images
images

सिन्धुलीमा मल कारखाना स्थापना गर्न केयूले थाल्याे स्थलगत अध्ययन


  • 429
    SHARES
  • २०८१ मंसिर ११ गते मंगलबार

    सिन्धुलीमा मल कारखाना स्थापना गर्न केयूले थाल्याे स्थलगत अध्ययन

    काठमाडौं । सिन्धुलीमा रसायनिक मल कारखाना स्थापनाका लागि स्थलगत अध्ययन थालिएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको पहलमा काठमाडौं विश्वविद्यालय (केयू) को प्राविधिकटोलिले वार्षिक दुई लाख टन क्षमताको रसायनिक मल कारखाना स्थापनाका लागि अध्ययन थालेको हो ।

    गत भदौमा भएको सम्झौता अनुसार केयुले साेमबारबाट फिल्डमै आएर पूर्वसम्भाव्यता अध्ययन थालेको छ । गाउँपालिकामा रासायनिक मल कारखाना स्थापनाका लागि अति आवश्यक पर्ने कच्चा पदार्थहरू (हाइड्रोजन,नाइट्रोजन र कार्बन डाइअक्साइड) को उपलब्धताका विषयमा केयूले अध्ययन थालेको हो ।

    केयुका ग्रीन हाईड्रोजन ल्यावका टिम लिडर प्रो.डा. विराज सिङ्ग थापा, डा. राम लामा, ई.लक्ष्मण लामा, ई.मानस घिसिङ, ई.अभिषेक खतिवडा लगायतको टोलीले हरिहरपुरगढी गाउँपालिका ३ गुर्जीमा इलेक्ट्रोलाईसिस प्रविधिमा आधारित रसायनिक मल कारखाना स्थापनाका लागि पूर्वसम्भाव्यता अध्ययन थालिएको हो ।

    उक्त टोलिका साथमा बागमती प्रदेश सभा सदस्य शुष्पा भुजेल न्यौपाने, गाउँपालिका अध्यक्ष वाइबा, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पैकरा, नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महासंघका केन्द्रीय सदस्य मोहनलाल तामाङ,गाउँपालिकाका निवर्तमान उपाध्यक्ष अनिता कुमारी राई, महाचाड ईन्टरनेशनलका प्रतिनिधि राकेश महर्जन सहितले स्थलगत अनुगमन गरेका छन् । 

    सिन्धुलीमा मल कारखाना स्थापना गर्न स्थलगत अध्ययन थालियो

    कारखाना स्थापनाका लागि गाउँपालिकाले जग्गा, बिजुली र पानी उपलब्ध गराउने छ । उद्योग स्थापनाका लागि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित बागमती नदी किनारको ३ सय ८६ बिघा जग्गासमेत छनोट गर्ने कार्य सम्पन्न भइसकेको छ । 

    केयूले गाउँपालिकामा प्राविधिक र आर्थिक रूपमा रासायनिक मल कारखाना स्थापनाको उपयुक्तताबारे विस्तृत अध्ययने गर्ने छ । जसका लागि ३ महिनाभित्र केयूले रसायनिक मल कारखाना स्थापनासम्बन्धी पूर्वसम्भव्यता अध्ययन प्रतिवेदन तयार पार्नुपर्नेछ ।

    उक्त अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्डले समेत स्वीकृत जनाएको छ । वार्षिक दुई लाख टन क्षमताको रसायनिक मल कारखाना स्थापनाका लागि थाइल्यान्डको एक निजी कम्पनीले लगानी गर्ने प्रतिबद्धता जनाएको समेत गाउँपालिकाले जनाएकाे छ । 

    सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा रसायनिक मल कारखाना स्थापनाका लागि बागमती सरकारको मन्त्रिपरिषदबाट समेत निर्णय भएको छ । २०७९ चैत्रमा तत्कालिन मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले मन्त्रीपरिषदबाट उक्त निर्णय गर्दै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिन्धुलीमा निर्माणाधीन रासायनिक मल कारखानाको फाइल हस्तान्तरण गरेका थिए ।

    हरेक वर्ष सिजनमै मल अभाव भएपछि त्यसको समाधानका लागि सरकारले स्वदेशमै कारखाना स्थापना गर्ने तयारी गरेको हो। नेपालमा प्राकृतिक ग्यास प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि सुरु लगानी १ खर्ब ३ अर्ब रुपैयाँ लाग्ने विभिन्न अध्ययनहरुले जनाएका छन् । अध्ययनका क्रममा प्राकृतिक ग्यासबाहेक वाटर इलेक्ट्रोसिस प्रविधि र थर्मोकोल प्रविधिमा आधारित रासायनिक मल कारखाना पनि विकल्प हुन सक्ने र त्यसका लागी १ खर्ब ८९ अर्ब रुपैयाँ लाग्ने बताइएको छ ।

    नेपालमा वार्षिक करिब ८ लाख टन मलको माग हुने गरेको छ । तर वार्षिक औसतमा आधा पनि आपूर्ति हुन सकेको छैन । स्वदेशमै कारखाना स्थापना भए किसानले समयमा मल पाउनुका साथै वार्षिक करिब १६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा प्रयोग गरेर रासायनिक मल आयात गर्नुपर्ने बाध्यता अन्त्य हुने बताइन्छ । 


    images

    Logo