images
images

चीन र भारत जोड्दै तमोर करिडोर, फागुनसम्ममा ट्र्याक खुल्ने


  • 390
    SHARES
  • २०७८ कार्तिक २८ गते आइतबार

    चीन र भारत जोड्दै तमोर करिडोर, फागुनसम्ममा ट्र्याक खुल्ने

    ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन तमोर करिडोरले छिमेकी देश चीन र भारतलाई जोड्ने भएको छ । राष्ट्रिय गौरवको सडक आयोजनाका रूपमा रहेको निर्माणाधीन यस करिडोरले आगामी फागुन मसान्तसम्ममा चीन जोड्ने भएको हो । 

    तमोर करिडोरको अन्तिम ट्र्याक (मार्ग) खोल्ने कार्य हाल जारी छ । अब ट्र्याक निर्माण हुन बाँकी रहेको तीन किलोमिटर दूरी सम्पन्न भएमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलालाई करिडोरले जोड्नेछ । ट्र्याकले ओलाङ्चुङगोला जोड्नासाथ यसअघि स्थानीयको पहलमा निर्माण गरिएको टिपताला–ओलाङ्चुङगोला सडकमा तमोर कोरिडोर जोडिनेछ । 

    चीन र नेपालको उत्तरी सीमानाका टिपतालासम्म ट्रयाक जोडिनेबित्तिकै तमोर करिडोरमार्फत भारत र चीनलाई सडक सञ्जालले जोड्नेछ । यसरी भारत र चीनलाई सडक सञ्जालले जोड्ने निर्माणाधीन तमोर करिडोरको कार्य हाल निरन्तर भइरहेको निर्माण कम्पनीले जनाएको छ । करिडोरको ट्र्याक निर्माणकार्य भइरहेको र अहिले जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला क्षेत्र प्रवेश गरिसकेको एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए । 

    आगामी फागुन मसान्तअगावै चीनसँग सडक जोड्ने लक्ष्यका साथ हाल काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि लामिछानेले बताए । टिपताला नाकादेखि ओलाङ्चुङगोला बस्ती हुँदै गैरीपाटीसम्म ३५ किलोमिटर ट्र्याक दुई वर्षअघि नै निर्माण गरिएको छ । 

    ओलाङ्चुङगोलावासीको सक्रियतामा जम्मा भएको बजेट लगानी गरेर तिब्बतको निर्माण कम्पनीमार्फत नाकादेखि गैरीपाटीसम्म सडक निर्माण गरिएको हो । यता, तमोर करिडोरअन्तर्गत सुनसरीको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथरको क्षेत्र हुँदै ताप्लेजुङको ओलाङ्चुङगोला सुकेपानीसम्म हाल ट्र्याक खुलिसकेको छ ।


    images

    Logo