images
images

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी जारी


  • 382
    SHARES
  • २०८२ बैशाख ३० गते मंगलबार

    आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी जारी

    काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण आएको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध भएको छ । रोशी खोलाको बाढीले सोमबार राति बिपी राजमार्गको माप्तीस्थित डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको हो। 

    अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार बाढीले रोशी गाउँपालिका–१२ स्थित मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन समस्या भएको हो। 

     प्रहरी तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको छ । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा सो स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । लामो समयसम्म सडक अवरुद्ध भएपछि प्रहरीले अलपत्र १७ यात्रुको उद्धार गरेको 
    छ ।
     
    यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता काभ्रेकी एक महिला अझै फेला परेकी छैनन् । आज बिहानैदेखि खोजी सुरु गरिएपनि हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन ।  

    मेला गएर फर्कने क्रममा खोलामा आएको बाढीले उनलाई बगाएको थियो । आज बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजीकार्य सुरु गरिएको छ । सोामबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको थियो । 


    images
    images

    Logo