images
images

घ्याम्पेडाँडामा तयार भयो नयाँ जीपलाइन : २६ करोडको लागत, धुलिखेल र पोखराको विकल्प बन्दै


  • 1.0K
    SHARES
  • २०७८ आषाढ २० गते आइतबार

    घ्याम्पेडाँडामा तयार भयो नयाँ जीपलाइन : २६ करोडको लागत, धुलिखेल र पोखराको विकल्प बन्दै

    सो जीपलाइन अन्तर्गत १ हजार २ सय मिटरको जीपलाइन, ४ सय ५० मिटरको सर्ट जिपलाइन, स्काई साइक्लिङ, क्यानोपी साइक्लिङ, स्विइङ, ट्रि-हाउस भ्यू, होमस्टे, होटल र रेष्टुरेन्ट सेवा सञ्चालन ल्याउने तयारी गरिएको छ ।

    भक्तपुर । काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा अत्याधुनिक जीपलाइन निर्माण सम्पन्न भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ स्थित घ्याम्पेडाँडामा ‘योयो जीपलाइन’को निर्माण गरिएको हो । यो जीपलाइन कोटेश्वरबाट १३ किलोमिटर र सूर्यविनायकस्थित अरनिको राजमार्गबाट ४ किलोमिटरको दूरीमा रहेको जीपलाइनको नेपाल केमेलियन प्रा.लि.का सञ्चालक विज्ञान राईले जानकारी दिए । योयो जीपलाइन सोही कम्पनी अन्तर्गत निर्माण र सञ्चालन हुन लागेको हो ।

    jipline-2.JPG

    सो जीपलाइन अन्तर्गत १ हजार २ सय मिटरको जीपलाइन, ४ सय ५० मिटरको सर्ट जिपलाइन, स्काई साइक्लिङ, क्यानोपी साइक्लिङ, स्विइङ, ट्रि-हाउस भ्यू, होमस्टे, होटल र रेष्टुरेन्ट सेवा सञ्चालन ल्याउने तयारी गरिएको सञ्चालक राईको भनाइ छ ।

    २०७६ मंसिरदेखि निर्माण सरु गरिएको सो जीपलाइन सेवा अघिल्लो वर्षको बैशाखदेखि नै सञ्चालनमा लक्ष्य लिइएको थियो । तर, कोरोनाभाइरस महामारीसँगै सरकारले घोषणा गरेको लकडाउनपछि सेवा सञ्चालनमा ढिलाइ भएको हो । 

    Jipline-3.JPG

    त्यसो त, पछिल्लोपटक निषेधाज्ञा जारी हुनुुभन्दा अगाडि करिब ३ महिना यो जीपलाइन सञ्चालनमा आएको थियो । सो अवधिमा करिब २ हजार ५ सय जनाले जीपलाइनको अनुभव गरेको योयो जीपलाइनका अपरेसन म्यानेजर जीभकृष्ण ताम्राकारले जानकारी दिए । अहिले भने थप सेवाहरु समेत सञ्चालनमा ल्याउने तयारी गरेको उनको भनाइ छ ।

    ‘हामी सबै प्रकारले तयारी अवस्थामा छौं । हाम्रा टेक्निकल स्टाफहरुले सबै सेवाको पुनः परीक्षण गरिराख्नुभएको छ । होटल, होमस्टे निर्माणको अन्तिम चरणमा छौं,’ अपरेसन म्यानेजर ताम्राकारले भने, ‘सरकारले सेवा सञ्चालनको अनुमति दिनेबित्तिकै हामी सबै प्रकारका सेवा सञ्चालन सुरु गर्छौं ।’

    Jipline-4.JPG

    योयो जीपलाइन नै किन ? 

    कम्पनीले सो जीपलाइनको भौतिक अवस्थिति, सेवाको विविधता र गुणस्तर र सुरक्षालाई आफ्नो सबैभन्दा बलियो पक्ष मानेको छ । काठमाडौं उपत्यकाबाट नजिक भएको कारणले यहाँ छोटो समयमै पुग्न र साहसिक पर्यटनको अनुभव लिन सकिने अवस्था रहेको अपरेसन म्यानेजर ताम्राकार बताउँछन् । १/२ घण्टादेखि १/२ दिनसम्मको बसाइँका लागि समेत सो जीपलाइनले सेवा दिनसक्ने अवस्था रहेको उनको भनाइ छ । 

    त्यसो त, यो जीपलाइनबाट उपत्यकाको अवलोकन गर्न सकिन्छ । जुन अरु जीपलाइनबाट सम्भव छैन । अहिले काठमाडौंबाट सबैभन्दा नजिक रहेको धुलिखेल जीपलाइन हो । यो जीपलाइनबाट काठमाडौं उपत्यका देखिँदैन । तर घ्याम्पेडाँडाको सो जीपलाइनबाट काठमाडौंको दृश्यावलोकज गर्न सकिन्छ ।

    Jipline-6.JPG

    अर्को सवल पक्ष भनेको यो क्षेत्रको पर्यटकीय आकर्षण हो । घ्याम्पेडाँडा यसै पनि पहिलेदेखिकै पर्यटकीय गन्तव्य हो । होम स्टेदेखि पिकनिक स्पट तथा सभा सेमिनारको लागि समेत यो क्षेत्र पहिलेदेखि नै चर्चित छ । नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको खुला चिडियाखाना प्रस्ताव गरिएको सूर्यविनायकको ठाउँदेखि आशापुरी, सिपाडोल, डोलेश्वर लगायतका धार्मिक गन्तव्य समेत यो क्षेत्रमा रहेको छ । 

    सो कम्पनी आफैंले सम्भावित सबै प्रकारका सेवाहरु दिने तयारी गरेको छ । जीपलाइन बाहेक रात बिताउन चाहनेलाई आफ्नै होमस्टे, दिनमा रमाउन चाहनेलाई डे-पिकनिकदेखि होटल रेष्टुरेन्टसम्मका सेवा समेत एकै ठाउँबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ । जीपलाइन अन्तर्गत पनि आफ्नो रुचि र बजेटअनुसार फरक फरक सेवा  उपलब्ध गराउनुलाई कम्पनीले आफ्नो अर्को सबल पक्ष मानेको छ ।

    Jipline-5.JPG

    अहिले कम्पनीले सो परिसरमा करिब ६० जना क्षमताको होटल निर्माण गर्दैछ । त्यस्तै होमस्टे सेवा पनि सञ्चालनको अन्तिम चरणमा रहेको अपरेसन म्यानेजर ताम्राकारको भनाइ छ । सो कम्पनीले हाल १४ जना प्राविधिकसहित ४० जना कर्मचारीबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ । एउटै कर्मचारीले फरकफरक प्रकारका सेवा दिनसक्नेगरी व्यवस्था मिलाएकोले सेवाग्राहीलाई छिटो र भरपर्दो हस्पिटालिटी प्रदान गर्नसक्ने व्यवस्था रहेको समेत कम्पनीको दाबी छ । 

    सुरक्षा व्यवस्था समेत यो जीपलाइनको अब्बल रहेको कम्पनीको दाबी छ । २ हजार किलोग्राम लोडलाई सहजै धान्नसक्ने जीपलाइनको क्षमता छ, जबकी सामान्य मान्छेको ताैल १०० केजीभन्दा कम हुन्छ । सामान्यभन्दा २०/२५ गुणा बढी क्षमता भएका कारण यसमा दुर्घटनाको सम्भावना नै नरहेको कम्पनीको भनाइ छ । जीपलाइन चढ्न चाहनेलाई सुरक्षाबारे सुरुमै काउन्सिलिङ गर्ने भएकोले अनावश्यक रुपमा आत्तिने र डराउने समस्या समेत कम हुने कम्पनीको दाबी छ । 

    jipline-7.JPG

    ‘हामी १४ जना प्राविधिक कर्मचारी नै अनुभवी छौं । त्यही अनुसार हाम्रो संरचना बनेको छ । समय समयमा यसको परीक्षण समेत गर्छौं, त्यसैले यहाँ दुर्घटनाको सम्भावना नै छैन,’ जीपलाइनका टेक्निकल इन्चार्ज दिनेश रायमाझी भन्छन्, ‘क्लाइन्ट डराउने वा अन्य कारणले समस्या भयो भने पनि १८ सेकेन्डभित्र रेस्क्यु गर्ने हाम्रो मेकानिजम छ । त्यसैले सुरक्षाको मामिलामा हामी अब्बल छौं ।’ 

    कम्पनीले कानूनी व्यवस्था र सम्भावित दुर्घटनाको क्षति न्यूनीकरणका लागि अजोड इन्स्योरेन्ससँग सहकार्य गरेर प्रत्येक सेवाग्राहीको १० लाख रुपैयाँ बराबरको बीमा समेत कम्पनीले गरेको उनले जानकारी दिए । रायमाझीले यसअघि धुलिखेल, धरान, हेटौंडा लगायतका जीपलाइनमा समेत प्राविधिकको रुपमा काम गरेका थिए । 

    jipline-8 (1).jpg

    कति लाग्छ शुल्क ? 

    हाल १२०० मिटरको जीपलाइनका लागि सिंगलको ३ हजार रुपैयाँ, जोडीका लागि ३ हजार ५ सय रुपैयाँ र सुपरम्यानका लागि ३ हजार ५ सय रुपैयाँ शुुल्क तोकिएको छ । ४५० मिटरको सर्ट जिपलाइनका लागि सिंगलको १ हजार ५ सय रुपैयाँ, जोडीका लागि २ हजार ५ सय रुपैयाँ र सुपरम्यानका लागि २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको कम्पनीका एकाउन्ट म्यानेजर दीपेन्द्र प्रजापतिले जानकारी दिए । 

    स्काई साइक्लिङका लागि एकतर्फी १ हजार ५ सय र दुईतर्फी २ हजार रुपैयाँ, क्यानोपी साइक्लिङका लागि एकतर्फी १ हजार ८ सय र दुुईतर्फी २ हजार ५ सय रुपैयाँ शुुल्क निर्धारण गरिएको छ । स्विइङको शुल्क भने ४ हजार रुपैयाँ तोकिएको छ । भिडियो खिच्नेको हकमा थप ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको प्रजापतिको भनाइ छ । 

    jipline-9.jpg

    यो शुल्क अरु जीपलाइनकै हाराहारीमा हो । तर, योयो जीपलाइनले सेवा सञ्चालन लगत्तै २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । समूहमा आउनेका हकमा ४० प्रतिशतसम्म छुट दिन सकिने जनाइएको छ । यो छुटका कारण यो सेवा अरुभन्दा सस्तो हुन जाने क्मपनीको दाबी छ ।

    एक दिनमा ६ सय भन्दा बढीलाई सेवा दिनसक्ने क्षमता रहेको वार्षिक १ लाख २० हजार भन्दा धेरैलाई सेवा दिने लक्ष्य लिएको छ । सिजन र समय अनुसार ग्राहक चाप घटबढ हुने भएकोले सो बराबरको लक्ष्य कम्पनीले लिएको हो ।

    Jipline-1.JPG

    सो जीपलाइनका लागि सस्तोटिकट, रोजबेरी होम्स लगायतसँग सहकार्यमा बुकिङको व्यवस्था समेत गरिएको छ । विस्तारै अन्य सेवा प्रदायकसँग सहकार्य गरेर बुकिङको दायरालाई फराकिलो बनाउने र अनलाइनबाटै भुक्तानीसहित बुकिङको व्यवस्था गर्ने तयारी गरिएको छ ।


    images

    Logo