images
images

प्रधानमन्त्री ओलीद्वारा बालुवाटारबाटै सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल 'ब्रेक थ्रु'


  • 504
    SHARES
  • २०८१ माघ ११ गते शुक्रबार

    प्रधानमन्त्री ओलीद्वारा बालुवाटारबाटै सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल 'ब्रेक थ्रु'

    काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज छिचोलिएकाे (ब्रेक थ्रु) भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ दोभान नजिकै आयोजनाको बेस क्याम्पमा औपचारिक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै भर्चुअल माध्यमबाट सम्बोधन गरेपछि ‘ब्रेक थ्रु’ भएको हो ।

    प्रधानमन्त्रीको सम्बोधनपछि ‘ब्रेक थ्रु’ उत्सवका लागि खन्न बाँकी राखिएको १.८ मिटर भागमा प्राविधिकले ब्लास्ट (विष्फोट) गराएर छिचोलेको थियो । दक्षिणतर्फ सिद्धबाबा मन्दिर र उत्तरतर्फ तिनाउ जलविद्युत आयोजनाको हेडवर्क्सतिरबाट खनिँदै आएको सुरुङ छिचोलिएको छ ।

    प्रधानमन्त्री ओली स्थलगतरूपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरूपमा उपस्थित भएका हुन् ।

    भर्चुअल सम्बोधनमा उनले वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको बताए ।

    प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिइ आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना दिए ।

    यसअघि थानकोट-नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रु भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताए ।

    कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी थिए ।

    याे पनि हेर्नुहाेस् :


    images
    images

    Logo