images
images

नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला नियुक्त


  • 181
    SHARES
  • २०८३ कार्तिक १ गते शनिबार

    नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला नियुक्त

    काठमाडौं । भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाई नियुक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयका सचिव दलेलालाई नेपालका लागि राजदूत नियुक्त गरिएको जानकारी दिएको हो ।

    नवनियुक्त राजदूत दलेला केही दिनभित्रै काठमाडौं आएर आफ्नो जिम्मेवारी सम्हाल्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । यसअघि नेपालका लागि भारतीय राजदूत रहेका नवीन श्रीवास्तवको कार्यकाल सकिएपछि उनी भारत फर्किसकेका छन् ।

    दलेला सन् २०२५ देखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत थिए । भारतले विदेश मन्त्रालयको सचिवस्तरमा कार्यरत कूटनीतिज्ञलाई नेपालका लागि राजदूत नियुक्त गरेको यो सम्भवतः पहिलोपटक हो ।

    भारतको विदेश मन्त्रालयमा विदेश सचिवबाहेक अन्य चार जना सचिव रहने व्यवस्था छ । दलेलाले आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँग विकास साझेदारी, अफ्रिकासँगको सहकार्य, बहुपक्षीय आर्थिक सम्बन्ध तथा उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषयहरू हेर्दै आएका छन् ।

    सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए । उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगहरूमा काम गरिसकेका छन् ।

    त्यसैगरी, उनले सन् २००९ देखि २०११ सम्म भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गरेका थिए । उक्त समयमा उनको जिम्मेवारी दक्षिण एसियाली छिमेकी राष्ट्र, पूर्वी एसिया, इन्डो–प्यासिफिक क्षेत्र, खाडी, मध्यपूर्व तथा अफ्रिकी देशहरूसँगको सम्बन्धमा केन्द्रित थियो ।

    राजदूत नियुक्त हुनुअघि दलेलाले भुटानका लागि भारतीय राजदूतका रूपमा तीन वर्ष सेवा गरेका थिए । नेपालमा राजदूतको जिम्मेवारी सम्हाल्न लागेका दलेलाको नियुक्तिलाई भारतले नेपालसँगको कूटनीतिक सम्बन्धमा दिएको महत्त्वका रूपमा पनि हेरिएको छ ।


    images
    images

    Logo