images
images

हरिपुरकी तत्कालीन उपमेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


  • 241
    SHARES
  • २०८० चैत्र ५ गते सोमबार

    हरिपुरकी तत्कालीन उपमेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकाकी तत्कालीन उपमेयर रेणुकादेवी काफ्लेसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरूले सम्झौताअनुसार खोला नियन्त्रणका लागि तटबन्ध निर्माणको काम नगरी आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    तत्कालीन उपमेयर काफ्ले, सदस्य बेदकुमारी बलम्पाकी र लक्ष्मी कुमर तथा वडा नं १ का वडाध्यक्ष कुमार लामाले लखनदेवी खोला नियन्त्रण तथा स्पर निर्माणको कार्य सम्पन्न नहुँदै भएको भनी भुक्तानी दिन सिफारिस गरेका थिए ।

    आयोगले हरिपुर नगरपालिका नगर कार्यपालिका कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय नइन्द्रकुमार पौडेल, इन्जिनियर रञ्जित साह र सबइन्जिनियर सञ्जीव चौधरीविरुद्ध ८५ लाख १८ हजार ६ सय ३१ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

    यसैगरी, आयोगले हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुकादेवी काफ्ले, सदस्य वेदकुमारी बलम्पाकी, सदस्य लक्ष्मी कुमर, वडा नं १ का तत्कालीन वडाअध्यक्ष कुमार लामाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरिएको छ । 

    यसैगरी, नदी नियन्त्रण उपभोक्ता समिति हरिपुर–१ नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शम्शेरबहादुर बस्नेत, सचिव इन्द्रबहादुर घिसिङ र कोषाध्यक्ष निर्मलाकुमारी देवीविरुद्ध पनि ८५ लाख १८ हजार ६ सय ३१ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

     


    images
    images

    Logo