काठमाडौं । उच्च गतिमा नाफा बढाएको वित्तीय विवरण पेश गरेका बैंकहरु पुँजीमा आधारित प्रतिफल (आरओई) मा वृद्धिमा भने असफल देखिएका छन् ।
यो वर्ष सर्वाधिक नाफा कमाएका बैंकहरु नै पुँजीकोषको प्रतिफल बढाउन भने असफल देखिएका हुन् । प्रकाशित विवरण अनुसार २७ मध्ये सोह्र बैंकको आरओई १५ प्रतिशतभन्दा छ । १५ प्रतिशत भन्दा धेरै कमाई भएका ११ वटा बैंकमध्ये अधिकांश बैंकको तेस्रो त्रैमासमा आरओई घटेको छ ।
बैंकहरुको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुले आफ्नो पुँजीकोषको रकमका ४.६४ प्रतिशतदेखि २३.२६ प्रतिशतसम्म कमाएका छन् । सबैभन्दा धेरै कमाउने एनआईशी एशिया बैंक रहेको छ भने सबैभन्दा कम कमाई सेञ्चुरी बैंकको देखिएको छ ।
२७ वाणिज्य बैंकमध्ये यो वर्ष १४ बैंकको आरओई बढेको छ भने १३ वटा बैंकको घटेको छ । सानिमा बैंक, प्रभु बैंक, प्राइम कमर्शियल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बंगलादेश बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, बैंक अफ काठमाण्डू र सिभिल बैंकको आरओई बढेको छ ।
एनआईशी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, मेगा बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक र सेञ्चुरी बैंकको आरओई घटेको छ ।
नाफा बढ्दा पनि आरओई घट्दै
यो वर्ष सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । ९ महिनाको अवधिमा नबिलले ३ अर्ब ६७ करोड नाफा कमाएको देखिएको छ । यो अघिल्लो वर्षको नाफा भन्दा १६.५ प्रतिशत बढी हो । नाफा बढिरहँदा बैंकको आरओई भने १९.३२ प्रतिशतबाट घटेर १७.९५ प्रतिशतमा झरेको छ ।
दोस्रो सर्वाधिक नाफा कमाउने ग्लोबल आईएमई बैंकको आरओई भने बढेको छ । जनता बैंकसँग मर्जर गरेर चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो बैंक बनेको ग्लोबल आईएमई १३.२२ प्रतिशत १६.६६ प्रतिशत पुगेको छ ।
नाफाको आधारमा तेस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकको आरओई पनि घटेर १९.५७ प्रतिशतबाट १८.५२ प्रतिशतमा झरेको छ । सो बैंकले नाफा करिब ८ प्रतिशतले बढेको थियो ।
सबैभन्दा बढी आरओई भई ३ अर्बभन्दा बढी नाफा कमाउने एनआईशी एशिया बैंकको आरओई पनि यो वर्ष घटेको छ । सो बैंकको आरओई २३.९२ प्रतिशतबाट घटेर २३.२६ प्रतिशतमा झरेको हो ।
यी हुन् सर्वाधिक आरओई घट्ने र बढ्ने बैंक
यो वर्ष सबैभन्दा बढी घट्ने हिमालयन बैंकको आरओई १०.५८ प्रतिशत विन्दुले घटेको छ । त्यसपछि ९.२२ प्रतिशतले घटेको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७.७४ प्रतिशत, सेञ्चुरी ७.५७ प्रतिशत तथा नेपाल एसबीआई बैंकको ६.३९ प्रतिशत विन्दुले घटेको छ ।
आरओईमा सबैभन्दा बढी वृद्धि हुने सूचीमा नेपाल बंगलादेश बैंक सबैभन्दा अगाडि छ । सो बैंकको आरओई अघिल्लो वर्षको चैतमो भन्दा ५.१६ प्रतिशतले बढेको छ । त्यस्तै, प्रभु बैंकको ३.३२ प्रतिशत, ग्लोबल आईएमईको २.७४ प्रतिशत, कुमारी बैंकको २.६१ प्रतिशत सिद्धार्थ बैंकको २.३४ प्रतिशत तथा एनएमबि बैंकको २.३२ प्रतिशत विन्दुले आरओई बढेको छ ।
आरओईलाई बैंकरहरुको कार्यसम्पादन मूल्यांकन नाप्ने मुख्य औजारको रुपमा लिइन्छ । आरओई घट्दा बैंकरहरुको कार्यक्षमता घटेको र बढ्दा कार्यक्षमता बढेको रुपमा बुझिन्छ ।


