काठमाडौं । राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ भोलि ‘ब्रेक थ्रू’ हुने भएको छ । कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारबाट २०७९ साल असोज २८ गतेदेखि खन्न सुरु गरिएको सुरुङ बाँध स्थल सुनकोशी ७ कानढुंग्रीमा ब्रेक थ्रु हुने भएको हो । सुरुङको ब्रेक थ्रु गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुली जाने भएका छन् ।
सुनकोशी गाउँपालिका वडा नं. ७ कानढुंग्रीमा २६ गते बिहान ११ बजेबाट १ बजेसम्म प्रधानमन्त्री दाहालले ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम तय गरिएको छ । तराईका ६ जिल्लामा सिंचाई सुविधा पु¥याउन सरकारले सुनकोशीको पानी तराईमा लैजाने, जनविद्युत उत्पादन गर्ने लगाएतका उद्देश्य राखी निर्माण गरेको आयोजनाको सुरुङ निर्माण समय अगावै सकिन लागेको हो ।
सुरुङ निर्माणको काम चाईना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले गरेको हो । सुरुङ निर्माणको काम तोकिएको समयभन्दा ३ महिना अगावै सम्पन्न भएको छ ।
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सिन्धुलीको कुसुमटारबाट १३ दशमलब ३ किलोमिटर सुरुङ निर्माणको काम ९९.९९ प्रतिशत सकिएपछि प्रधानमन्त्री दाहालले ड्याम साइड तर्फबाट बुधबार ब्रेक थ्रु गर्न लागेका हुन ।
तराई मधेसमा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको उक्त आयोजनालाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको छ ।
आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरिरहेको छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इन्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको उक्त आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन । सो आयोजनाको ‘कफर ड्याम’ निर्माण भइरहेको जनाइएको छ ।
सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । आगामी वैशाखसम्म बाँध निर्माणलाई एउटा स्तरमा पु¥याउने लक्ष्य राखिएको छ । वैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ । यस्तै, विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ ।
आयोजनाका लागि सुनकोशी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा पथान्तरण गरिनेछ । सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।
विसं २०७९ असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरेर खनिएको छ ।


