काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बिके (बिष्णुकृष्ण) श्रेष्ठ को निधन भएको छ । आज बुधबार बिहान ९६ वर्षको उमेरमा उनको निधन भएको हो । बुढ्यौली उमेरका उनी केहि समययता सामान्य बिरामी थिए । श्रेष्ठको पारिवारिक स्रोतका अनुसार आफ्नै घरमा उनको निधन भएको हो ।
दशैंको टिकाको दिन उनको निधन भएको हो । श्रेष्ठ २६ वर्षदेखि बैंकमा अध्यक्षको रूपमा रहेका थिए। २०५४ सालदेखि श्रेष्ठले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। गत असोज ३० गतेको बैंकको २९ औं वार्षिक साधारण सभाले पनि श्रेष्ठलाई अध्यक्षको रूपमा चयन गरेको थियो।
उनी तात्कालिन नेपाल विकास बैंक औधोगिक विकास निगम (हाल राष्ट्रिय वाणिज्य बैंकमा विलय भएको एनआईडीसी डेभलपमेन्ट बैंक) को पहिलो महाप्रबन्धक हुन् ।
पछि उनले भारतमा गएर मदिरादेखि होमियोप्याथिक औषधि उद्योगसम्म खोलेका थिए । कपडा व्यापार समेत गरेका उनले पञ्जाव नेशनल बैंकमा ठूलो मात्रामा शेयर खरिद गरेका थिए । पछि सोही बैैंकको संयुक्त पुँजी लगानीमा नेपालमा एभरेष्ट बैंक खोलेका थिए ।
नेपालमा एभरेष्ट बैंकबाहेक उनको व्यवसाय छैन । उनको व्यवसाय भारतमा नै छ ।एभरेष्ट बैंकमा भारतीय पञ्जाब नेशनल बैंकको २०.०३ प्रतिशत शेयर छ ।
त्यस्तै, ३०।७८ प्रतिशत अर्थात् २ करोड ४७ लाख ११ हजार ५ सय ३ दशमल ६९ प्रतिशत सेयर सर्वसाधारणको छ । बाँकीमध्ये अधिकांश शेयर उनी र उनकै परिवारको नाममा छ ।


