काठमाडौं । सरकारले मुलुकमा ५० करोड रुपैयाँसम्मको विदेशी लगानी स्वचालित मार्ग गर्न सक्ने व्यवस्था गरेको छ । मंगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तोकिएको क्षेत्रमा ५० करोडसम्मको लगानीका लागि यस्तो व्यवस्था गरेको हो । लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा तोकिएको क्षेत्रमा तोकिएको रकमसम्मको विदेशी लगानीका लागि यस्तो रुटको व्यवस्था गर्नसक्ने उल्लेख छ ।
मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी यो सीमा ५० करोड रुपैयाँ तोकेको हो । लगानीको न्युनतम सीमा भने यसअघि नै २ करोड तोकिएको छ । साथै सूचना प्रविधिमा आधारित उद्योगमा स्वचालित मार्गबाट विदेशी लगानीको स्वीकृति गर्दा लगानीको न्यूनतम सीमा लागु नहुने व्यवस्था गरेको राजपत्रमा उल्लेख छ ।
यसरी तोकिएको क्षेत्रमा तोकिएको सीमामा विदेशी लगानी भित्र्याउँदा नेपाल सरकारबाट पूर्वस्वीकृति लिनु पर्दैन । बैंकिङ प्रणालीबाट आवश्यक रकम भित्र्याएर ३० दिनभित्र राष्ट्र बैंकलाई जानकारी दिए पुग्छ ।
राजपत्रमा प्रकाशित सूचनामा उक्त सुविधा प्राप्त हुने सात क्षेत्र समेत तोकिएको छ । विदेशीले लगानी गर्नसक्ने उद्योगहरुमा ऊर्जामूलक उद्योग, कृषि तथा वन पैदावारमा आधारित उद्योग, पूर्वाधार उद्योग, पर्यटन उद्योग, सूचना प्रविधिमा आधारित उद्योग, सेवामूलक उद्योग र उत्पादनमूलक उद्योग रहेका छन् ।
ऊर्जामूलक उद्योग अन्तर्गत वायु, सौर्य शक्ति, बायोमास वा अन्य स्रोतबाट ऊर्जा उत्पादन गर्ने उद्योग, त्यस्तो ऊर्जा उत्पादन गर्न प्रयोग गरिने मेसिन तथा उपकरण निर्माण गर्ने रहेका छन् । यस्तै बायोग्यासमा आधारित ऊर्जा, चिनी उद्योगको सहउत्पादनका रूपमा उत्पादन हुने ऊर्जा, ऊर्जाको सम्भाव्यता अध्ययन गर्ने रहेको छ ।
कृषि तथा वन पैदावारमा आधारित उद्योगमा फलफूल तथा तरकारी प्रशोधन, हरित गृह (ग्रिन हाउस) स्थापना र सञ्चालन, रेसम प्रशोधन, चिया तथा कफी प्रशोधन, जडीबुटी प्रशोधन, रबर प्रशोधन, शीत भण्डार (स्थानीय फलफूल तथा तरकारी भण्डारण गर्ने), प्राकृतिक रेसाजन्य प्रशोधन रहेका छन् ।
यस्तै कागज, रेजिनलगायत अन्य गैरकाष्ठजन्य वन पैदावारमा आधारित नयाँ प्रविधिद्वारा बिरुवा उत्पादन गर्ने (टिस्यु कल्चरलगायत), कपास प्रशोधन उद्योग रहेको छ । यस्तै पूर्वाधार उद्योगमा सवारी पार्किङ गृह, निर्यातजन्य वस्तुको प्रशोधन क्षेत्र, प्रदूषित पानी प्रशोधन उद्योग (वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट), फिल्म सिटी निर्माणरफिल्म स्टुडियो निर्माण र वेयर हाउस निर्माण तथा सञ्चालन रहेका छन् ।
पर्यटन उद्योग अन्तर्गत मोटेल, होटल, रिसोर्ट, बार तथा रेस्टुराँ, मनोरञ्जन पार्क, वाटर पार्क, सभा सम्मेलन तथा खेलकुद पर्यटन रहेका छन् । सूचना प्रविधिमा आधारित उद्योग अन्तर्गत टेक्नोलोजी पार्क आइटी पार्क, बायोटेक पार्क, सफ्टवेयर विकास, तथ्याङ्क प्रशोधन, डिजिटल म्यापिङ, बिजनेस प्रोसेस आउटसोर्सिङ, नलेज प्रोसेस आउटसोर्सिङ रहेका छन् ।
सेवामूलक उद्योग अन्तर्गत यान्त्रिक कार्यशाला (वर्कसप), निर्माण व्यवसाय, अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, पुनस्र्थापना गृह सञ्चालन, फिजियोथेरापी क्लिनिक, आयुर्वेद तथा अन्य वैकल्पिक अस्पताल रहेका छन् ।
उत्पादनमूलक उद्योग अन्तर्गत पशुपन्छी तथा माछाको दाना उत्पादन, स्टार्च, ग्लुकोज आदि उत्पादन, बेकरीका वस्तु उत्पादन, पशुपन्छी तथा मत्स्यजन्य मासु प्रशोधन तथा प्याकेजिङ, आधारभूत कच्चा पदार्थबाट तेल, बोसो आदि उत्पादन, कन्फेक्सनरी तथा बिस्कुट उत्पादन, चिनी उत्पादनलगायत रहेका छन् ।


