काठमाडौं । यस वर्षको दसैँमा देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भए पनि केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार असोज ३० गते जारी गरेको दसैँ विशेष मौसम बुलेटिनअनुसार फूलपातीदेखि विजयादशमीसम्म पश्चिमी वायुको आंशिक प्रभावका कारण केही स्थानमा वर्षा र हिमपात हुन सक्ने देखिएको हो ।
महाशाखाका अनुसार असोज ३१ गते फूलपातीका दिन कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ । देशका पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा मधेससहित कोसी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बादल रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।
फूलपातीका दिन हिमाली भूभाग तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । रातिको समयमा कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्नेछ ।
कात्तिक १ गते अष्टमीका दिन पनि देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । मधेस तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
उक्त दिन हिमाली भूभाग तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । राति कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
कात्तिक २ गते नवमीदेखि कात्तिक ४ गते विजयादशमीसम्म कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।
यस अवधिमा कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।
महाशाखाका अनुसार नेपालबाट मनसुन बाहिरिसकेको अवस्थामा दसैँ अवधिभर पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने देखिएको छ ।



