images
images

भीमसेन थापाको २५२औँ जन्मजयन्ती : राष्ट्रिय स्वाभिमान जोगाउन प्रतिबद्धता


  • 130
    SHARES
  • २०८३ श्रावण ९ गते शनिबार

    भीमसेन थापाको २५२औँ जन्मजयन्ती : राष्ट्रिय स्वाभिमान जोगाउन प्रतिबद्धता

    काठमाडौं । राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५२औँ जन्मजयन्तीका अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले उनको योगदानप्रति सम्मान अर्पण गरेका छन्।

    शनिबार काठमाडौंको धरहरा परिसरमा आयोजित समारोहमा प्रधानसेनापति सिग्देलले भीमसेन थापाको तस्बिरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरे। सो अवसरमा नेपाली सेनाको श्री रणभैरव गणले सम्मान सलामी पनि अर्पण गरेको थियो।

    स्मृति सभा तथा सम्मान समारोहमा भीमसेन थापा स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पृथ्वीश्वरप्रसाद तिमिल्सिनाले भीमसेन थापाको कार्यकालमा भएका प्रशासनिक सुधार, परराष्ट्र नीति र सामाजिक गतिविधिलाई अभिलेखीकरण गर्ने उद्देश्यले प्रतिष्ठानले पुस्तक प्रकाशन गरिरहेको जानकारी दिए। उनका अनुसार प्रतिष्ठानले हालसम्म तीनवटा भाग प्रकाशित गरिसकेको छ भने आगामी वर्षहरूमा थप दस्तावेज सार्वजनिक गर्ने योजना रहेको छ।

    ती प्रकाशनहरू नेपाली सेना, नीति निर्माता, अध्येता तथा युवा पुस्ताका लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै उनले भीमसेन थापाको योगदानलाई जीवन्त राख्न र ऐतिहासिक तथ्यलाई संस्थागत गर्न प्रतिष्ठान सक्रिय रहेको बताए। उनले ती दस्तावेजले तत्कालीन नेपालको रक्षा नीति, कूटनीतिक अभ्यास र सामाजिक संरचना बुझ्न सहयोग पुग्ने तथा विस्तृत अध्ययनबाट वर्तमान परराष्ट्र र रक्षा नीति निर्माणमा समेत योगदान पुग्न सक्ने धारणा राखे।

    कार्यक्रममा प्रा.डा. बुद्धिबहादुर थापाले नेपालको अस्तित्व र राष्ट्रिय स्वाभिमानको संरक्षणमा भीमसेन थापासहित राष्ट्रिय विभूतिहरूको योगदान अतुलनीय रहेको बताए। उनले पुर्खाहरूको त्याग, बलिदान र देशप्रेमबाट प्रेरणा लिएर आगामी पुस्ताले राष्ट्रिय स्वाभिमान जोगाउन सधैँ प्रतिबद्ध रहनुपर्नेमा जोड दिए। साथै, राष्ट्रिय एकता र विकासका लागि सबैले हातेमालो गर्नुपर्ने उनको भनाइ थियो।

    यस्तै, वक्ता बाबुराम सिंह थापाले वर्तमान समयमा राष्ट्रियताको भावना कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले नेपालको इतिहासमा देशभक्त र देशद्रोही दुई धार सधैँ देखिने गरेको उल्लेख गर्दै अहिले देशभक्तिको धार रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरे।

    उनले भीमसेन थापा, पृथ्वीनारायण शाह, कालु पाँडे, काजी शिवराम सिंह बस्न्यात, बहादुर शाह र बडाकाजी अमरसिंह थापाजस्ता ऐतिहासिक व्यक्तित्वहरूले राष्ट्रको अस्तित्व जोगाउन महत्वपूर्ण बलिदान दिएको स्मरण गर्दै अब कुनै जात, वंश वा समूहभन्दा माथि उठेर सम्पूर्ण देशभक्त नेपालीहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए।

    विश्व राजनीतिको बदलिँदो र जटिल परिस्थितिका कारण नेपालजस्ता साना राष्ट्रमाथि चुनौती थपिएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि सबै नागरिक अग्रसर हुनुपर्नेमा जोड दिए।

     


    images

    Logo