काठमाडौँ । आजसम्म काठमाडौंमा ५ हजार मेट्रिकटन चिनी आइपुग्ने भएको छ । उत्पादक कम्पनीहरुले किनेर पनि लैजान बाँकी रहेकाे चिनी काठमाडौं ल्याउन लागिएको हो । त्यसमध्ये शुक्रबार २ हजार मेट्रिकटन शुक्रबार आइसकेको छ भने ३ अजार मेट्रिकटन आज आइपुग्दैछ ।
उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालयको पहलमा विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिमाणको चिनी काठमाडौं ल्याइएको हो । नेपाल खुद्रा व्यापार संघमा आबद्ध व्यापारीमार्फत बजारमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
आपूर्ति मन्त्रालयका प्रवक्ता एवं आपूर्ति महाशाखाका प्रमुख गजेन्द्रकुमार ठाकुरले अबको तीन दिनभित्र उपत्यकामा चिनी सहज हुने जानकारी दिए ।
यद्यपि यो चिनीको मूल्य भने बढेको छ । यसअघि साल्ट ट्रेडिङले ९७ रुपैयाँमा चिनी बिक्री गरिरहेकोमा अब प्रतिकेजी ११७ रुपैयाँ पर्नेछ । खुद्रा ब्यापार संघमा आवद्ध १७०० खुद्रा व्यापारीकहाँ उक्त चिनी बिक्री हुनेछ ।
अहिले भारतबाट जीटूजी मार्फत् २० हजार मेट्रिकटन चिनी ल्याउन लागिएको छ । सरकारले सहुलियतपूर्ण चिनी ल्याउन ढिला अनुमति दिएको र पछि भारतले लगाएका प्रतिबन्धका कारण चिनी ल्याउन सकिएको थिएन । अब भारतबाट जिटुजीबाट चिनी आएपछि कालोबजारी घट्नुका साथै महँगी र अभाव हट्ने विश्वास गरिएको छ ।
महाशाखा प्रमुख ठाकुरले आउँदो साताभित्रै भारतबाट २५ हजार मेट्रिक टन चिनी ‘फास्ट ट्र्याक’ माध्यमबाट ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए । त्यसमध्ये २० हजार मेट्रिक टन भन्सार छुटमा सरकारी सहमति अनुसार ल्याइनेछ भने बाँकी पाँच हजार मेट्रिक टन केही दिनमा आउनेछ ।


