उषा गिरी रिकिसी कम्पोष्ट प्रा.लि.की प्रबन्ध निर्देशक हुन् । यो कम्पनीले जापानी सीएनबीएम प्रविधिको कम्पोष्ट मलको बारेमा नेपालमा अनुसन्धान तथा उत्पादनको काम गर्दै आएको छ । २२ वर्ष जापानमा अध्ययन, रोजगारी र व्यवसाय गरेर नेपाल फर्किएकी गिरीले नेपालमै पहिलो पटक जापानी सीएनबीएम प्रविधिमा फोहोरबाट मल उत्पादन गर्न सुरु गरेकी हुन् ।
घरमा उत्पादन हुने प्राङ्गारिक फोहोरलाई कुहिन नदिइ त्यसलाई विभिन्न बोटविरुवाको पात, भुस लगायत प्राङ्गारिक वस्तुको समिश्रणबाट यो मल तयार गरिन्छ । मध्यपुर थिमि नगरपालिकाको सहयोगमा अनुसन्धान सुरु गरि उत्पादन गरिएको मलले सामान्य मलको तुलनामा २ गुणा बढी उत्पादन दिन थालेपछि यतिबेला यो मलको माग व्यापक रुपमा बढेको छ । बजारमा मागसँगै अहिले यो कम्पनीले विभिन्न तहका सरकारसँगको समन्वयमा देशका विभिन्न स्थानमा यस्तो मलको उत्पादन सुरु गरिसकेको छ ।
यही परिप्रेक्षमा जापानी प्रविधिको यो मल उत्पादनको अवस्था, उत्पादित मलको माग, कृषकको प्रतिक्रिया, कम्पनीले गर्दै आएका काम र आगामी योजना लगायतका विषयमा केन्द्रित भइ कम्पनीका प्रबन्ध निर्देशक गिरीसँग नेपालअर्थका लागि पेशल आचार्य र शंकर अर्यालले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।
तपाइँहरुले उत्पादन गर्न थाल्नुभएको मलको विषयमा अहिले निकै चर्चा पनि सुनिन्छ । यसलाई मध्यपुर थिमि नगरपालिकाकै गौरवको एउटा आयोजनाको रुपमा समेत हेरिएको छ । यो प्रविधि के हो र यसले कसरी काम गर्छ, यसबारे बताइदिनुस् न ?
हामीले अहिले उत्पादन गरिरहेको मल भनेको सीएनबीएम प्रविधिको मल हो । सीएनबिएम भन्नाले कार्बन, नाइट्रोजन, व्याक्टेरिया र मिनरल्सलाई बुझाउँछ । अर्थात् कुनैपनि बोटविरुवा राम्रोसँग हुर्किन र यसले प्रतिफल दिनका लागि यीनै ४ वटा पौष्टिक तत्वको सन्तुलन हुनुपर्छ भन्ने मान्यता यो प्रविधिले राख्छ ।
अहिले बोटविरुवामा देखिने अधिकांश रोग पनि माटोमा हुने पौष्टिक तत्वमा सन्तुलन नमिल्दा नै हुने गरेको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । उदाहरणको लागि माटोमा नाइट्रोजन बढी हुँदा बोटविरुवाले आवश्यकता भन्दा बढी नाइट्रोजन प्राप्त गर्छ । यसले बोटविरुवामा विभिन्न प्रकारका किराहरु लाग्छन् । यस्तै अरु पौष्टिक तत्व कम वा बढी हुँदा पनि यस्तै प्रकारका रोगहरु देखिन्छन् ।
यो प्रविधि प्रयोग गर्दा घरघरमा उत्पादन हुने प्रांगारिक फोहोरलाई जम्मा गरिन्छ । त्यसमा जंगलका पात पतिङ्गर, रातो माटो, भुस लगायतका पदार्थहरु मिसाएर निश्चित तापक्रममा निश्चित समय राखेपछि मल तयार हुन्छ । काठमाडौं उपत्यकाको तापक्रममा २ देखि ३ महिनामा यो तयार हुन्छ । यसरी उत्पादन हुने मलमा ती चारवटै पदार्थ सन्तुलित रुपमा रहने भएकोले यसले उत्पादनलाई बढाउने काम मात्रै गर्दैन, बोटविरुवामा विषादी नै प्रयोग गर्नु नपर्ने अवस्था बनाउँछ ।
हामीले विभिन्न बालीमा गरेको प्रयोगले यो मल प्रयोगबाट विभिन्न बालीहरुमा २ गुणाभन्दा बढीसम्म प्रतिफल दिएको पाएका छौं । त्यही कारणले अहिले यो मलको माग बढिरहेको छ । खासगरी कौशी खेती, नर्सरी खेती गर्नेहरुले हाम्रो मलको बढी माग गर्नुहुन्छ । अहिले ठूलो स्केलमा खेती गर्ने किसानले पनि हाम्रो मललाई प्रयोग गर्न थाल्नुभएको छ ।

तपाइँहरुले यसो भन्दैगर्दा जापानी प्रविधिको मल नेपालमा उत्पादन हुन सम्भव चाहिँ कसरी भयो ?
म आफैं जापानमा २२ वर्ष बिताएर नेपाल फर्किएको व्यक्ति हुँ । जापानमा मेरो आफ्नै दाइ पनि हुनुहुन्थ्यो । जापानबाट फर्किएर नेपाल आउने क्रममा हामीले नै यो प्रविधिलाई नेपाल लिएर आउने प्रयास गरेका हौं ।
यो प्रविधिलाई नेपाल भित्र्याउन सम्भव हुनुको पछाडी विभिन्न कारण छन् । पहिलो त, २२ वर्षसम्म जापान बस्दा म पटकपटक नेपाल फर्किन चाहन्थेँ । तर, मनमा नेपालमा गएर के गर्ने भन्ने प्रश्न आइरहन्थ्यो । जापानमा देखेका वा सिकेका कुराहरुलाई नेपाल भित्र्याउन पाए २२ वर्ष जापान बस्नुको सार्थकता हुन्थ्यो भन्ने सोच आउँथ्यो ।
अर्को चाहिँ कहिलेकाहिँ नेपाल आउँदा सडकमा, नदीमा देखिने फोहोरलाई व्यवस्थापन गर्न पाए पनि हुन्थ्यो नि भन्ने मनमा आउँथ्यो । तर, त्यसलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने आईडिया थिएन । जापानमा म बाल मनोविज्ञान विषय पढ्न गएको हुँ । पढाइपछि नेपालका सामानहरु जापानमा निर्यात गर्ने व्यवसाय गर्थेँ, त्यसैले यसमा ठोस् रुपमा अघि बढ्न सक्ने अवस्था थिएन । त्यसैले फोहोर व्यवस्थापन गर्छु भन्ने सोच पलाउनै पाएको थिएन ।
तर, संयोग नै भनौं आजभन्दा ७ वर्ष अगाडि मैले अर्गानिक मास्टर हासिमोतोलाई भेट्ने मौका पाएँ । उहाँ जापान सरकारले अर्गाानिक मास्टरको रुपमा रिकग्नाइज गरेका दुई जना व्यक्तिमध्ये एक हुनुहुन्छ । उहाँको कामबाट प्रभावित भएर मैले यो प्रविधिलाई ल्याएर नेपालमा परीक्षण गर्ने सोच बनाएँ ।
हामीले सुरुमा उहाँलाई नेपाल ल्यायौं । तात्कालिन सभामुखसँग उहाँको भेट हुने अवसर जुट्यो । उहाँले नै दिनुभएको सुझावका आधारमा हामीले मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठज्यूलाई भेटेर आफ्ना योजना सुनायौं । हामीले सुनाएको योजनाबाट उहाँ एकदमै उत्साहित हुनुभयो र तत्कालै जापानको भ्रमण समेत गर्नुभयो । साथै यो प्रविधिलाई मध्यपुर थिमि नगरपालिकामा लागु गराउने महत्वपूर्ण योगदान पनि गर्नुभयो ।
हाम्रो प्रविधिले कुहिएको फोहोरलाई नलिने भएकोले घरघरबाट ताजा फोहोर संकलन गर्नुपर्छ । त्यसका लागि स्थानीय सरकारको सहयोगको आवश्यकता पर्छ । मेयरसाबको सहयोगकै कारण सुरुमा ५ सय घरमा कुहिने र नकुहिने फोहोरका लागि छुट्छाछुट्टै बाल्टिन राखेर फोहोर संकलन गर्ने कार्य सुरु भयो । यो संख्या २ हजार, ३ हजार हुँदै अहिले ५ हजार पुगेको छ ।
हामी अहिले प्रत्येक हप्ता गएर सबै घरबाट उत्पादन हुने प्रांगारिक फोहोर जम्मा गर्छौं र त्यसलाई ल्याएर मल बनाउँछौं । यहाँ हामीले जब काम सुरु काम गर्यौं, यसले निकै राम्रो प्रतिफल दियो । यो मलले मलको मात्रै होइन, औषधिको पनि काम गर्न थाल्यो । एकातिर फोहोरको व्यवस्थापन र अर्कोतिर कृषि उत्पादन बढ्ने भएकोले यसले दुवै पक्षलाई एकैपटक सहयोगी भएर गयो ।
अहिले यो लागि निकै उपयोगी साबित भएको छ । मैले यही क्रममा विभिन्न मानिसहरुलाई पनि भेटेको छु । उहाँहरु यो प्रविधि देखेर निकै उत्साहित हुनुहुन्छ । यही कारण अहिले हामीले पाँचखाल, दुधौली, राप्ती लगायत विभिन्न ठाउँमा पनि यसको उत्पादन सुरु गर्ने तयारी थालेका छौं ।
अहिले मल उत्पादनको अवस्था कस्तो छ ? कहाँबाट कति उत्पादन भइरहेको छ ?
अहिले हाम्रो उत्पादन भइरहेको ठाउँ भनेको मध्यपुर थिमिमा मात्रै हो । अरु ठाउँमा चाहिँ नयाँ उद्योग स्थापना गर्ने कार्य भइरहेको छ ।
गएको वर्ष हामीले काभ्रेको पाँचखाल र सिन्धुलीको दुधौली नगरपालिकामा कारखानाको रुपमा विस्तार गर्ने कार्य अघि बढाउका थियौं । यी दुवैका लागि सम्बन्धित नगरपालिकाको तर्फबाट ७५/७५ लाख रुपैयाँ अनुदान प्राप्त समेत भएको थियो । तर, कोभिड महामारीका कारण हामीले काम गर्न सकेनौं, त्यसैले अनुदान रकम पनि सबै उपयोग गर्न सकेनौं । तर, हामीले यो बनाउँदै गएका छौं । दुधौलीको कारखाना अब कात्तिकपछि सञ्चालनमा आउँछ ।
मध्यपुर थिमिमा भएको उत्पादनबारे मैले अघि पनि भनेँ, अहिले हामीले ५ हजार घरबाट फोहोर संकलन गरेर फोहोर उत्पादन गरिरहेका छौं । हाम्रो क्षमता त ८ हजार घरको हो । तर, कोभिडका कारण हामी यहाँ पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनौं । अब कोभिड महामारी कम हुँदै जाँदा यो संख्या बढाउँदै जाने सोच बनाएका छौं ।
कोभिडका कारण अहिले घरमा कम फोहोर उत्पादन भएको छ । नत्र ५ हजार घरबाट एक हप्तामा ८ देखि १० टन मल बनाउने फोहोर आउँछ । यो फोहोरलाई मल बनाउन २ देखि ३ महिना समय लाग्छ । हामीले यो फोहोरलाई पूर्ण रुपमा संकलन गरेर फोहोर बनाइरहेका छौं ।

बिक्री वितरण कसरी गरिरहनुभएको छ ? डिलरसिप, आउटलेटको अवस्था के छ ? मूल्य कति छ ?
अहिले हामीले सानो स्केलमा उत्पादन गरेको हुनाले डिलरसिप वा आउटलेटको कुनै व्यवस्था गरेका छैनौं । कृषकहरु उद्योगमै मल किन्न आउनुहुन्छ । अहिले चाहिँ केही नर्सरीहरुले फोन गरेर अर्डर गर्नुहुन्छ । हामीले उहाँहरुलाई डेलिभरीको व्यवस्था गरेका छौं ।
हामीले यो मलको मूल्य प्रतिकिलो ३५ रुपैयाँ राखेका थियौं । तर, अहिले कोभिडका कारण यसलाई छुट दिएर २५ रुपैयाँमै बेच्ने गरेका छौं । कृषकले यही मुल्यमा मल किन्न सक्नुहुन्छ । हामीसँग डिलरसीप वा आउटलेट नभएकोले योभन्दा महँगो शुल्क पर्दैन ।
तर, दीर्घकालीन रुपमा तपाइँले भन्नुभएजस्तै हामी डिलरसिप, आउटलेट वा अन्य कुनै मोडलको वितरण प्रणाली चाहिँ बनाउँछौं ।
तपाइँहरुलाई मल बनाउँदा आफ्नो लागत चाहिँ कति पर्छ ?
मल बनाउनकै लागि हामीलाई अहिले लाग्ने लागत चाहिँ प्रतिकिलो १० रुपैयाँ जति मात्रै हो । तर, कच्चा पदार्थको मूल्य तलमाथि हुँदा लागत तलमाथि पनि हुन सक्छ ।
त्यसो भन्दै गर्दा हामीलाई धेरै नाफा राखेको भन्ने आरोप आउन पनि सक्छ । तर, त्यसो होइन । हामीले यो क्षेत्रको अध्ययन र अनुसन्धानमा जति खर्च गरेका छौं र सुरुमा जति लगानी गरेका छौं, त्यो आधारमा हामीले सामान्य मात्रै नाफा राखेका छौं ।
तर, ठूलो स्केलमा उत्पादन र वितरण गर्दै गर्दा यसलाई सस्तोमा उत्पादन गर्नसक्ने र सस्तो मूल्यमै बिक्री वितरण गर्नसक्ने सम्भावना चाहिँ छ ।
तपाइँहरुले भित्र्याउनुभएको यो प्रविधिलाई उद्योगकै रुपमा विकास गर्न सम्भव छ कि छैन ?
अवश्य पनि छ । हामीले पाँचखाल, धुलिखेल लगायत ठाउँमा नयाँ कारखाना राख्न लागेकै यसलाई उद्योगकै रुपमान विकास गर्ने योजना सहित हो ।
दुधौलीको उत्पादन क्षमता भक्तपुरको भन्दा ३ गुणा ठूलो छ । यहाँबाट एक महिनामा ५ हजार टन मल उत्पादन हुन्छ । यसैगरी गाउँपालिका, नगरपालिका र प्रदेश सरकारहरुसँग मिलेर हामीले विभिन्न ठाउँमा उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढाइरहेका छौं । यी कार्य यो प्रविधिलाई उद्योगकै रुपमा विकास गर्ने सोच लिएर गरिएको हो ।

तपाइँले फोहोर व्यवस्थापनको कुरा गर्दैगर्दा अहिले काठमाडौंको फोहोर फाल्ने सिसडोल भरिएको अवस्था छ । बञ्चरेडाँडामा फोहोर फाल्न प्रदुषण हुने भन्दै स्थानीयवासीहरु विरोधमा छन् । ती क्षेत्रमा केन्द्रित भएर उद्योग स्थापना गर्दा के हुन्छ ?
हाम्रो प्रविधिमा जस्तोसुकै फोहोरलाई मल बनाउन मिल्दैन । जसरी हामीलाई गन्हाएको खानेकुराले असर गर्छ, त्यसैगरी गन्हाएको फोहोरले बोटबिरुवालाई पनि असर गर्छ भन्ने मान्यता राखिन्छ । हामीले प्रयोग गर्ने फोहोर प्रांगारिक मात्रै हुन्छ । सबै प्रकारका फोहोर एकै ठाउँमा मिसाउन मिल्दैन । यही कारणले हाम्रो प्रविधि अनुसार फोहोर संकलनको सुरुवात घरबाटै गर्नुपर्छ ।
सिसडोलमा फालिने फोहोरमा प्रांगारिक पदार्थलाई नछुट्याइएको र गन्हाउने भएका कारण यो हाम्रो लागि उपयोगी हुँदैन । बरु काठमाडौं उपत्यकाका घरघरबाटै ताजा प्रांगारिक फोहोर संकलन गर्ने व्यवस्था गरेर चाहिँ मल बनाउन सक्छौं ।
यो मलले अर्थतन्त्रमा पुर्याउनसक्ने योगदानको आकार कति हुन्छ ? यसबारे केही अध्ययन गर्नुभएको छ ?
यसबारे हामीले एकेडिमिक रुपमा अनुसन्धान त गरेका छैनौं । तर, हामीले यो प्रविधिलाई व्यपक रुपमा लैजाने हो भने आत्मनिर्भर अर्थतन्त्र निर्माणमा यसले ठूलो योगदान दिन सक्छ भन्ने लाग्छ ।
अहिले आयात हुने रासायनिक मलको ८० प्रतिशत भन्दा बढी प्रतिस्थापन गर्न सकिन्छ । त्यस्तै, वार्षिक रुपमा आउने अर्बौंको किटनाशक औषधि आयात कम गर्न सकिन्छ । यसले देशको रोजगारी पनि बढ्छ ।
यो प्रविधिको प्रयोगबाट उत्पादन उल्लेख्य रुपमा बढ्ने भएकोले अहिले कृषिजन्य पदार्थमा भइरहेको आयात प्रतिस्थापन गर्ने र हाम्रा उत्पादनहरु विदेशमा बेच्नसक्ने अवस्था पनि हुन्छ । त्यति मात्रै होइन, यो प्रविधि अर्गानिक भएकोले यसलाई व्यापक रुपमा प्रयोग गर्न सक्दा देश नै अर्गानिक बन्नसक्ने देखिन्छ । साधारण उत्पादन भन्दा अर्गानिक उत्पादनको मूल्य राम्रो हुने भएकोले यसबाट पनि हामीले फाइदा लिन सक्छौं ।
यसको सकारात्मक प्रभाव त्यति मात्रै छैन । किटनाशक औषधि हालेका कृषि उत्पादन प्रयोग गरेर हामीले कयौं रोगहरु निम्त्याइरहेका छौं । यो मल प्रयोगपछि किटनाशक औषधि प्रयोग गर्नु पर्दैन । यसले जनस्वास्थ्यमा समेत निकै ठूलो योगदान गर्छ । त्यसैले यो प्रविधिलाई देशभर फैलाउन सक्दा यसको अर्थतन्त्र खर्बौं रुपैयाँको त हुन्छ नै, त्योभन्दा बढी यसको सामाजिक प्रभाव पर्छ जसलाई मौद्रिक रुपमा मापन गर्नै सकिँदैन ।

तपाइँले देशलाई नै अर्गानिक बनाउनसक्ने बताइरहँदा जापानमा यो प्रविधिबाट उत्पादित मलको उपयोगको हिस्सा कति छ ?
जापान पनि अर्गानिक रुपमा अगाडि आएको मुलुक होइन । त्यसैले त्यहाँको अवस्था कमजोर छ । अहिले त्यहाँ कुल क्षेत्रफलको ३ प्रतिशतमा मात्रै अर्गानिक खेती हुन्छ । तर जर्मनी लगायत युरोपेली मुलुकमा अहिले अर्गानिक खेतीको लहर सुरु भएको छ । यो दिन प्रतिदिन बढ्दै पनि गएको छ । जापानमा पनि यसको हिस्सा कम भए पनि उपयोग गर्ने दर चाहिँ दिन प्रतिदिन बढ्दै गएको छ ।
यो मलको उत्पादन र बिक्रीवितरणमा तपाइँहरुले देख्नुभएको चुनौती चाहिँ के हो ?
यो मल फोहोरबाट उत्पादन हुने भएकोले फोहोर संकलन सबैभन्दा मुख्य चुनौती हो । सर्वसाधारणलाई कुन फोहोर कसरी संकलन गर्ने भन्ने बुझाउन सबैभन्दा गाह्रो हुन्छ ।
भक्तपुरमा पहिलोपटक यो प्रविधिको प्रयोग गर्दा हामीलाई यस्तो बानी पार्न निकै गाह्रो भएको थियो । जापानी प्रशिक्षकले महिनौं लगाएर यहाँका जनतामा यस्तो बानी पार्नुभएको हो ।
अर्को मुख्य समस्या चाहिँ रासायनिक मल प्रयोग गरिरहेका नागरिकमा यो मलको प्रयोग गर्न कन्भिन्स गर्नु हो । रासायनिक मलले तत्कालै प्रतिक्रिया दिन्छ । तर, हाम्रो मलले राम्रो प्रभाव पार्न समय लाग्छ । त्यसैले मानिसहरु त्यो प्रविधिबाट यो प्रविधिमा आउन हिच्किचाउन सक्छन् ।
अर्को चाहिँ हाम्रो मलले राम्रो प्रतिफल दिन्छ भन्ने विश्वास दिलाउन समेत हामीले धेरै काम गर्नुपर्ने आवश्यकता छ । तर, यसलाई हामीले चुनौती मात्रै होइन हाम्रो लागि एउटा अवसरको रुपमा समेत लिएका छौं ।


पेशल आचार्य
शंकर अर्याल
