images
images

प्रमुख राजमार्गमा आवागमन प्रभावित, अरनिको राजमार्ग पूर्ण अवरुद्ध


  • 468
    SHARES
  • २०८३ श्रावण ९ गते शनिबार

    प्रमुख राजमार्गमा आवागमन प्रभावित, अरनिको राजमार्ग पूर्ण अवरुद्ध

    काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग प्रभावित बनेका छन्। नेपाल प्रहरीका अनुसार शनिबार बिहान ६ बजेसम्म कोशी र बागमती प्रदेशका केही राजमार्ग पूर्ण रूपमा बन्द भएका छन् भने केही सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

    कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। यस्तै, इलाम नगरपालिका–९ राजदुवाली (झापा–ताप्लेजुङ सडक खण्ड) मा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। वैकल्पिक मार्ग उपलब्ध रहेकाले सोही मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

    खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–६ माम्खामा गएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग मा पनि एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

    बागमती प्रदेशमा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। वि.पि. राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कुटुन्जेबेँसी सडक खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालन रोकिएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्थाको मूल्याङ्कनपछि मात्र सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।

    त्यस्तै, कान्ति लोकपथ अन्तर्गत हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडक खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।

    यसैबीच, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो (तातोपानी जाने सडक) र कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।

    प्रहरीले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न तथा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

    755228231_1403800001652928_9201692967264530112_n


    images

    Logo