images
images

कर्णाली राजमार्गमा थपिए १२ पक्की पुल


  • 590
    SHARES
  • २०७८ श्रावण १० गते आइतबार

    कर्णाली राजमार्गमा थपिए १२ पक्की पुल

    कर्णाली राजमार्गमा मात्र पछिल्ला चार वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७३/७४ देखि सुरु भई गत आर्थिक वर्ष २०७७/७८ को अवधिमा यो राजमार्गमा सो सङ्ख्यामा पुलको निर्माण सम्पन्न भएको हो ।

    सडक विभागका महानिर्देशक अजुनजङ्ग थापाले कर्णाली राजमार्गको विस्तार र स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत १२ वटा नयाँ पक्की पुलको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालीकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्ने मार्गलाई कर्णाली राजमार्ग भनिन्छ ।

    महानिर्देशक थापाका अनुसार सो राजमार्गको माटे खोला, तीला खोला, कुवा खोला, लुम्चडी खोला, गुहेगाड खोला, काले खोला, पाल्तडा खोला, कानेगाड खोला, दही खोला, छिडेना खोला, सिँजा खोला र पातले खोलामा पुल निर्माण सम्पन्न भएका छन् । ती पुलहरूको निर्माणका लागि आर्थिक वर्ष २०७३र७४ मा विभिन्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

    करिब ४३ करोड रुपियाँको लागतमा निर्माण सम्पन्न भएका ती पुल दुई लेनका छन् ।तीला खोलाबाहेकका पुलको निर्माण २०७४ को जेठदेखि निर्माण सुरु भई गत आर्थिक वर्षको माघभित्रमा नै सम्पन्न भएका हुन् ।

    तीला खोलाको पुल निर्माणका लागि २०७५ मा सम्झौता भई यस वर्षको जेठमा सम्पन्न भएको थियो । एक दशकअघि २०६३ साल चैत महिनाको ३० गतेदेखि सञ्चालनमा आएको कर्णाली राजमार्गको कुल लम्बाइ २३२ किलोमिटर रहेको छ ।

    विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त राजमार्गको सुर्खेत–जुम्ला राजमार्ग नामकरण गरिएको थियो । अहिले मुलुकभरि एक हजार पाँच सय नयाँ पुल निर्माणाधीन अवस्थामा रहेका छन् । गोरखापत्र दैनिकबाट


    images

    Logo