काठमाडौं । दशैं सुरु हुन केही दिन मात्र बाँकी हुँदा खाने तेलको मूल्यमा अस्वभाविक वृद्धि भएको छ । पछिल्लो एक–डेढ साताको बिचमा खानेतेलको मूल्य प्रतिलिटर २० रुपैयाँका दरले थोकमै वृद्धि भएको हो ।
यो मूल्य खुद्रामा पुग्दा अझै बढेको र यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तामा परेको छ । उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारबाही अघि बढाएको छैन ।
पछिल्लो समयमा खानेतेलको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको र केही तेल उत्पादक उद्योगसँग यस विषयमा सोधपुछ गर्ने काम पनि भइरहेको बताएको छ ।
यता उद्योगीहरू भने अन्तर्राष्ट्रिय बजारमा कच्चा सामग्रीको मूल्य बढेकाले खानेतेलको मूल्य बढाउनुपरेको तर्क गर्दै आएका छन् । उद्योगीहरूले पाम र भटमास तेलको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि नभएको दाबी गरेका छन् ।
नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घले पछिल्लो एक/डेढ साताको बिचमा खानेतेलको मूल्य थोकमै प्रतिलिटर २० रुपैयाँले बढेको जानकारी दिएकाे छ । उद्योगबाटै सिधै थोकमा आउँदा मूल्यवृद्धि भएर आएको र त्यही अनुसार वृद्धि गरेर बेचेकाे संघले जनाएकाे छ ।
सङ्घका अनुसार पछिल्ला केही दिनदेखि सबैखाले खानेतेलको मूल्य प्रतिकार्टोन दुई सय रुपैयाँ र प्रतिलिटरमा २० रुपैयाँले बढेर बजारमा आएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार खानेतेलको मूल्य उपभोक्तासम्म पुग्दा ३० रुपैयाँसम्म महँगो भएको छ । खुद्रा व्यापारीका अनुसार थोक व्यापारीले प्रतिकार्टोन खानेतेलमा दुई सयदेखि तीन सय रुपैयाँसम्म मूल्यवृद्धि गरेका छन् ।
सङ्घका अनुसार मूल्यवृद्धि भएपछि हाल सूर्यमुखी तेलको मूल्य प्रतिकार्टोन दुई हजार दुई सय रुपैयाँदेखि दुई हजार चार सय रुपैयाँसम्म र भटमास तेलको मूल्य पनि प्रतिकार्टोन दुई हजार तीन सय रुपैयाँ थोकमा पुगेको छ । तोरीको तेलमा प्रतिकार्टोन तीन सय रुपैयाँ बढेर दुई हजार आठ सय रुपैयाँबाट तीन हजार रुपैयाँ पुगेको छ ।
गएको दुई वर्षयता खानेतेलको मूल्य सस्तो भएको थियो । त्यतिबेला कच्चा सामग्रीको मूल्य घटेका कारण देखाउँदै उद्योगीले मूल्य घटाएका थिए ।


