images
images

सर्लाहीमा निर्माणाधीन सबस्टेसन अन्तिम चरणमा, ४६ करोड लागत


  • 291
    SHARES
  • २०७८ आश्विन ३१ गते आइतबार

    सर्लाहीमा निर्माणाधीन सबस्टेसन अन्तिम चरणमा, ४६ करोड लागत

    सर्लाही । जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेसन निर्माण अन्तिम चरणमा पुगेकोे छ । लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२/३३ केभीए प्रसारण लाइनका लागि सबस्टेशनको निर्माण जारी छ  । 

    जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले करिब ४६ करोड ३६ लाख रुपैयाँको लागतमा सो सबस्टेशन बनाएको हो । आर्थिक वर्ष २०७५/७६ देखि यसको निर्माण सुरु भएकोे हो  । सबस्टेसनका प्रमुख निरन्जन साहले लकडाउनका कारण समयमै निर्माण सम्पन्न गर्न सक्ने अवस्था नदेखिएको भए पनि चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिए । अबको एक महिनामा निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले काम गरिरहेको उनले बताए ।  
     
    सबस्टेसन निर्माण सम्पन्न भएपछि हरिपुर, मलङ्गवाका सबस्टेसनमा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युत्सम्बन्धी समस्या समाधान हुने प्रमुख साहले जानकारी दिए । जिल्लामा रहेका तीन सबस्टेसन ३३/११ केभिएका मात्र  रहेका कारण विद्युत्सम्बन्धी समस्या आएको थियो । अब यो सबस्टेसन बनेपछि त्यो समस्या समाधान हुने विश्वास लिइएको छ ।

    अहिले जिल्लामा रहेका तीनवटा सबस्टेसनले धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सबस्टेसनबाट विद्युत् ल्याउनु परिरहेको छ । अब नवलपुरको सबस्टेसन निर्माण सम्पन्न भएपछि लालबन्दी र हरिवनका लागि नवलपुरबाट सिधै र हरिपुर र मलङ्गवाका सबस्टेसनबाट सेवा सञ्चालन हुनेछ ।

    बाहिरबाट ल्याएको विद्युत्ले जिल्लाको आपूर्ति थाम्न नसकेको कार्यालय प्रमुख साहले बताए । सो क्षेत्रबाट विद्युत् ल्याउँदा जङ्गल क्षेत्र भएका कारण पनि सामान्य समस्या आएमा विद्युत् घण्टौँ अवरुद्ध हुने गरेको समस्यालाई दृष्टिगत गर्दै जिल्लामै सबस्टेसन निर्माण भइरहेको उनको भनाइ छ ।

    निर्माण सम्पन्न भएपछि ढल्केवर ग्रिड शाखाबाट सेवा सञ्चालन हुनेछ । साथै हरिपुर र मलङ्गवा सबस्टेसनलाई नलपुरले लाइन दिने र लालबन्दी तथा हरिवनका लागि नवलपुर आफैँले सेवा विस्तार गरिनेछ  ।

    आर्थिक वर्ष २०७८÷७९ भित्र निर्माण सम्पन्न गर्ने गरी पावाटेक वाइवा (जेभी) निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको थियो । जिल्लामा केन्द्रीय प्रसारण लाइनको पहुँच पु¥याउनका लागि सबस्टेसन निर्माणको काम गरिएको र अबको करिब एक महिनमा निर्माण सम्पन्न हुने निर्माण कम्पनीका प्रतिनिधि एचपी लामाले बताए । सामान्य काम बाँकी रहेको र अबको करिब एक महिनामा सम्पूर्ण निर्माणको काम सम्पन्न हुनेछ ।

    नवलपुरमा रहेको सबस्टेसनमा १३२/३३ को ६३ एमभीए र ३३÷११ को १६ एमभीएका गरी दुईवटा ट्रान्सफर्मरबाट जिल्लाको विद्युत् आपूर्ति परिपूर्ति हुने निर्माण कम्पनीले जनाएको छ । अहिले जिल्लामा ३३÷११ केभीएका क्षमता रहेका सबस्टेसन छन् ।  अहिले जिल्लाको विद्युत् भार थेग्न नसकिरहेको सबस्टेसनका प्रमुख साहले बताए । 

    जिल्लामा उद्योगधन्दा तथा कलकारखानाहरु दिन प्रतिदिन खुल्ने क्रम बढेपछि विद्युत् क्षमता विस्तारको अवस्थालाई दृष्टिगत गर्दै जिल्लामा विशेष क्षमताको सबस्टेसन निर्माणको काम भइरहेकोे विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले जनाएको छ ।


    images

    Logo