images
images

भारतले सार्वजनिक गरेको ‘अखण्ड भारत’ नक्साका कारण किन असन्तुष्ट छन् छिमेकी राष्ट्रहरु ?


  • 814
    SHARES
  • २०८० जेठ २५ गते बिहीबार

    भारतले सार्वजनिक गरेको ‘अखण्ड भारत’ नक्साका कारण किन असन्तुष्ट छन् छिमेकी राष्ट्रहरु ?

    हालसालै भारतले भव्यतापूर्वक उद्घाटन गरेको संसद भवनमा राखिएको नक्साका कारण दक्षिण एशियाली छिमेकीहरु : नेपाल, पाकिस्तान र बंगलादेश रिसाएका छन् । 

    गत महिना भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद भवनमा देखिएको अखण्ड भारतको नक्साका बारेमा बंगलादेशको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण मागेको छ । 

    उक्त नक्सामा नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलङ्का र म्यानमारका केही अंश वा पूरै भूभाग नै पनि समावेश भएको छ । 

    भारतको राजधानीमा रहेको बंगलादेशी दूतावासलाई नक्साको विषयमा भारतसँग आधिकारिक स्पष्टीकरण लिन निर्देशन दिइएको बंगलादेशका परराष्ट्र राज्यमन्त्री शाहरियर आलमले बताए ।  

    ‘नक्सालाई लिएर विभिन्न क्षेत्रबाट आक्रोश व्यक्त भइरहेको छ । सबै स्पष्ट नै छ, नक्साको बारेमा विवाद गर्नुपर्ने कुनै कारण नै छैन । उनीहरुको त्यसबारेमा व्याख्या जान्नका लागि हामीले दिल्लीस्थित हाम्रो नियोगलाई भारतीय विदेश मन्त्रालयसँग कुरा गर्न भनेका छौं’ आलमले भने । 

    भारतका विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले भने उक्त नक्साले प्राचीन मौर्य साम्राज्यले विस्तार गरेको भूमि र ‘सम्राट अशोकले अपनाएको र प्रचारित जिम्मेवार र जनमुखी शासनको विचार’ लाई चित्रण गरिएको बताए । 

    यद्यपि, मे २८ मा नयाँ संसद भवनको उद्घाटनको क्रममा भारतका संसदीय मामिला तथा कोइला तथा खानीमन्त्री प्रल्हाद जोशीले उक्त नक्सालाई दशकौं पुरानो, दक्षिणपन्थी काल्पनिक अखण्ड भारतको नक्साको रूपमा वर्णन गरेका थिए ।जसले उपमहाद्वीपमा जातीय हिन्दू राष्ट्रको कल्पना गर्दछ ।

    जोशीले ‘संकल्प स्पष्ट छ – अखण्ड भारत’ भन्दै ट्वीटसमेत गरेका थिए । ‘अखण्ड भारत’ सम्बन्धी उनले दिएका विचारहरुले छिमेकी मुलुकमा राम्रो सूचना प्रवाह गरेन । 

    नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले, ‘आफूलाई पुरानो र शक्तिशाली मान्ने र प्रजातन्त्रको नमुना देख्ने भारतजस्तो मुलुकले नेपालको भूभाग आफ्नो नक्सामा राखेर संसदमा झुण्ड्याउने हो भने त्यसलाई न्यायोचित भन्न मिल्दैन’ भन्ने धारणा व्यक्त गरे । 

    हालसालै भारत भ्रमणबाट फर्किएका नेपाली प्रधानमन्त्री पुष्पकमल दाहाललाई ओलीले, ‘भारत सरकारलाई उक्त नक्सामा भएको गल्ती सच्याउन’ आग्रह गरेका थिए । ‘त्यसो गर्न नसके भारत जानुको कुनै अर्थ छैन’ उनले भनेका थिए । 

    तर दाहालले आफ्ना समकक्षी नरेन्द्र मोदी र अन्य अधिकारीसँगको भेटमा नक्सासम्बन्धी कुनैपनि कुरा नउठाएका भारतीय सञ्चारमाध्यमहरु बताउँछन् । 

    भारतले सार्वजनिक गरेको नक्साले नेपाली भूमिमा पर्ने भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी, र कपिलवस्तुलाई भारतको हो भन्ने रुपमा चित्रण गर्छ । 

    गत साता पाकिस्तानले पनि भारतको ‘अखण्ड भारत’ सम्बन्धी विचारमा गम्भीर चिन्ता व्यक्त गरेको थियो । 

    इस्लामाबादमा एक साप्ताहिक समाचार ब्रीफिङको क्रममा पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले, ‘ भारतले नक्सामार्फत् दावी गरेको क्षेत्र विस्तारवादी मानसिकताको अभिव्यक्ति हो । जसले भारतका छिमेकीहरूको विचारधारा र संस्कृतिलाई मात्र नभई धार्मिक अल्पसंख्यकहरूलाई पनि वशमा पार्न खोज्छ’ भन्ने बताए । 

    हालसम्म यस विषयमा श्रीलंका, अफगानिस्तान र म्यानमारबाट भने कुनै आधिकारिक बयान आएको छैन ।

     

    अलजजीरा


    images

    Logo