काठमाडौं । बंगलादेश सार्ककै सबैभन्दा धेरै लैङ्गिक समानता भएको मुलुक बनेको छ । वल्र्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको ‘द ग्लोबल जेण्डर ग्याप रिपोर्ट २०२३’ अनुसार बंगलादेश सार्कको सबैभन्दा धेरै र विश्वको ५८ औं स्थानमा परेको हो ।
बिहीबार सार्वजनिक गरिएको उक्त रिपोर्टमा विश्वका १४६ देश समेटिएका छन् । त्यसमध्ये सन् २०२३ मा आइसल्याण्ड लैङ्गिक समानताको हिसाबले सबैभन्दा समृद्ध मुलुक मानिएको छ । सो देशले ९१.२ प्रतिशत अंक हासिल गर्दै पहिलो नम्बरमा परेको हो ।
सबैभन्दा खराब अवस्था भने दक्षिण एशियाली मुलुक अफगानिस्तानको रहेको छ । तालिवान शासित उक्त देशले ४०.५ अंक प्राप्त गर्दै १४६ औं स्थानमा परेको हो । यो देश ५० भन्दा कम अंक पाउने एकमात्रै मुलुक समेत हो । यो वर्ष ६० प्रतिशत भन्दा कम अंक पाउने मुलुकहरुमा चाड, अल्जेरिया, इरान र पाकिस्तान रहेका छन् ।
दक्षिण एशियाली देशहरुमध्ये यसपटक बंगलादेश सबैभन्दा माथि रहेको छ । सो देशले ७२.२ प्रतिशत अंक प्राप्त गर्दै ५९ औं स्थानमा कायम रहेको हो । बंगलादेशले यो वर्ष ०.८ प्रतिशत अंक सुधार गर्दै १२ स्थान माथि उक्लिएको हो ।
त्यस्तै, दोस्रो नम्बरमा भुटान ६८.२ अंक सहित १०३ औं नम्बरमा रहेको छ । भुटानले ४.५ प्रतिशत अंक सुधार गर्दा २३ स्थान माथि उक्लिएको हो ।
श्रीलंका सार्कको तेस्रो स्थानमा रहेको छ । सो देशले ६६.३ अंकसहित ११५ औं स्थानमा रहेको हो । अघिल्लो वर्षभन्दा ०.७ अंक ह्रास हुँदा श्रीलंकाले ३ स्थान गुमाएको छ ।
सार्कको चौथो स्थानमा रहेको नेपाल ६५.९ अंकसहित ११६ औं स्थानमा छ । नेपालको अंक यो वर्ष ३.३ प्रतिशत घट्दा २० स्थान तल झरेको हो । अघिल्लो वर्ष नेपाल सार्कमध्ये बंगलादेशपछिको स्थानमा थियो ।
पाचौं नम्बरमा माल्दिभ्स छ । सो देश ६४.९ अंकसहित १२४ औं स्थानमा रहेको हो । ०.१ प्रतिशत अंक सुधार गर्दा पनि माल्दिभ्सले ७ स्थान गुमाएको हो ।
छैंर्टाैं नम्बरमा भारत छ । भारत ६४.३ अंकसहित १२७ औं स्थानमा रहेको हो । भारतले यो वर्ष लैङ्गिक समानतामा १ं४ प्रतिशत अंक सुधार गर्दै ८ स्थान माथि उक्लिएको हो । यद्यपि भारत अझै पनि बढी लैङ्गिक असमानता भएका २० मुलुकभित्रै छ ।
कमजोर अवस्थामा रहेको पाकिस्तानमा १४२ औं स्थानमा छ । पाकिस्तानले यो वर्ष १.१ अंक सुधार गरेर ३ स्थाना माथि उक्लिएको हो ।
अफगानिस्तानको आतल भने अघिल्लो वर्ष भन्दा पनि खस्किएको छ । सो देशले ३ प्रतिशत अंक गुमाउँदा सबैभन्दा कम समानता भएको मुलुकको अन्तिम स्थानामा कायम रहेको हो ।
विश्वमा अमेरिका ४३ औं, बेलायत १५ औं, चीन १०७ औं स्थानमा रहेका छन् ।


