images
images

नेपालमा कम्युनिस्ट शासन छ कि ब्राह्मण शासन ?


  • 2.0K
    SHARES
  • २०८० जेठ १७ गते बुधबार

    नेपालमा कम्युनिस्ट शासन छ कि ब्राह्मण शासन ?

    नेपालको पोखरा घुम्दै गर्दा एउटा रेस्टुरेन्ट भेटियो । तालको किनारमा रहेको यस रेस्टुरेन्टको नाम काकाको चुलो हो।

    काकाको चुलोले बाहिर मेनु जस्तै होर्डिङ राखेका छन् ।

    यस होर्डिङको मेनुमा दिइएको खाना वा थालीका नामहरू निकै रोचक छन् ।

    मेनुमा पहिलो नम्बरमा पण्डित खाना, दोस्रो नम्बरमा लोकतान्त्रिक खाना, तेस्रो नम्बरमा गणतन्त्रात्मक खाना र चौथो नम्बरमा सहमतिको खाना लेखिएको छ ।

    म उभिएर यो होर्डिङ हेर्दै थिएँ जब मेरो नेपाली साथीले भने, ‘तपाईको रिपोर्ट यो मेनुमा पनि प्रतिबिम्बित छ ? मैले सोधें कसरी ? उनले भने, मेनु ध्यान दिएर पढ्नुहोस् । पण्डित माथि छ र त्यसपछि लोकतान्त्रिक अनि गणतान्त्रिक’ । 

    उनको भनाइको आशय थियो ‘राजतन्त्र गयो तर लोकतन्त्र वा गणतन्त्र पण्डित अर्थात् बाह्मणभन्दा माथि उठ्न सकेको छैन ।’ 

    नेपालको वर्तमान सरकार र व्यवस्थालाई हेर्ने हो भने हरेक क्षेत्रमा ब्राह्मणको नै वर्चस्व छ । नेपालमा ब्राह्मणलाई बाहुन भनिन्छ ।

    नेपालमा ब्राह्मणहरूको जनसङ्ख्या १२.२ प्रतिशत मात्रै हुँदा पनि यस्तो स्थिति छ । नेपालमा सबैभन्दा धेरै जनसंख्या क्षेत्रीको भएतापनि हरेक क्षेत्रमा पहाडी ब्राह्मणहरुको प्रभुत्व रहेको छ । भारतमा क्षेत्रीलाई क्षत्रिय वा राजपूत भनिन्छ । 

    नेपालमा क्षेत्री १६.६ प्रतिशत रहेका छन् । नेपालमा ब्राह्मण र क्षेत्रीलाई खस आर्य भनिन्छ । नेपालमा खस आर्यको कुल जनसंख्या २९ प्रतिशत रहेको छ ।

    नेपालको वर्तमान लोकतन्त्रलाई हेर्दा सबै उच्च पदमा ब्राह्मण छन् ।

    नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ब्राह्मण, राष्ट्रपति रामचन्द्र पौडेल ब्राह्मण, नेपाली सेना प्रमुख प्रभुराम शर्मा ब्राह्मण र नेपाली संसदका सभामुख देवराज घिमिरे पनि ब्राह्मण हुन् ।

    नेपालको सर्वोच्च अदालतमा स्थायी प्रधानन्यायाधीश छैन तर न्यायाधीश हरिकृष्ण कार्कीलाई कायममुकायम प्रधानन्यायाधीश बनाइएको छ र उनी क्षेत्री अर्थात् क्षत्रिय हुन् ।

    नेपाल प्रहरीका प्रमुख वसन्तबहादुर कुँवर क्षेत्री हुन् ।

    प्रचण्डको पूरै मन्त्रिपरिषद्लाई हेर्दा सबै महत्वपूर्ण मन्त्रालय खस आर्यसँग नै छ ।

    संसदमा ब्राह्मण–क्षेत्रीको वर्चस्व

    नेपालको प्रतिनिधिसभा अर्थात् संसदलाई हेर्ने हो भने यहाँ पनि खस आर्यको वर्चस्व छ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट १ सय ६५ सदस्य निर्वाचित हुन्छन् ।

    तीमध्ये ९५ सदस्य खस आर्य छन् । अर्थात् ५७ प्रतिशत सदस्य ब्राह्मण र क्षेत्री छन् ।

    नेपालमा चार प्रतिशत मुस्लिम छन् तर प्रत्यक्ष निर्वाचनबाट कुनै पनि सदस्य प्रतिनिधिसभामा पुगेका छैनन् ।

    कुनै पनि शेर्पा प्रत्यक्ष निर्वाचित भएर संसदमा पुगेका छैनन् र नेपालको १३ प्रतिशत दलितमध्ये एक जना मात्र प्रत्यक्ष निर्वाचित भएर प्रतिनिधिसभामा पुगेका छन् । 

    नेपालमा कुल जनसंख्याको ३५ प्रतिशत जनजातिहरु रहेका छन् । तर प्रतिनिधिसभामा भने २५ प्रतिशत (४१ जना) मात्रै जनजाति समुदायबाट चुनिएर गएका छन् । 

    नेपालमा जम्मा सात प्रदेश छन् । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम । यी सातमध्ये चार राज्यका मुख्यमन्त्रीहरू ब्राह्मण छन् । 

    वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सबै ब्राह्मण हुन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भने क्षेत्री हुन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी थारु छन् ।

    कोशी, कर्णाली र वाग्मतीमा कम्युनिस्ट सरकार छ र सबै मुख्यमन्त्री खस आर्य हुन् ।

    २३९ वर्ष पुरानो राजतन्त्रको अन्त्य भएपछि सन् २००८ मा नेपालमा लोकतन्त्र आयो । लोकतन्त्र आएपछिका १५ वर्षमा नौ प्रधानमन्त्री भए । तीमध्ये आठ ब्राह्मण र एक क्षेत्री थिए ।

    यो १५ वर्षमा प्रधानमन्त्री बनेका नौ जना हुन्– गिरिजाप्रसाद कोइराला, प्रचण्ड (तेस्रो पटक प्रधानमन्त्री बने) , माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली र शेरबहादुर देउवा ।

    तीमध्ये शेरबहादुर देउवा क्षेत्री हुन् र अरु आठ जना ब्राह्मण । नेपालमा लोकतन्त्र आउनुअघि पञ्चायती व्यवस्थामा पनि सबै प्रधानमन्त्री ब्राह्मण बनाइएका थिए ।

    नेपालको मधेस क्षेत्रमा पनि ब्राह्मण छन् तर उनीहरुको हैसियत पहाडी ब्राह्मणको जस्तो छैन ।

    नेपाली कांग्रेसका नेता कञ्चन झा भन्छन्, ‘मधेस क्षेत्रमा पनि ब्राह्मण र राजपूत छन्, तर सरकार र शासनमा पहाडी ब्राह्मण र क्षत्रियको मात्र प्रभुत्व छ । पहाडका ब्राह्मणहरूले मधेसका यादव र दलितहरूलाई जसरी हेर्छन्, त्यसरी नै यहाँका ब्राह्मणहरूलाई पनि हेर्छन् । पहाडका ब्राह्मण र मधेसका ब्राह्मणबीच परम्परागत रूपमा रोटी र छोरीको सम्बन्ध हुँदैन । विवाह भए पनि यसलाई अन्तरजातीय विवाहको रुपमा हेरिन्छ’ ।

    कञ्चन झा भन्छन्, ‘नेपालमा राजतन्त्र हुँदा ७१ प्रतिशत जनतामाथि २९ प्रतिशत खसआर्यको प्रभुत्व थियो, अहिले प्रजातन्त्र आउँदा पनि त्यही नै कायम छ’ । ‘अब त मधेसी, आदिवासी र दलितमाथिको विभेदलाई संवैधानिक नै बनाइएको छ । नेपाली भाषा खसआर्यको मातृभाषा हो । तर त्यो राजतन्त्र हँुदा पनि अरुमाथि जबर्जस्ती थोपरियो र अहिले पनि’ उनले भने । 

    हिमाली जनजातिको आफ्नै भाषा छ, मधेसीको आफ्नै भाषा छ, तर सरकारी भाषा नेपाली बनाइयो । ३० प्रतिशत जनताको भाषा ७० प्रतिशतमा थोपरियो । यस्तो अवस्थामा सरकारी विभागमा नेपाली बाहेक अन्य मातृभाषा भएकाहरु खस आर्यहरूभन्दा पछि परे ।’

    नेपालमा राजतन्त्रको अन्त्य भएदेखि नै कम्युनिस्ट सरकार छ । नेपाली काङ्ग्रेसको पनि सरकार त बन्यो तर कम्युनिष्टको समर्थनमा । नेपाल कम्युनिष्ट पार्टीको कमाण्डमा रहेका सबै ब्राह्मण छन् । चाहे त्यो प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) होस् वा केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ।

    नेपाली कांग्रेसको कमाण्ड पनि ब्राह्मणहरुको साथमा रहेको थियो । जुन अहिले शेर बहादुर देउवासँग छ । जो क्षेत्री हुन् । 

    नेपालमा कम्युनिस्ट शासन कि ब्राह्मण शासन ?

    नेपालका धेरै विश्लेषकहरू कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसमा खस आर्यको प्रभुत्व अन्त्य नभएसम्म नेपालको सत्ता समावेशी हुन नसक्ने विश्वास गर्छन् ।

    नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई, नेपालमा कम्युनिष्ट शासन छ कि ब्राह्मण शासन ? के नेपालका कम्युनिष्ट पार्टीहरु ब्राह्मणहरुको पार्टी हो ? भनेर सोध्दा उनी भन्छन्, ‘ब्राह्मण परिवारमा जन्मनु मेरो गल्ती होइन । 

    मैले त जात नै छाडेको छु । विवाह पनि आफ्नो जाति बाहिर गरेको हुँ । एउटा कुरा के चाहिँ बुझ्नुपर्छ भने उच्च जातमा जन्मेकाहरूलाई शिक्षाको बढी अवसर हुन्छ । र अध्ययन पछि, तिनीहरूले वैज्ञानिक दृष्टिकोण प्राप्त गर्छन् ’। उनले जुनै पनि क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्नेले त्यसै गर्ने बताए ।

    ‘विश्वको कम्युनिष्ट वा राष्ट्रवादी आन्दोलनलाई हेर्यो भने मार्क्सदेखि गान्धी र नेहरू सम्मका सबै नेताहरू उच्च जात वा उच्च वर्गका थिए ।  हामीले संविधानमा सीमान्तकृत जातिका लागि धेरै व्यवस्था गरेका छौं । नेपालका ब्राह्मणहरूमा प्रगतिशील सोच छ। नेपालको राजनीति समावेशी हुनुपर्छ भन्ने कुरा सत्य हो, तर केही समय त लाग्नेछ नै ।’

    भट्टराई भन्छन्, ‘नेपालका राजनीतिक दल व्यक्तिकेन्द्रित भएका छन् । खासगरी यहाँका कम्युनिष्ट पार्टीहरू एकै व्यक्तिले चलाउँछन् । त्यसैले पनि निर्णयहरू समावेशी छैनन् । प्रचण्डले विगत ३० वर्षदेखि आफ्नो पार्टीको नेतृत्व गर्दै आएका छन् । ओली र देउवाको पनि हालत उस्तै छ । कम्युनिष्ट पार्टीहरू पुरानो चलनभन्दा बाहिर जान सकेका छैनन् ।’

    भारतीय कम्युनिष्टहरु भर्सेस नेपाल कम्युनिष्टहरु

    ‘नेपालका कम्युनिष्ट पार्टीहरू धेरै नै केन्द्रीकृत छन् । ब्राह्मणहरूमा पनि धनी र पुरुषहरूको शक्ति छ । यहाँ पनि गरिब र महिला बेपत्ता छन् । पुरानो कम्युनिष्ट सोच संसारभरि विघटन हुँदैछ । त्यसैले भारतमा पनि कम्युनिस्ट पार्टीहरू सीमान्तकृत छन् । यसमा कास्ट पनि महत्वपूर्ण विषय हो । मेरो विचारमा नेपाल कम्युनिष्ट पार्टी भारतीय कम्युनिष्ट पार्टीहरु भन्दा धेरै प्रगतिशील छ ।’

    विजयकान्त कर्ण डेनमार्कका लागि नेपाली राजदूत हुन् । उनले काठमाडौंमा ‘सेन्टर फर सोसल इन्क्लुजिज्म एण्ड फेडेरेलिज्म’ (सीईआईएसएफ) नामक थिंक ट्याङ्क चलाउँछन्।

    बाबुराम भट्टराईसँग कर्ण सहमत छैनन् ।

    उनी भन्छन्, ‘नेपालका ब्राह्मण वा उनीहरूले नेतृत्व गरेका कम्युनिष्ट पार्टीहरू भारतका भन्दा धेरै प्रगतिशील छन् भन्ने कुरामा म पटक्कै सहमत छैन । भारतीय कम्युनिष्ट पार्टीहरूले दलित, मुस्लिम, पिछडिएका जाति र धर्मनिरपेक्षताको कुरा गर्दै आएका छन् तर नेपालको कम्युनिष्ट पार्टीहरूमा त्यस्तो छैन । नेपालका कम्युनिष्ट पार्टीहरूको कमान्ड धनी ब्राह्मणहरूको हातमा छ र तिनीहरूको लक्ष्य कुनै पनि हालतमा सत्तामा रहनु हो ।

    विजयकान्त कर्ण भन्छन्, ‘१९९० को दशकमा नेपालमा माओवादी जनयुद्ध चलिरहेको बेला यिनै नेताहरूले दलित, मधेसी, महिला र धर्मनिरपेक्षताको कुरा गरिरहेका थिए, तर सत्तामा आएपछि सबैले यी विषयलाई पन्छाए । प्रचण्डको पार्टीको मधेसी वा आदिवासी किन प्रधानमन्त्री बन्न सक्दैन ? प्रचण्ड वा बाबुराम भट्टराईलाई त्यसो गर्न कसले रोकेको छ ?’

    महत्वपूर्ण मन्त्रालय खस आर्यको पोल्टामा 

    प्रचण्डको मन्त्रिपरिषद्मा अहिले महेन्द्र राय नामका मधेसी मन्त्री छन् र उनले पनि महत्त्वपूर्ण मन्त्रालय पाएका छैनन् । मधेसी आन्दोलनलाई नेपाल कम्युनिष्ट पार्टीले समर्थन गरेको छैन । किन यस्तो भयो ? के भारतका कम्युनिस्ट पार्टीहरूले गरिबको अधिकारको आन्दोलनको विरोध गर्छन् ? मैले यस्तो कुरा कहिल्यै देखेको छैन। 

    भारतका कम्युनिस्ट पार्टीहरूको कमाण्ड पनि ब्राह्मणहरूको साथमा थियो तर तिनीहरू सधैं दलित, अल्पसंख्यक, महिला र धर्मनिरपेक्षताको पक्षमा उभिए । नेपालका कम्युनिष्ट पार्टीहरूमा त्यस्तो छैन ।

    नेपालको जातीय व्यवस्थाबारे बाबुराम भट्टराई भन्छन्, ➕‘नेपाल ऐतिहासिक, साँस्कृतिक र सामाजिक रूपमा बिल्कुलै फरक देश हो । मैले भारतको दिल्लीको चण्डीगढ र जवाहरलाल नेहरू विश्वविद्यालयमा १३ वर्ष पढेको छु र मलाई थाहा छ कि भारतका मानिसहरू नेपाललाई बृहत्तर भारतको हिस्सा मान्छन्। नेपालको जनसङ्ख्यालाई भौगोलिक स्थितिबाट हेर्दा दक्षिण एसिया र पूर्वी एसियामा आधा भागमा बाँडिएको छ । तर दिल्लीवासीले नेपाल भारतको मात्रै हो भन्ने ठान्छन् ।

    ‘नेपाल बहुसांस्कृतिक र बहुधार्मिक देश हो । यहाँ हिन्दुहरू मात्र बस्दैनन्। पछि खस आर्यहरूले हिन्दू धर्म लागू गरे । नेपालमा ब्राह्मण र क्षेत्री भनिने यी खस आर्यहरू भारतबाट भागेका थिए। उनले नेपालमा जातीय व्यवस्थालाई मात्र बलियो बनाए । म हिन्दू ब्राह्मण परिवारमा जन्मेको हुँ र मेरो बुबा अझै पनि एक भक्त हिन्दू हुनुहुन्छ तर म नास्तिक हुँ । म भन्न चाहन्छु कि नेपाल बिल्कुलै फरक छ। नेपालको समाज भारतको जस्तो छैन । नेपालको आफ्नै इतिहास छ । यहाँका ब्राह्मणहरूले भारतका ब्राह्मणहरूजस्तै छुवाछुत गर्दैनन् ।’

    वैचारिक झोल

    आहुती नेपालका प्रख्यात कवि र दलित विचारक हुन् । उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका प्रमुख हुन् । आहुतीले नेपालमा ब्राह्मणहरूको वर्चस्वको पछाडि वैचारिक जडतालाई महत्त्वपूर्ण कारक तत्व मान्छन्।

    आहुती भन्छन्, ‘जहाँ पुँजीवादको उदय भयो, त्यहाँ जातीय व्यवस्था थिएन । पुँजीवाद नर्वेबाट सुरु भएको मानिन्छ । पुँजीवादको आडमा भएका सबै परिवर्तनहरूमा जातीय व्यवस्थाको बारेमा कुनै सोच वा चिन्ता छैन । भारतमा पनि पुँजीवाद पुनर्जागरणको रूपमा आएको होइन, उपनिवेशवादको रूपमा आएको हो । उपनिवेशवाद लाई जातियताविरुद्ध कुनै युद्ध लड्नु थिएन । उनीहरुलाई त भारतलाई दबाउन र लुट्नु सँग मात्र मतलब थियो ।
    भरतमा उपनिवेशवादको रूपमा आएको पुँजीवादी विचारधाराले आफ्नो स्वार्थ पूरा गर्न जातीय व्यवस्था प्रयोग गरे । अंग्रेजहरूले जातिलाई प्रणालीबाट बहिष्कृत गरेनन् बरु त्यसैका हिस्सा बनाए । पुँजीवादले जातीय व्यवस्थालाई रोक्न खोजेन बरु पुँजी निर्माण गर्नका लागि हरेक नराम्रा व्यवस्थाको प्रयोग गर्यो । पुँजीवादका लागि जाति व्यवस्था चुनौती थिएन । तर मार्क्सवादका लागि जातीय व्यवस्था सबैभन्दा ठूलो चुनौती हो । यदि माक्र्सवाद लागू गर्ने हो भने जातजातिलाई जीवित राखेर गर्न सकिँदैन ।

    पुँजीवाद भर्सेस मार्क्सवाद

    आहुती भन्छन्, ‘नेपालमा पनि त्यस्तै पुँजीवाद आयो । नेपालमा दलाल पुँजीवाद आयो । यहाँ हाम्रो आफ्नै पुँजीपति छैनन्। भारतबाट पुँजीवाद बहुराष्ट्रिय कम्पनीको दलालीको रुपमा नेपालमा भित्रियो । जसरी भारतमा औद्योगिक र प्रगतिशील पुँजीवाद थिएन, त्यसरी नै नेपालमा दलालीको रुपमा पुँजीवाद आयो । यो पुँजीवादमा जातिसँग लड्ने कुनै दर्शन थिएन । यस विषयमा अम्बेडकरको बुझाइमा पनि मलाई शंका छ । अम्बेडकरले सोचेका थिए कि धर्म परिवर्तन गरेर जातीय भेदभाव समाप्त हुन्छ, यो पूर्णतया गलत बुझाइ थियो । अम्बेडकरको राजनीतिक लाइन पूर्ण रुपमा असफल थियो’ ।

    आहुती भन्छन्, ‘जसरी पुँजीवादको उदय भएको ठाउँमा जातीय व्यवस्था थिएन, त्यसरी नै माक्र्सवादको उदय भएको ठाउँमा जातीय व्यवस्था थिएन । मार्क्सले पनि जाति व्यवस्थाबारे केही भनेका छैनन् । सोभियत संघमा मार्क्सवादी विचारधाराको आधारमा क्रान्ति भयो तर त्यहाँ जातपात थिएन । यही विचारधाराबाट चीनमा क्रान्ति भयो, त्यहाँ पनि जात व्यवस्था थिएन ।

    ‘रोमानियादेखि चेकोस्लोभाकियासम्म क्रान्ति भयो तर त्यहाँ कुनै जात थिएन । माक्र्सवाद नेपालमा आयो तर जातीय व्यवस्था उन्मूलन गर्ने औषधि त्यससँग पनि थिएन । त्यसले वर्गमा जोड दियो तर जातीय व्यवस्थामाथि केही गरेन । उनीहरुलाई थाहा थियो कि वर्ग जातसँग सम्बन्धित छ, तर पनि उनीहरुले बेवास्ता गरिरहे ।

    वैचारिक प्रतिबद्धता

    ब्राह्मणले नेतृत्व पाएकोमा आफूलाई कुनै समस्या नभएको तर प्रगतिशील विचारधारा भएका ब्राह्मणको अभाव रहेको आहुती बताउँछन् ।

    नेपालका पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादव अहिले सांसद हुन् । नेपालमा राजतन्त्र र लोकतन्त्रको आगमनले नेपालको शासन व्यवस्थामा कस्तो असर पारेको छ भनी सोध्दा यादव भन्छन्, ‘राजतन्त्रमा क्षत्रिय सत्तामा थिए र प्रजातन्त्र आएपछि ब्राह्मण  सत्तामा पुगेका छन् । यी दुईको बीचमा शक्ति आउने जाने भइरह्यो । नेपालको सरकार, सेना, प्रहरी, प्रशासन र सम्पूर्ण शिक्षा प्रणालीमा नै पनि ब्राह्मणहरूको वर्चस्व छ ।

    उपेन्द्र यादव भन्छन्, ‘नेपालमा पहिलोपटक सेना प्रमुख ब्राह्मण बनेका छन् । राजतन्त्रमा सबै सेना प्रमुख क्षेत्री हुन्थे । नेपालको कोही सेना प्रमुख यादव, महतो वा जनजातिबाट बन्ने कल्पना पनि गर्न गाह्रो छ । चार ब्राह्मण र एक क्षेत्री मिलेर संविधान बनाए । संविधान समावेशी हुनुपर्ने थियो तर उनीहरुले बन्न दिएनन् । राजतन्त्रको अन्त्य गरेको श्रेय जो माओवादीलाई दिइन्छ, त्यसमा हतियार उठाउने को थियो ? ब्राह्मण थिएनन् भनेर त स्पष्ट छ । थारु, मगर, शेर्पा, यादव र महतोले बन्दुक उठाएका थिए । यस जनयुद्धमा मारिएका अधिकांश मानिसहरू पनि यही जातका थिए । तर नेतृत्व त्यतिबेला पनि ब्राह्मणहरूसँग थियो र आज पनि छ ।’

    विजयकान्त कर्णले विदेशमा रहेका नेपाली राजदूतमध्ये ९० प्रतिशत ब्राह्मण रहेको बताए ।

    कर्ण भन्छन्, ‘नेपालमा जातीय वर्चस्वको जरा धेरै गहिरो छ र राजतन्त्र अन्त्य गर्न आफ्नो ज्यान अर्पण गर्नेहरू आजको मितिमा ठगिएको महसुस गर्छन् ।

    निभा शाह नेपालकी चर्चित कवि हुन् । सायद यो निराशालाई उनले आफ्नो कविता ‘मनसरा’ मा निकै सुन्दर ढंगले व्यक्त गरेका छन् ।

    ‘मनसरा’

    पसिना बगेर मात्र
    दुनियाँ बदलिने भए
    भरियाको दुनियाँ
    उहिल्यै बदलिसक्थ्यो मनसरा

    रगत बगेर मात्र
    दुनियाँ बदलिने भए
    जनताको दुनियाँ
    उहिल्यै बदलिसक्थ्यो मनसरा

    जबकि रगत–पसिनाले नै त
    बदलिने हो दुनियाँ
    तर किन बदलिएन मनसरा ?
    कहिल्यै आगो भर्भराएको सुन्यौ मनसरा ?

    आफूले चिरेका दाउरा
    अरुले बालेपछि
    आगो आफ्नो हुँदैन मनसरा
    आगो आफ्नो नहुनेको
    उज्यालो आफ्नो हुँदैन मनसरा
    उज्यालो आफ्नो नहुनेको
    दुनियाँ बदलिँदैन मनसरा
    आगोको आवाज सुन्यौ मनसरा ?
    आगो बोलिरहेछ मनसरा–

    आफूले खोरिया खनेको खेत
    अरुकै नाममा दर्ता भएपछि
    माटो आफ्नो हुँदैन मनसरा
    माटो आफ्नो नहुनेको
    पेटभरि अन्न हुँदैन मनसरा
    पेटभरि अन्न नहुनेको
    दुनियाँ बदलिँदैन मनसरा
    आगो भर्भराएको सुन्यौ मनसरा ?
    आगो बोलिरहेछ मनसरा–

    आफूले बोकेको बन्दुक
    अरुले नै कासन गरेपछि
    सत्ता आफ्नो हुँदैन मनसरा
    सत्ता आफ्नो नहुनेको
    दुनियाँ बदलिँदैन मनसरा
    आगो बोलिरहेछ मनसरा
    आगो भर्भराएको सुन्यौ मनसरा ?

     

    बीबीसी हिन्दी


    images

    Logo