images
images

भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिका आफैंले निर्माण गर्ने


  • 317
    SHARES
  • २०८१ फाल्गुण १५ गते बिहीबार

    भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिका आफैंले निर्माण गर्ने

    भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक अब चाँगुनारायण नगरपालिका आफैंले स्तरोन्नति गर्ने भएको छ । आउँदो वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष, २०८२ लाई लक्षित गर्दै नगरपालिकाले भक्तपुर–नगरकोट सडक आफैले स्तरोन्नति गर्ने गरी बोलपत्र आह्वान गरेको छ ।

    एक्जिम बैंक इण्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने गरी २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण सम्झौता भएको थियो । रु २७ करोडमा ठेक्का सम्झौता गरी ११ वर्षमा १०आँै पटक म्याद थप गरेर लागत बढाउँदै ३१ करोड पुग्दा पनि सडक निर्माण हुन सकेको थिएन । काम नभएपछि गत पुस अन्तिम साता सडक सुधार तथा विकास परियोजना निर्देशनालयले उक्त सडकको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । 

    भ्रमण वर्ष अगाडि सडकको काम नहुने अवस्था आएपछि नगरपालिकाकै आन्तरिक स्रोतबाट स्तरोन्नति गर्नेगरी बोलपत्र आह्वान गरेको हो । नगरप्रमुख जीवन खत्रीले भने, “चाँगुनारायण नगरपालिकाले आयोजना गर्ने नगरकोट भ्रमण वर्ष नगरकोटको मात्रै नभई सिङ्गो देशको महोत्सव हो, यहीँ सडकका कारणले महोत्सवमा समस्या आउन दिनुहुँदैन । मैले जनतासँग प्रतिबद्धता गरेको छु, त्यो प्रतिबद्धता पूरा गर्दै भ्रमण वर्ष सफल पार्न नगरपालिकाले नै सडक स्तरोन्नति गर्न ठेक्का आह्वान गरेको हो ।”

    केन्द्रीय सरकारको यो सडक पुनः स्तरोन्नति गर्न यसवर्ष बजेट नभएको र प्रक्रियामा जाँदा प्रक्रिया पूरा गर्ने लामो समय लाग्ने भएपछि नगरपालिका आफैं सक्रिय भएको उनले बताए ।

    नगरप्रमुख खत्रीले भने, “सम्बन्धित मन्त्रालयसँग र सडक विभागसँग हाम्रो कुरा भएको छ । नगरकोट आउने पर्यटकलाई सहज हुने गरी खाल्डो पुर्ने र सडकको स्तरोन्नति गरेर कालोपत्र गर्छौँ । सडकको पेटी बनाउने, ड्रेन बनाउने र बाँकी अरु काम केन्द्रीय सरकारले गर्नेगरी छलफल भएको छ । त्यसैले कालोपत्रका लागि ठेक्का आह्वान गरेका हाँै ।”

    भक्तपुर नगरकोट सडकका नगरपालिकातर्फका सवइञ्जिनयर सनिश वनमालाले ठेक्का सम्झौता गरी बैशाखदेखि सडकका स्तरोन्नति सुरु हुने बताए । भत्केकोपाटीदेखि नगरकोटसम्म १५ किलोमिटर लामो सडक कालोपत्रको काम सम्झौता लगत्तै तीव्र गतिमा अघि बढाइने उनले बताए ।


    images

    Logo