images
images

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा, भरतपुरको दक्षिण–पश्चिम क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने


  • 439
    SHARES
  • २०८१ बैशाख २८ गते शुक्रबार

    चितवनको देवनगर सबस्टेसन सञ्चालनमा, भरतपुरको दक्षिण–पश्चिम क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३÷११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । कूल २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेसन निर्माण सम्पन्न गरी बिहीबार रातिदेखि चार्ज गरिएको हो ।

    भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी देवनगर सबस्टेसनसम्म पुर्याइएको छ ।

    गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म करिब साढे नौ  किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । उक्त प्रसारण लाइन पनि चार्ज गरिएको छ । देवनगर सबस्टेसनबाट स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका चार वटा फिडर रहेका छन् ।

    देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर, फूलबारी, गीतानगर, पटिहानी, सीतामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुनेछ । उक्त क्षेत्रमा गार्हस्थ ग्राहकका अतिरिक्त ठूलो सङ्ख्यामा सिँचाइ र होटलका ग्राहक रहेका छन् ।

    नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना (प्योकेज–९) अन्तर्गत प्राप्त सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेसन निर्माण गरिएको हो । गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेसनको लागत ९ करोड ५० लाख रुपैयाँ रहेको आयोजना प्रमुख सङ्गीता कार्कीले जानकारी दिए ।

    आयोजना प्रमुख कार्कीले सबस्टेसन तयार भए तापनि लाइन निर्माणमा स्थानीयको अवरोध र वातावरणीय अध्ययन तथा स्वीकृतिमा समय लाग्दा सबस्टेसन सञ्चालनमा ल्याउन केही ढिलाइ भएको उल्लेख गरे ।

    कार्कीले भने, “कोभिड–१९ महामारी, जग्गा अधिग्रहणमा समस्या, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने जङ्गल हुँदै प्रसारण लाइन लैजानु गर्ने र त्यसका लागि सङ्क्षिप्त वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिमा समय लाग्दा, स्थानीयको अवरोधलगायतका कारणले निर्माण केही ढिलाइ भयो ।”

    सङ्क्षित वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरी लाइन निर्माण गत फागुदेखि निर्माण सुरु गरिएको थियो । तर, लाइन निर्माणमा केही स्थानीयबाट अवरोध सुरु भएपछि निर्माण रोकिएको थियो ।

    भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, सम्बन्धित वडाध्यक्षलगायत न्यून भोल्टेज विद्युत् आपूर्तिको समस्या भोगिरहेका होटल व्यवसायी, सिँचाइका उपभोक्ताहरु, आयोजना व्यवस्थापन, सुरक्षाकर्मीको पहलमा अवरोध हटाइएको थियो । 


    images

    Logo