने काम सम्पदा संरक्षणको हो । यसमा हामीले नमूना काम गर्यौं । यही बापत हामीले एशियन टाउनस्केप अवार्ड नै प्राप्त गर्यौं । 

    यो अवधिमा हामी २३ वटा मन्दिरहरु पुनर्निर्माण सम्पन्न गर्ने क्रममा छौं भने २५ वटा पोखरीमध्ये १५ वटाको उत्खनन् गरेर पुनर्निर्माण सम्पन्न गरेका छौं । हामीले २३ वटा ढुंगेधारा र २० वटा इनारको पुनर्निर्माण पनि सम्पन्न गर्यौं । पाटी पौवाको संख्या अहिले ३७ पुगिसकेको छ । गल्लीहरुमा परम्परागत शैलीको ढुंगा छाप्ने काम पनि अघि बढिरहेको छ । 

    यी मूर्त कलाहरु भए । तर, हामीले अमूर्त कलाको संरक्षणमा पनि काम गरेका छौं । ४५ वर्षदेखि प्रदर्शनमा आउन नसकेको लाकु भैरव, २३ वर्षदेखि प्रदर्शन नभएको महाकाली नाच र अरु मयुर नाच र बाजागाजाको संरक्षण गर्यौं । 

    दोस्रो सफलताको रुपमा हामीले स्वास्थ्य र कोभिड प्रतिकार्यलाई राखेका छौं । यसबारे मैले अघि नै भनिसकेको छु । 

    हामीले खानेपानीको क्षेत्रमा पनि राम्रो उपलब्धि हासिल गर्यौं । मध्यपुर थिमि नगरपालिका काठमाडौं र भक्तपुर जिल्लामा वितरण हुने खानेपानीको स्रोतको रुपमा रहे पनि यहीँ चाहिँ खानेपानीको हाहाकार थियो । यहाँ २० वर्षदेखि धारा भएर पनि पानी नआएको ठाउँ थियो । हामीले अहिले धारा जोडिएको ठाउँमा पानी आउने बनाएका छौं । 

    यसका लागि हामीले बोरिङहरु निर्माण गर्यौं भने पानीको स्टोरेज क्यापासिटी पनि बढायौं । वितरण प्रणाली सुधारको लागि धेरै पाइपलाइनहरु चेञ्ज गर्यौं । अहिले करिब ९५ प्रतिशत घरमा खानेपानीको समस्या समाधान भएको छ । पछिल्लो समय बस्ती विकास भएर पनि खानेपानी नपुुगेको केही ठाउँमा हामीले यो वर्ष खानेपानी पाइपलाइन पुर्याउनेगरी काम गरेका छौं ।

    Madhyapur-thimi.gif 

    फोहोरमैला व्यवस्थापनका लागि हामीले जापानिज प्रविधि भित्र्याएर कम्पोष्ट केन्द्र बनाएका छौं । यसको परिणामा एकदमै राम्रो आइरहेको छ । यो प्रविधिको प्रयोगबाट आलुको उत्पादन दोब्बर भएको पाइयो । यो मलको प्रयोग गर्दा इट्रबेरीको आकार सबै बराबर भयो भने उत्पादन डेढ गुणा आयो । यही सफलताका कारण राष्ट्रपति कार्यालयको करेसामा हाम्रो मल प्रयोग हुन्छ  । 

    हामीले यसलाई नगरपालिकाभरि फैलाउन चाहेका थियौं । तर, ठाउँको विवादले हामीले यसो गर्न चाहिँ सकेनौं । तर, हामीले प्रयोग गरेको प्रविधि अहिले अरु नगरपालिकाहरुले प्रयोग गर्न थालेका छन् । अहिलेसम्म ५ वटा नगरपालिकाले यो प्रविधि प्रयोग गरेका छन् । त्यसैले यो प्रोजेक्ट पाइलट प्रोजेक्टको रुपमा विकास भएको छ । यसलाई हामी दक्षिण एशियाकै तालिम केन्द्रको रुपमा विकास गर्ने नीति तथा कार्यक्रम पास भइसकेको छ । 

    ल्यान्ड पुुलिङार्फत् जग्गाको एकीकृत विकासको कामलाई समेत हामीले तीव्रता दिएका छौं । कमेरेटार, मनोहरा, सिन्जिटार र दिव्यश्वरी  आयोजना सञ्चालन भइरहेको छ भने थप ६ वटा आयोजना सञ्चालन गर्न लागेका छौं । यी सबै योजना कार्यान्वयन भयो भने मध्यपुर थिमि नगरपालिका पुरानो बस्ती र नयाँ बस्तीको समिश्रणको रुपमा विकास हुन्छ । पुुरानो बस्तीलाई परम्परागत रुपमा संरक्षण गर्ने र नयाँ वस्तीलाई व्यवस्थित शहरीकरण गर्ने हाम्रो योजना हो । यसका लागि हामी नेपालको एकमात्रै नगरपालिका हौं, जसले जग्गा एकीकरण ऐन ल्याएको छ । 

    काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज हुनुपर्छ, यसको विकल्पमा हामी काम गर्न सक्छौं भनेर हामीले काम गरिरहेका छौं । 

    शिक्षा क्षेत्रमा पनि निजी र सार्वजनिक विद्यालयलाई एउटै स्तरको बनाउनेगरी हामीले अभियानलाई निरन्तरता दिएका छौं । त्यस्तै, आफ्नै पाठ्यक्रम समेत हामीले विकास गरेका छौं । यसमा हामीले नेपालभाषालाई समावेश गरेका छौं ।

    कृषि क्षेत्रमा हामीले नगरपालिकालाई रासायनिकमुक्त बनाउने प्रयास गरिरहेका छौं । त्यसको लागि हामीले मलमा अनुदान दिने व्यवस्था गरेका छौं । शहरीकरण बढेर जमिन सकिँदै गएकोले हामीले कौशीखेतीलाई प्राथमिकतामा राखेका छौं । यी ४/५ वटा कुराहरुले मध्यपुर थिमिलाई फरक ठाउँमा पुर्याएको छ भन्ने मलाई लाग्छ । 

    तपाइँहरुको नगरपालिका कार्यालय अगाडिको सडकको निकै चर्चा हुने गरेको छ । यसमा समस्या के हो ? 

    यो सडक बनाउन ६० लाख रुपैयाँको टेन्डर भइसकेको पनि हो । अरु ठाउँमा ठेकेदार भागिभागि हिँड्छन्, यहाँ ठेकेदारले बाटो बनाउन तयार भएको अवस्था पनि छ । ६महिना अघि नै यो बाटोको ग्राभेलको काम भइसकेको थियो । कालोपत्रे गर्न मात्रै बाँकी थियो । 

    तर, विद्युत् प्राधिकरणको हाइटेन्सन लाइन अन्डरग्राउन्ड गर्ने कि नगर्ने विवाद हुँदा यो सडक अलपत्र हुन पुगेको हो । स्थानीयवासीले हाइटेन्सन लाइन अहिले जहाँबाट गइरहेको छ, त्यही अन्डरग्राउन्ड हुनुपर्छ, हाम्रो घरअगाडिको बाटोबाट जान दिँदैनौं भनेपछि समस्या आएको हो । 

    यस्तो अवस्थामा तत्काल काम गर्दा पनि विवाद हुने, नगर्दा पनि विवाद हुने भएकोले रोकिएको हो । अहिले उपमेयरको संयोजकत्वमा विवाद समाधानको पहल भइरहेको छ । यो विवाद समाधान हुनेबित्तिकै कालोपत्रे भइहाल्छ । हाम्रो तर्फबाट काम गर्न यहाँ केही समस्या छैन । 

    तपाइँले जग्गा एकीकरण आयोजनाको कुरा गर्नुभयो, यसलाई नगरवासीले कति रुचाइरहेका छन् ?

    प्लानिङ गर्ने भनेपछि पक्कै पनि जनताहरु खुसी हुने नै भए । प्लानिङ गर्ने भन्नुभन्दा अगाडि मनोहरा क्षेत्रका जग्गाको भाउ प्रतिआना ५/६ लाख रुपैयाँ मात्रै थियो । हामीले प्लानिङ गर्नेभनेपछि अहिले त्यहाँ जग्गाको भाउ १८/२० लाख पुगेको छ । आयोजना सुरु गर्ने भन्ने बित्तिकै अहिले सबैजसो ठाउँमा जग्गाको मूल्य ३ गुणा भन्दा धेरैले बढेको छ । यो आयोजना सम्पन्न भएपछि ५ वर्षपछि यहाँको भाउ प्रतिआना १ करोड रुपैयाँ पुग्छ । यसले जनतालाई राहत नै भएको छ र हुन्छ ।

    आयोजना सञ्चालनमा ढिलाइ हुँदा अलिकति गुनासाे र अविश्वास चाहिँ रहिराखेको थियो । करेरेटार २० वर्षदेखस सञ्चालनमा रहेर पनि काम हुन सकेको थिएन । हामीले लिइसकेपछि १ अर्ब ७ करोडकाे टेन्डर नै गरिसक्याैं । त्यसमध्ये ४५ करोड भुक्तानी भइसकेको छ । कोभिडको कारण अलि ढिला भयो नत्र अहिलेसम्म टेन्डर भएका सबै बाटोहरु कालोपत्र भइसक्ने अबस्था थियो । यसले अहिले विश्वसनीयता पनि बढाउँदै लगेको छ ।

    Madan-1.gif

    तपाइँ त काठमाडौं उपत्यका नगरपालिका फोरमको प्रवक्ता पनि हुनुहुन्छ । पहिलो लकडाउनको समयमा यसको निकै चर्चा हुन्थ्यो, अहिले चर्चा कम सुुनिन्छ, अहिले फोरमले के गर्दैछ ?  

    पहिलो लकडाउनको समयमा राहत वितरणदेखि लकडाउन लम्ब्याउने निर्णयको मोडालिटीको सम्बन्धमा हामीबीच छलफल हुन्थ्यो । सीसीएमसीको बैठकमा हाम्रो प्रतिनिधित्व पनि हुन्थ्यो । तर, दोस्रो कोभिडको लहर आउँदाखेरि चाहिँ उपत्यका नगरपालिका फोरम र उपत्यकाका नगरपालिकासँग सहकार्य गर्न सरकारले कमी गर्यो । त्यसैले सरकारलाई यो ह्यान्डल गर्न गाह्रो पनि भयो । 

    सरकारले निषेधाज्ञा लागु गर्ने जिम्मेवारी सीडीओहरुलाई दिएर सैद्धान्तिक त्रुटी गर्यो । यसलाई हामी सरकारको पञ्चायती अञ्चलाधीश मानसिकता भन्छौं । नगरपालिकाहरुसँग समन्वय हुन नसक्दा उपत्यकालाई महामारीले धेरै गाँज्यो । 

    नीतिगत रुपमा हाम्रो प्रतिनिधित्व नभएपछि हामी हाम्रै ढंगले कोभिडको प्रतिकार्यमा लाग्यौं । प्रशासन आफ्नै ढंगले लाग्यो । सीसीएमसी आफ्नै ढंगले लाग्यो । यसले गर्दा कोभिड नियन्त्रणमा समस्या आएको छ । अब फेरि हामीहरुसँग सहकार्य गर्ने कुरा भइरहेको भन्ने सुनिएको छ । हाम्रो भूमिका भयो भने हामीले फोरमको रुपमा काम गर्छौं । भएन भने नगरपालिका स्तरमा हाम्रो जिम्मेवारी अनुसार हामी काम गर्छौं ।


    images

    Logo