काठमाडौँ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं ६ र ९ मा रहेको गैरीचौरमा औद्योगिक ग्रामको निर्माणकार्य शुरु गरिएको छ । वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा त्यहाँ रहेको करिब ७ सय ७१ रोपनी खाली सार्वजनिक जग्गालाई औद्योगिक ग्राम निर्माणका लागि नगरपालिकाले आवश्यक जग्गा व्यवस्थापनको कार्य गरेपछि खाली डाँडामा औद्योगिक ग्राम निर्माणको काम भइरहेको हो ।
सो क्षेत्रमा पहिलो चरणमा ७० रोपनी जग्गा सम्याएर आवश्यक तारबार र एक तलाको दुईकोठे सुरक्षा गार्ड बस्ने घर निर्माण गरिसकिएको छ । जिल्ला घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलका प्रमुख केशवप्रसाद पुडासैनीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकारको ७७ लाख रुपैयाँ आर्थिक सहयोगमा शुरु गरिएको आयोजना अब आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न बहुवर्षीय योजनाका रूपमा प्रक्रिया अगाडि बढेको छ । पहिलो चरणको निर्माणको जिम्मा राज कन्स्ट्रक्शनले जिम्मा पाएको थियो ।
सो कार्यलाई निरन्तरता दिन यस वर्ष पनि ५० लाख रुपैयाँ बजेट परेको र अब बाँकी कामलाई निरन्तर अगाडि बढाउने तयारी रहेको उनले बताए । “पहिलोपटकको बजेटबाट ७० रोपनी जग्गा सम्याउने र सुरक्षा गार्ड घर निर्माण गरिसकेका छौँ”, उनले भने, “अब बाँकी जग्गा विस्तारै सम्याउने र औद्योगिक क्षेत्रका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्दै जाने योजना छ ।”


