काठमाडौं । विभिन्न व्यवसायिक घरानाहरुले पछिल्लो वर्षमा आफ्नो लगानीलाई विविधीकरण गर्दै गएका छन् । मोबाइल व्यवसायमा स्थापित आईएमएस ग्रूपले आफ्नो लगानीलाई विविधीकरण गर्दै कृषि, पर्यटन, जलविद्युत क्षेत्रसम्म विस्तार गरेको छ ।
आईएमएस ग्रूपले अबको साढे २ वर्षमा तयार हुने गरी होटल सहन्सा निर्माण कार्य अघि बढाएको छ भने तीन वटा जलविद्युत आयोजना र देशलाई आत्म निर्भर बनाउन कृषिमा लगानी गर्न शुरु गरिसकेको छ । देशको भविष्य र अर्थतन्त्र निर्माणको मूल आधार यी तीन क्षेत्र भएकाले यसमा लगानी गर्ने उद्देश्य सहित अगाडि बढेको आईएमएस ग्रूपका अध्यक्ष दीपक मलहोत्राले बताए ।
‘पर्यटन क्षेत्रमा हामीले होटलमा लगानी गर्न शुरु गरिसकेका छौं,’ उनले भने ‘होटल शहन्शा इन्टरनेशनल अबको २ वर्षमा तयार हुन्छ ।’ बसुन्धराको शहन्शा होटल ५ तारे बन्दैछ । होटलमा १ सय १५ वटा कोठाहरू रहने छन् । उक्त होटलमा साढे २ अर्ब लगानी लाग्ने अनुमान ग्रूपले गरेको छ । पहिला उक्त होटललाई डिलक्स रिसार्ट होटलको रुपमा लिइन्छ ।
‘कोरोनका कारणले अहिले पर्यटनको क्षेत्रमा त्यति सम्भावना नभएपनि २०२२ देखि राम्रो हुन्छ, १ वर्षमा पर्यटन क्षेत्र पनि सुध्रिन्छ । होटल बन्न अझै २ वर्ष लाग्छ । कोरोनाको औषधि पनि बन्दैछ । त्यसपछि हामी सामान्य अवस्थामा फर्कने छौं । खोपले पनि मानिसको आत्मबल बढाएको छ,’ उनले भने ।
आईएमएस ग्रूपले हाइड्रोपावरको तीन परियोजनामा लगानी अघि बढाइसकेको छ । ३४१ मेगावाटको बुढी गण्डकी, १४ मेगावाटको मिदुङ खोला र २८२ मेगावाटको ठूली भेरीमा ग्रूपको लगानी रहने छ । हाइड्रोपावरमा भने आईएमएस ग्रूपको मात्र लगानी नभइ विदेशी लगानी पनि रहने छ । ठूला दुई परियोजनामा चाइनिज लगानी आउँदैछ भने १४ मेगावाटको मिदुङ खोलामा आईएमएस ग्रूपको मात्रै लगानी रहने छ ।
ठूलो प्रोजेक्टमा चाइनीजको धेरै लगानी हुने अध्यक्ष मलहोत्राले जानकारी दिए । दुई परियोजनामध्ये एउटा प्रोजेक्टमा लगानी सम्झौता पनि भइसकेको छ भने अर्कोमा सम्झौता हुने क्रममा रहेको छ ।
कृषि आईएमएस ग्रूपको पछिल्लो महत्वपूर्ण परियोजना हो । यो प्रोजेक्टको पनि काम शुरु भइसकेको छ । ‘सुनसरीमा हामीले कृषि परियोजना शुरु नै गरिसक्यौ,’ उनले भने ‘पूर्वतिर पनि जाँदैछौ । सुनसरीमा २५ विगाहमा कागती र मेवा खेती गरेका छौं । स्टोवेरी खेती गरिसकेका छौं । मलेशियन साल (रुख) को खेती गरेका छौं । वाटरमेलन पनि शुरु भइसकेको अवस्था छ ।’
पश्चिम तिर पनि ग्रूपले आफ्नो कृषि परियोजना अघि बढाएको छ । मनाङमा स्याउ रोप्नका लागि जग्गा लिइसकेका छ । ‘मनाङमा ५ सय रोपनी जग्गामा स्याउ र ओखर खेती शुरु गर्दैछौ,’ उनले भने ‘म आफै मनाङ पुगेर आएको हुँ । माष्टर प्लान्ट तयार भएको छ । हाम्रो माष्टर प्लानमा ४ देखि ५ अर्ब लगानी गर्ने योजना बनेको छ । यो बैंकको ऋणसहितको लगानी हो ।’
ग्रूपले किसानहरूलाई प्रोत्साहन गर्ने गरी कृषिको माष्टर प्लान तयार पारेको छ । किसानहरूले लगाएका खाद्यान्न, तरकारी, फलफूल सबै ग्रूपले खरिद गर्ने योजना तयार भएको छ । किसानको लागि मल, बिउ तथा अन्य आवश्यक कृषि उपकरण समेत किनिदिएर उनीहरूले गरेका उत्पादन खरिद गर्ने तयारीका साथ कृषि क्षेत्रमा लगानी गर्न अघि बढेको मलहोत्राले जानकारी दिए ।
‘विदेशिएका नेपालीलाई २५/३० हजार रुपैयाँ नेपालमै बसेर कमाउने वातावरण सिर्जना गर्ने हाम्रो उद्देश्य हो,’ उनी भन्छन् ‘भविष्य पनि कृषिमै छ । त्यसैले आयात प्रतिस्थापन गर्न सक्ने गरी उत्पादनदेखि प्रशोधन तथा बजारीकरणसम्मका काम गर्न लागिएको हो ।’
शुरुको फेजमा विदेशबाट भित्र्ने कृषि उपजलाई मात्र प्रतिस्थापन गर्न सके पनि ठूलो उपलब्धि हुनेछ । त्यसपछि हामी निर्यातको पाटोमा सोचौंला । अहिले विदेशबाट भित्र्ने रेमिट्यान्स बाहेक विदेशी मुद्रा भित्र्ने अन्य बाटो छैन ।
उनका अनुसार कृषिजन्य वस्तु खरिदका लागि पनि नेपालबाट ठूलो पैसा बाहिर गहिरहेको छ । त्यसलाई रोक्न सकियो भने पनि धेरै ठूलो उपलब्धि मान्नुपर्छ ।
‘दोस्रो फेजमा कृषिलाई आधुनिकीकरण गर्न त्यहि अनुसारको प्रविधि भित्र्याउने माष्टर प्लान बनेको छ । यो खालको कृषिको गर्न सकेको खण्डमा हामीले देशलाई आत्मनिर्भर बनाएर निर्यात समेत गर्न सक्छौं । त्यसमा सरकारको पनि साथ र सहयोगको आवश्यकता पर्दछ । खासगरी कृषि पूर्वाधारको क्षेत्रमा सरकारको साथ र सहयोग पर्ने हुन सक्छ । संसारमा कोरोनको महामारी चलिरहेको छ हाम्रो देशमा कुर्सीको लडाइ चलिरहेको छ । समस्या छ । हेर्दै जाउ के के हुन्छ,’ उनले थपे ।
ग्रूपले गर्ने भनेको लगानीबाट जग्गा खरिददेखि चिस्यान गृह (कोल्ड स्टोर) समेत त्यहि बजेटबाट तयार गर्न लागिएको हो । किसानहरूलाई उन्नत बिउबिजनदेखि तालिमसम्मका कुरा यहि लगानीबाट गर्ने हो । यो लगानी आईएमएस ग्रूपअन्तर्गत स्थापना भएको ‘आईएमएस एग्रो’ कम्पनीले गर्ने अध्यक्ष मलहोत्राले बताए ।
मेरो चाहना अरु पनि औद्योगिक घराना यस योजनामा आइदिए हुन्थ्यो भन्ने मेरो हो । चार/पाँच वटा औद्योगिक घरानासँग कुरा अघि पनि बढेको छ । पहिलो चरण १८/२० करोड रुपैयाँ लगानी गर्ने हो ।
कृषकहरूलाई प्रोत्साहन गरेर बाझो जग्गामा खेती गर्ने वातावरण तयार पार्न ग्रूपले लागिपरेको हो । ‘तत्काल १ लाखलाई रोजगारी सिर्जना गर्ने सकियो भने पनि ठूलो उपलब्धी मान्छौ,’ उनले थपे ‘७७ जिल्लामा भन्दा सातै प्रदेशको अधिकांश ठाउँमा हामी जान्छौ । मलाई लाग्छ यसरी अघि बढ्न अझै ४/५ वर्ष लाग्छ ।’
आईएमएस ग्रूपले गत वर्ष कोरोना महामारीको बेला देशमा माक्सको हाहाकार हुँदा माक्स उत्पादन गरेर बजारमा पठाएको थियो ।