images
images

सुडान द्वन्द्वः बीबीसी रिपोर्टरको  खार्तूमबाट भाग्ने खतरनाक मार्ग


  • 501
    SHARES
  • २०८० बैशाख २२ गते शुक्रबार

    सुडान द्वन्द्वः बीबीसी रिपोर्टरको  खार्तूमबाट भाग्ने खतरनाक मार्ग

    मैले अचानक खार्तूमको आकाशमा धुवाँको कालो मुस्लो देख्ने थालें । त्यसले मेरो मृत्यु मेरै आँखा अगाडि नै आइपुगेजस्तो लाग्यो । युद्धविरामको घोषणा गरिएतापनि सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच ओमदुरमान र खार्तूम बहरी जस्ता ठाउँहरुमा भीषण युद्ध भइरहेका छन् । आफूलाई बलियो बनाउन दुवै पक्षले गर्नसक्ने हर कोशिस गरिरहेका छन् । 

    विस्फोटको आवाज मेरो छिमेकको नजिक नजिक हुँदै आइरहेको थियो । अझ चिन्ताको कुरा, लडाकुहरुले नागरिकहरुलाई डराएका कथाहरु, सवारीसाधन चोरी र लुटपाटका घटनाहरु पनि सुनिँदै गएको थियो । 

    यी सबै कारणले मलाई खार्तूम छोडेर अन्यत्रै जाने निर्णय गर्न बाध्य बनायो । 

    यदि तपाईँ द्वन्द्व भइरहेको स्थानमा युद्धको रिपोर्टिङ गर्ने पत्रकार हुनुहुन्छ भने, संसारमा के भइरहेको छ भनेर अरुलाई सूचना दिनु तपाईँको प्रमुख दायित्व हुन्छ । 

    तर घरबाट कतै निस्किन नसकिने, कमजोर इन्टरनेट र सञ्चार सेवाहरु जस्ता चुनौतीहरु प्रत्येक पल भोग्नुपर्यो । र सबैभन्दा महत्वपूर्ण कुरा त आफ्नो साथै परिवारको सुरक्षाका लागि पनि मेरो लागि खार्तूम छोड्नु अपरिहार्य बन्यो । 

    अप्रिल २८ मा हामीले हाम्रो यात्रा सुरु गर्योँ । दिउँसोको समयमा झगडा केही शान्त हुने भएकाले हामी दिउसोको समय बनाएर निस्कियौँ । निस्किएर हामी ओम्दुरमन सहरबाट इजिप्टको सिमान तर्फ जान लागेका मानिसहरुको समूहमा मिसिएर बसमा चढ्यौं । 

    तर हाम्रो यात्रा सुरु भएको १० मिनेट पनि नहुँदै आकाशमा एउटा युद्धविमान देखा पर्यो । त्यसपछि आरएसएफ का सदस्यहरुले हाम्रो नजिकैबाट विमानलाई निशाना बनाएर गोली हाने । हाम्रो गाडी अचानक रोकियो । रोकिनेबित्तिकै सशस्त्र लडाकुहरुले गाडीलाई घेरे र हामी कहाँबाट आउँदैछौं र कता जाँदैछौं भनेर सोध्न थाले ।  

    लडाकुहरुले हामीतिर बन्दुक तेस्र्याउँदा मेरी श्रीमती र बच्चाहरु डराए । बसको निरीक्षण गरेपछि तिनीहरुले हामीलाई जान अनुमति दिए । तर एकैछिनमा लडाकुको अर्को समूहले हामीलाई हिरासतमा लियो ।  तर त्यसबाट हामी चाँडै उम्कियौं । 

    ओम्दुरमनको बाहिरी क्षेत्रहरु हुँदै यात्रा गर्दा हामीले लगभग सुनसान सडकहरु देख्यौं । आरएसएफका सवारीसाधनहरु वरिपरि छरिएका थिए । आकाशमा उडिरहेका सुडानी सैन्य विमानबाट नदेखियोस् भनेर प्रायः साधन छेउको सडकमा वा रुखहरुको मुनी पार्किङ गरिएको थियो । 

    जब हामी पश्चिमतिर लाग्यौं, अर्धसैनिक उपस्थिति क्रमशः घट्दै गयो र दैनिक जीवनका संकेतहरु फेरि देखिन सुरु भयो । सामान्य भन्दा सुस्त गतिमा नै भए पनि सार्वजनिक यातायातहरु चलिरहेका थिए । महिलाहरुले सञ्चालन गरेका लोकप्रिय पसल साथै क्याफे खुला मात्र नभई मानिसहरुले खचाखचसमेत थियो । 

    दैनिक जीवनका संकेतहरु देखा परेपनि चेकपोस्ट र सशस्त्र गिरोहका कारण खतरा पुरै टारिइसकेको थिएन । सुरक्षाकर्मीको अभावका कारण लुटपाटको घटना बढ्दै गएका छन् । सौभाग्यवश, हामीसँग ओमदुरमन छाड्नुअघि नै ती विषयमा जानकारी भएका कारण हामी ती जोखिमबाट बच्न सफल भयौं । 

    हामी खार्तूम र उत्तरी राज्यबीचको राज्य सीमामा आइपुग्दा सुडानी सुरक्षा बलहरुले सामान्यतया स्थापना गर्ने चेकपोस्टहरु देखिएनन् । बरु त्यहाँ ठूलो संख्यामा निजी यातायात सवारी थिए । ती सबै मेरमेवे, डेंगोला र वादी हाल्फा उत्तरी शहरतर्फ जाने मानिसहरुले भरिएका थिए । 

    हामी आफैंपनि वादी हाल्फा पुग्न चाहन्थ्यौं । त्यसका लागि हामीले २४ घण्टा लामो यात्रा तय गर्यौँ । सडकहरु कच्ची भएका कारण त्यो यात्रा निकै चुनौतीपूर्ण थियो । त्यसमाथि हावाले मरुभूमिको बालुवा उडेर आँखामा पर्दा वरपर हेर्न समेत नसकिने थियो । राति हामी डेंगोला सहरको एउटा क्याफेमा रोकियौं । खुल्ला आकाशमुनि चिसा रातहरु कटाउन  हामीले कम्बल नलिइ गद्दाहरु मात्र भाडामा लियौं । 

    खार्तुमको द्वन्द्वबाट भागेर वादी हाल्फा सहरको शरणमा आएका हजारौं परिवारहरु वासस्थानका लागि संघर्ष गरिरहेका अराजक दृष्य देख्यौं । सार्वजनिक स्थान र विद्यालयहरुमा महिला र बालबालिकाहरु भुइँमै सुतिरहेका थिए । 

    एउटी ५० वर्षीया महिलाले चार दिनदेखि चर्को घाम र कठ्याङ्ग्रिने रात, भोक तिर्खा केही नभनी सहनुपरेको बताइन् ।  छोराले इजिप्ट लैजान्छ भन्ने आशमा उनी छोराको भिसा पर्खिरहेकी थिइन् । 

    सिमानामा मैले सुडानका मात्र नभइ भारत, यमन, सिरिया, सेनेगल, सोमालिका मानिसहरुसँग कुरा गरें । तिनीहरुमध्ये अधिकांश ‘खार्तुम्स् इन्टरनेशनल यूनिभर्सीटि अफ अफ्रिका’ का विद्यार्थी थिए । ती मध्ये घानाका एकजना युवाले गोलाबारी र विस्फोटको बीचमा, खार्तुममा ‘निकै कठिन क्षणहरु’ बिताएपछि आफू जुनैपनि हालतमा बाहिर निस्कन चाहेको बताए । 

    अन्धकारमा पनि आशाको किरण भनेको यहाँका मानिसहरुको सद्भावना हो । वादी हाल्फाका धरै स्थानीयहरुले र सुडानी–इजिप्टियन सीमासम्म फैलिएको उत्तरी भूमीमा बस्ने मानिसहरुले द्वन्द्वबाट भागेकाहरुलाई आफ्नो घरमा बास दिएर सहयोग गरिरहेका छन् । स्थानीयवासीले विना कुनै पैसा, आएकाहरुलाई खानापानी बाँडिरहेका छन् । वादी हाल्फामा ठूलो घर भएका बडेरी हसनले आफूले धेरै आप्रवासीहरुलाई शरण दिइरहेका बताए । ‘हामी यी व्यक्तिहरुप्रति जिम्मेवारी महसुस गर्छौं । यहाँका स्थानीय सरकार डरलाग्दो अवस्थामा छ । उनीहरुसँग यात्रुलाई दिनको लागि केही छैन’ उनले थपे । 

    सीमा नाकाको अवस्था अस्तव्यस्त थियो । दर्जनौं बस र निजी सवारी साधन जाम भएर बसेका थिए । पार गर्न खोज्नेमा सर्वसाधारण भन्दा कर्मचारी धेरै थिए । र त्यहाँ एउटा मात्र शौचालय थियो । 

    धेरै मानिसहरुले सही यात्रा प्रकृयाहरु पछ्याएपनि इजिप्टको अबु सिम्बेल जाने डुङ्गा साँझ ५ बजे चल्न छोड्यो । जसका कारण बालबालिका र वृद्धवृद्धासहित सयौं परिवारले खुल्ला ठाउँमा रात बिताउनु परेको थियो ।

    कठ्याङ्ग्रँदो रात कटाएर जब बिहान भयो, हामी अन्ततः इजिप्टका लागि प्रस्थान गर्यौँ । डुङ्गामार्फत् नाइल नदी पार गर्दा मैले आनन्द र उदासीनताका विरोधाभासी भावनाहरु एकैचोटी अनुभव गरें । म आफ्ना श्रीमती र बालबच्चालाई बचाउन पाउँदा राहत पाएको थिएँ । तर आमाबुबा, आफन्त र साथीभाइलाई विना कुनै सहारा युद्धको दलदलमा छाडेर आएकोमा दोषी महसुस गरें ।

    बीबीसी


    images

    Logo