काठमाडौं । शरद् ऋतुमा हिमाल चढ्नका लागि ५१० जना पर्वतारोहीहरुले अनुमति लिएका छन् । पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म २४ वटा हिमाल आरोहणका लागि ६१ टोलीले अनुमति लिएका हुन् ।
अनुमति लिनेमध्ये ३९७ जना पुरुष र ११३ जना महिला रहेको विभागको तथ्यांकमा जनाइएको छ ।
यस शरदमा मनास्लु हिमालको आरोहणका लागि सर्वाधिक ३०८ जनाले अनुमति लिएका छन् । त्यसमध्ये, २२६ जना पुरुष र ८२ जना महिला रहेको विभागले जनाएको छ । हिम्लुङ हिमाल आरोहणका लागि २३ पुरुष र ७ महिलासहित ३० जनाले अनुमति लिएका छन् । त्यस्तै, धवलागिरी हिमश्रृङ्खला अन्तर्गतको पुथा हिउचुली आरोहणका लागि २० पुरुष र ८ महिलासहित २८ जनाले अनुमति लिएका छन् ।
त्यस्तै, थोरोङ पिकका लागि २४ जना, आमा दब्लमका लागि १८ जना, धौलागिरी ‘क’ का लागि १४ जना, वरुण त्सेका लागि १२ जना र कुम्भकर्ण हिमाल आरोहणका लागि १० जनाले अनुमति लिएका छन् । अन्य हिमाल आरोहणका लागि अनुमति लिनेको संख्या भने १० भन्दा कम रहेको छ ।
हिमाल आरोहण गर्नेहरुबाट ४ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यसमध्ये मनास्लु हिमालका आरोहीबाट सर्वाधिक ३ करोड ७१ लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।



