images
images

बलेवा-मालढुङ्गा सडक स्तरोन्नति गरिँदै


  • 316
    SHARES
  • २०८२ बैशाख २१ गते आइतबार

    बलेवा-मालढुङ्गा सडक स्तरोन्नति गरिँदै
    ढोरपाटन (बागलुङ) । एकवर्ष अगाडि सम्पन्न हुनुपर्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बलेवा(मालढुङ्गा खण्डको कामले अहिले गति लिएको छ । गत मङ्सिरमा सक्नुपर्ने उक्त खण्डको काम बजेट अभावका कारण रोकेको थियो । 
     
    स्तरोन्नतिसहित कालोपत्रका लागि रु ५४ करोड लागतमा निर्माण थालिएको उक्त खण्डको हालसम्म ५० प्रतिशत काम सकिएको छ । अहिले सडक फराकिलो बनाउने, नाली निर्माणलगायत काम अन्तिम चरणमा पुगेको बलेवा–मालढुङ्गा खण्डका इञ्जिनीयर उत्वस बस्यालले जानकारी दिए। 
     
    उनका अनुसार विसं २०७९ मङ्सिर २६ गते सम्झौता गरेर खड्कारकृष्णरबिएन जेभीले जिम्मा लिएको थियो । गत मङ्सिंर २९ गते सकिनुपर्ने काम लामो समय रोकिएपछि एक वर्षका लागि म्याद थप गरिएको इञ्जिनीयर बस्यालले बताए । निर्माण कम्पनीले आगामी मङ्सिर २४ सक्ने गरी निर्माणलाई तीव्रता दिएको उनको भनाइ छ । 
     
    इञ्जिनीयर बस्यालले भने, “निर्माण कम्पनीले अहिले धमाधम काम गरेको छ, बलेवाबाट मालढुङ्गा खण्डको धेरै ठाउँमा कामदार लगाएर कालोपत्र गर्नेगरी तयारी भइरहेको छ, बर्खा अगाडि चार कलिोमिटर कालोपत्र सक्ने गरी काम भइरहेको छ । निर्माण कम्पनीले यही गतिमा काम ग¥यो भने र बर्खामा ठूलो समस्या भएन भने मङ्सिरमा काम सकिन्छ ।”
     
    कोरिडोरको बागलुङ खण्डमा ३४ किलोमिटर सडक पर्दछ । त्यसमध्ये हालसम्म १० किमी सडक मात्रै कालोपत्र गरिएको बस्यालले जानकारी दिए । उनका अनुसार गुल्मी र बागलुङको सिमाना पालुङखोलाबाट बलेवासम्म पहिलो र बलेवाबाट मालढुङ्गासम्म दोस्रो गरी दुई खण्डमा ठेक्का लगाएर काम भइरहेको छ । ट्र्याक खुलेको लामो समयपछि सडक कालोपत्र हुन थालेपछि यात्रुलाई सहज हुने भएको छ ।
     
    सवारी चालक यमन थापाले साँघुरो र अप्ठ्यारो सडकका कारण जोखिम मोलेर वर्षौंदेखि यात्रा गर्दै आएको भन्दै अहिले सडक फराकिलो बन्दै गएपछि सहज भएको बताए । अहिले बलेवाबाट मालढुङ्गासम्म सडक फराकिलो र सजिलो भएको उनको भनाइ छ ।
     
    “यो सडक खुलेको धेरै वर्षपछि अहिले स्तरोन्नतिपछि यात्रा सजिलो भएको छ, पहिले गाडीको पट्टा भाँचिने, हिलोमा अड्किने र यात्रु बीचबाटोमा अलपत्र पर्ने स्थिति थियो । अहिले धेरै राम्रो भएको छ”, थापाले भने, “यो सडक कालोपत्र भयो भने बुटवल जान पोखरा पुग्नुपर्ने बाध्यता अन्त्य हुन्छ । यहाँबाट छोटो समयमा भैरहवा, बुटवल र सुनौली पुग्न सकिन्छ ।”
     
    नवलपुरको गैँडाकोटबाट कोराला नाकासम्म चार सय ९५ किमी रहेको कोरिडोर बागलुङको मालढुङ्गा क्षेत्रमा दुई सय ४० किमी पर्दछ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरवाह र भारतसम्म पुग्ने यात्रा छोट्याइदिएको स्थानीय बताउँछन् ।


    images

    Logo