भक्तपुर । वडा नं. १० चित्तपोलले वडा नं. ९ नङ्खेललाई पराजित गर्दै सूर्यविनायक अन्तरवडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा चित्तपोलले नङ्खेललाई ३–१ गोल अन्तरले हराउँदै च्याम्पियन बनेको हो ।

प्रतियोगितामा वडा नं. ४ दधिकोट तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा दधिकोटले वडा नं. ८ सिपाडोललाई ४–१ गोल अन्तरले पराजित गरेको थियो। सिपाडोलले प्रतियोगितामा सान्त्वना स्थान हासिल गरेको छ ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि चित्तपोलकै खेलाडीको वर्चस्व रह्यो । चित्तपोलका युग देउजा उत्कृष्ट खेलाडी, रोजित खत्री सर्वाधिक गोलकर्ता र अश्विन देउजा उत्कृष्ट गोलकिपर घोषित भए । नङ्खेलका प्रशिक्षक दिपेश खत्रीले उत्कृष्ट प्रशिक्षकको उपाधि पाए ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा प्रमुख अतिथि तथा नेपाल जिम्नास्टिक सङ्घका उपाध्यक्ष बचन देउजा विशेष अतिथिका रूपमा सहभागी थिए ।

नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाको अध्यक्षतामा सम्पन्न समारोहमा विजेता तथा उपविजेता टोलीसहित उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय बासिन्दा, खेलकुदप्रेमी तथा सञ्चारकर्मीको उपस्थिति थियो ।




