काठमाडौं । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्डक पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले बताए । लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौँलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन् भने काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तीज मनाउन गाउँ फर्किएका पनि सडक अवरुद्ध हुँदा समस्यामा छन् ।
उता दाङमा अविरल वर्षाका कारण विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । यसैक्रममा तुलसीपुर–कपुरकोट सडक अवरुद्ध राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानखण्ड अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षात्ले तुलसीपुर–कपुरकोट सडक अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर–३ राम्रीमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । अविरल वर्षाका कारण पहिरो खस्दा म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिम म्याग्दीका तीन गाउँपालिका र बागुलङका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
कालीगण्डकी करिडोर अवरुद्ध
कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डको तीन ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो, बुलिङटार गाउँपालिका–१ मते डाँडा र गैँडाकोट नगरपालिका–३ हिउँदे खोलमा लेदो माटोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।


