images
images

अर्थमन्त्री नियुक्तिमा लोकतन्त्रपछिकै नाैलो अभ्यास : प्रधानमन्त्री र अर्थमन्त्री फरक पार्टीबाट


  • 2.1K
    SHARES
  • २०७८ आषाढ २९ गते मंगलबार

    अर्थमन्त्री नियुक्तिमा लोकतन्त्रपछिकै नाैलो अभ्यास :  प्रधानमन्त्री र अर्थमन्त्री फरक पार्टीबाट

    काठमाडौं । २०६२/६३ को जनआन्दोलनको बलमा आएको लोकतान्त्रिक व्यवस्थापछि पहिलोपटक प्रधानमन्त्री र अर्थमन्त्री फरक फरक पार्टीबाट बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा विस्तार गरेको सानो आकारको मन्त्रिमण्डलमा नेकपा माओवादी केन्द्रका नेता एवं सांसद जनार्दन शर्मालाई यो जिम्मेवारी दिएका हुन् । 

    सरकारको वित्तीय व्यवस्थापन हेर्ने अर्थ मन्त्रालय सामान्यतया सरकारको नेतृत्वकर्ता दलले लिने चलनलाई देउवाले तोडेका हुन् । लोकतन्त्र स्थापनापछि ११ जना अर्थमन्त्री बने पनि यो अवस्था थिएन । 

    लोकतन्त्र स्थापनापछि पहिलोपटक निर्वाचित सरकारको रुपमा पुष्पकमल दाहाल नेतृत्वको सरकार बन्यो । यो सरकारमा बाबुराम भट्टराई अर्थमन्त्री थिए । यी दुवैजना तात्कालिन नेकपा माओवादीमा नेता हुन् । 

    त्यसपछि बनेको माधव कुमार नेपाल नेतृत्वको सरकारमा सुरेन्द्र पाण्डे अर्थमन्त्री भए । दुवैजना एमालेबाट प्रतिनिधित्व गरेका नेता हुन् । झलनाथ खनाल प्रधानमन्त्री बन्दा हाल स्वर्गीय भइसकेका भरतमोहन अधिकारी अर्थमन्त्री बनेका थिए । 

    झलनाथ खनालपछि बाबुराम भट्टराई प्रधानमन्त्री बने । उनको समयमा वर्षमान पुन अर्थमन्त्री बनेका थिए । यी दुवैजना माओवादीमा नेता थिए ।

    दोस्रो संविधानसभाको निर्वाचन हुनुअघि बनेको प्रधानन्यायाधीश नेतृत्वको निर्दलीय सरकारमा खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष हुँदा पूर्वसचिव शंकर कोइराला अर्थमन्त्री थिए । उनीहरु कुनै पनि दलमा आवद्ध नभएकोले यहाँ गणना गरिएको छैन । 

    दोस्रो संविधानसभा निर्वाचन भएपछि तात्कालिन काँग्रेस सभापति स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा सरकार बन्यो । सो सरकारमा काँग्रेसकै नेता रामशरण महत अर्थमन्त्री बने । 

    संविधान जारी भएपछि एमालेका नेता केपी शर्मा ओली प्रधानमन्त्री भए । सो समयमा निवर्तमान अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्री बनेका थिए । ओलीले राजीनामा दिएपछि पुष्पकमल दाहालको नेतृत्वमा अर्को सरकार बन्यो । त्यो सरकारमा कृष्णबहादुर महरा अर्थमन्त्री भएका थिए । दुवैले तात्कालीन एकीकृत नेकपा माओवादीबाटै प्रतिनिधित्व गर्थे । 

    प्रचण्डले सहमति अनुसार शेरबहादुर देउवालाई चुनावी सरकार सुम्पिएपछि ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री बने । उनीहरु दुवै काँग्रेसबाट थिए । 

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ४० महिने कार्यकालमा युवराज खतिवडा र विष्णु पौडेललाई अर्थमन्त्री बनाए । तर, यी दुवै जना नेकपा एमालेबाटै प्रतिनिधित्व गर्थे । अहिले भने देउवाले लामो परम्परा तोडेका छन् । 

    अहिले अर्थमन्त्रीको सट्टा गृहमन्त्रीलाई आफ्नो पार्टीको भागमा पारेका छन् । जबकी अधिकांश समय गृहमन्त्री सत्ता साझेदार दललाई दिने चलन थियो । कार्यविभाजन अनुसार नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कार्यभर समेत सम्हालिसकेका छन् । 


    images

    Logo