काठमाडौं । वैशाख ७ गतेसम्म खाने तेलको मूल्य खुद्रा मूल्य २२० देखि २४० रुपैयाँ थियो । यो अवधिमा प्रति लिटर तेलको मूल्यमा ३० देखि ४० रुपैयाँले बढेर २७५ देखि २८० रुपैयाँ पुगेको छ । अहिले आम उपभोक्ताले एक लिटरको एक पाटेक सन फ्लावरको तेल किन्नको लागि २८० रुपैयाँ खर्च गर्नुपर्छ । भटमासको तेल किन्न २७५ रुपैयाँ र तोरीको तेल किन्न ३ सय रुपैयाँ खर्च गर्नु पर्ने भइसकेको छ । १५ दिन अघिसम्म प्रतिलिटर खाने तेल २४० देखि २५० रुपैयाँमा पाइन्थ्यो ।
पछिल्लो समय तेलको मूल्य अत्यधिक रुपमा बढ्दै गएको छ । १५ दिनमा प्रतिलिटर तेलको मूल्यमा ४० रुपैयाँले वृद्धि भएको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘पछिल्लो समय तेलको मूल्य अचाक्ली बढेको छ,’ उनले भने ‘खाने तेलमा पनि सबैभन्दा बढी मूल्य वृद्धि भटमासको तेलको भएको छ ।’ १ वर्षको अवधिमा प्रतिलिटर तेल १ सय रुपैयाँले वृद्धि भइसकेको छ ।’ गत वर्षसम्म सनफ्लावर र भटमासको तेल १५५ देखि १७० रुपैयाँसम्म पाइन्थ्यो । तर, अहिले मूल्य आँकासिएको छ ।
खुद्रा व्यापार संघले वैशाख ७ गते प्रकाशित गरेको तेलको खुद्रा मूल्य अुनसार प्रतिलिटर सनफ्लावर तेलको मूल्य २४० रुपैयाँ छ भने भटमासको तेलको मूल्य २२० रुपैयाँ छ । अहिले दुबै तेलको मूल्य बढेर १७० देखि १८० रुपैयाँसम्म पुगेको छ ।
आम सर्वसाधारणले खाने भनेको भटमास तथा सनफ्लावरको तेल हो । यसमै अत्यधिक मूल्य वृद्धि भएका कारण आम उपभोक्ता यो महामारीमा अझ मारमा परेका उनले बताए ।
यसरी तेलको मूल्य बढ्दा पनि उपभोक्ता वादी संघ संस्था तथा नियामक निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग समेत कानमा तेल हालेर बसेको उनले आरोप छ । संघले तेलको मूल्य बढेको विषयमा विभागलाई जानकारी गराइसकेपनि यसमा खासै चासो नदेखाएको उनको भनाइ छ ।
‘मैल वाणिज्य विभागमा गएर गुनासो गरे, बजारको यथार्थ पनि बुझाए तर, मूल्य बढ्ने क्रम रोकिएको छैन । थोक बिक्रेतासँग भन्दा मिलबाटै बढेर आएको छ भन्छन् ,’ उनले थपे ‘१५ दिनमा एक पाकेट तेलमा ३०-४० रुपैयाँले बढ्दा सरकार भने कानमा तेल हालेर बसेको छ ।’ देशमा तेल उत्पादन गर्ने १४ देखि १५ वटा तेल मिल रहेका छन् ।
निषेधाज्ञाको बेला तेलको कृतिम मूल्य वृद्धि गरेर व्यापारीले आम सर्वसाधारणलाई ठगेको उपभोक्तावादी ज्योति बानियाँले बताए । ‘आज बिहान मैले पनि एक जना उपभोक्ताले तेलको मूल्य के बिदि बढेछ भनेपछि थाहा पाए,’ उनले ‘यस विषयमा सम्बन्धि निकाय नै जिम्मेवार हुुनुपर्छ ।’ कृतिम मूल्य वृद्धिका विषयमा उचित कदम चालिनुपर्ने बानियाँले बताए । कानुनले दिएको अधिकार प्रयोग गरेर यसरी बढी मूल्य लिएर बिक्री गर्ने व्यापारी तथा व्यवसायीलाई कडा भन्दा कडा सजाय गर्नुपर्ने उनको जोड छ ।
सहायक प्रमुख जिल्ला अधिकारीलाई बजारमा मूल्यका विषयमा अनुमगन गर्ने जिम्मा दिइएको छ । तर, प्रशासन कार्यालय अन्य व्यवस्थापनमा जुटेको छ भने सहायक सीडीयोहरू सबैलाई कोभिड पोजेटिभ देखिएको छ । वाणिज्य विभागका महानिर्देशक प्रकाश पौडेल भने फोन नै अफ गरेर बसेका छन् । निषेधाज्ञाको मौका छोपेर छोटो समयमा सबै उपभोग्य सामग्री जोरजाम गर्नु पर्ने बाध्यताको फाइदा उठाउँदै व्यापारीहरूले भने उपभोक्तालाई लुटिरहेका छन् ।
हिजो वैशाख १९ गते कुखुराको अण्डा पनि प्रति क्रेट ७० रुपैयाँले बढ्यो । निषेधाज्ञाको यो समयमा बिहानै अण्डा किन्न गएका उपभोक्तालाई आजै अण्डा क्रेटमा ७० रुपैयाँले बढेको भन्दै अघिल्लो दिन पसल बन्द गर्दासम्म ४१० रुपैयाँ रहेको प्रति क्रेट अण्डाको मूल्य रातभरिमा ७० रपैयाँले बढी तिर्न उपभोक्ता बाध्य भए ।
अन्तर्राष्ट्रिय बजारमा खाने तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेका कारण तेलको मूल्य बढाउनु पर्ने अवस्था आएका तेल उत्पादन गर्दै आएका मिलहरूले बताएको अध्यक्ष श्रेष्ठले बताए । देशमा तेलका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न सक्ने क्षमता हुँदा हुँदै पनि आवश्यकताअनुसार उत्पादन नहुँदा अहिले महँगोमा आयात गरेर उपभोग गर्नुपर्ने अवस्था आएको हो ।
जब नेपालबाट भारतमा तेल निर्यात हुन थाल्यो तब तेलको मूल्य पनि त्योसँगसँगै बढ्न थालेको छ । चैत महिनमात्रै ५ अर्ब ६८ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको छ । चैत महिनामै ३३ करोड रुपैयाँको सूर्यमुखी तेल र एक अर्ब ४३ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ ।
नेपालमा उक्त महिनामा ६ अर्ब ८१ करोड रुपैयाँको कच्चा भटमासको तेल र ६० करोड रुपैयाँको पाम तेल भित्रिएको छ । तेलको निर्यात बढेसँगै घरेलु बजारमा पनि त्यसको असर पर्न थालेको छ । केही महिना अघिसम्म पाम तेलको निर्यात बढी थियो । तर, अहिले घटेको छ ।


