images
images

सिद्धबाबाको सुरुङमार्ग माघ ११ गते 'ब्रेक थ्रु' गर्ने तयारी, दुई वर्षमा गाडी चल्ने


  • 415
    SHARES
  • २०८१ माघ २ गते बुधबार

    सिद्धबाबाको सुरुङमार्ग माघ ११ गते 'ब्रेक थ्रु' गर्ने तयारी, दुई वर्षमा गाडी चल्ने

    काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबामा निर्माण भइरहेको सुरुङमार्ग यही माघको ११ गते छिचोल्ने तयारी भएको छ । यसअघि माघ ८ गते सुरुङ छिचोल्ने गरी तयारी भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण ११ गतेलाई सरेको हो ।

    प्रधानमन्त्री ओलीले पूजा गरेपछि आयोजनाको मूख्य सुरुङ छिचोलिनेछ । सिद्धबाबाको मुख्य सुरुङ छिचोल्ने काम लगभग सकिएको छ, अब दुई मिटर मात्रै बाँकी छ । अलि छिटै नै सुरुङ छिचोल्ने तयारी भए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण ११ गते पुर्‍याइएको आयोजनाले जनाएकाे छ ।

    यो आयोजनाअन्तर्गत दुई लेनको मुख्य सुरुङमार्गको लम्बाई ११ सय २६ मिटर र चौडाई साढे १० मिटर रहेको छ । उद्धार सुरुङका रूपमा चिनिएका तीन वटै बाइपास सुरुङ यसअघि नै छिचोलिएका छन् । मुख्य सुरुङ छिचोल्ने काम सकिए पनि अरू थुप्रै काम बाँकी रहने हुनाले यो ठेक्काको म्याद २०८३ सालको चैत ८ गतेसम्म रहेको छ ।

    अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति ३९ प्रतिशत रहेको छ । अबको दुई वर्षपछि गाडी सञ्चालन गर्नेगरी काम भइरहेको आयोजनाले जनाएकाे छ । सिद्धबाबा क्षेत्रमा बर्खा र हिउँद दुवै सिजनमा पहिरो खसेर सडक अवरुद्ध हुने तथा दुर्घटना बढिरहने भएपछि यो समस्या समाधानको लागि सरकारले सुरुङमार्ग निर्माण गरिरहेको छ ।

    पाल्पाको तिनाउ गाउँपालिका– ३ दोभान क्षेत्रमा यो सुरुङमार्ग बनिरहेको छ । सात अर्ब ३९ करोड रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले सिद्धबाबा सुरुङमार्गको ठेक्का पाएको थियो । सिद्धबाबा सुरुङमार्गले पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रमा आउजाउ गर्ने गाडीलाई राहत मिल्नेछ ।


    images

    Logo