images
images

जलविद्युत् आयोजनालाई उच्च सतर्कता अपनाउन इप्पानको आग्रह, तीन दिन भारी वर्षाको पूर्वानुमान


  • 590
    SHARES
  • २०८२ श्रावण ३ गते शनिबार

    जलविद्युत् आयोजनालाई उच्च सतर्कता अपनाउन इप्पानको आग्रह, तीन दिन भारी वर्षाको पूर्वानुमान

    काठमाडौं । देशभर भारी वर्षाको पूर्वानुमानसँगै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले निर्माणाधीन तथा सञ्चालनमा रहेका सम्पूर्ण जलविद्युत् आयोजनालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    जल तथा मौसम विज्ञान विभागले आजदेखि पर्सिसम्म देशका विभिन्न भागहरूमा अत्यधिक वर्षा भई नदीहरूमा पानीको सतह सतर्कता सीमाभन्दा माथि पुग्न सक्ने जानकारी दिएपछि इप्पानले विज्ञप्तिमार्फत सतर्कता अपनाउन सबै आयोजनालाई अनुरोध गरेको हो।

    विभागले कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काईलगायत पूर्वी क्षेत्रका नदीहरूमा बाढीको सम्भावना उच्च रहेको जनाएको छ। कोशी नदीको पानी सतर्कता तह पार गर्न सक्ने सम्भावना समेत रहेको छ।

    त्यसैगरी, बागमती नदीमा भोलि बेलुकासम्म बाढी आई काठमाडौँ उपत्यका र तल्लो क्षेत्रहरू प्रभावित हुन सक्ने र पर्सि दिउँसो महाकाली नदी तथा त्यसको तटीय क्षेत्रहरूमा बाढीको खतरा देखिएको छ।

    इप्पानका अनुसार, यस मौसमी प्रणालीको प्रभावले बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देहीजस्ता जिल्लाहरूमा असर पर्नेछ, जसले नारायणी जलाधारका क्षेत्रहरूमा बाढीको जोखिम बढाउनेछ। पश्चिमतर्फ राप्ती, बबई तथा महाकाली क्षेत्रहरूमा पनि असर पर्ने भएकाले सतर्कता अपनाउन भनिएको छ।

    इप्पानले विगतमा बाढी र पहिरोका कारण जलविद्युत् आयोजनामा भएको क्षति र जनधनको हानी स्मरण गराउँदै यस्ता घटना दोहोरिन नदिन पूर्वतयारी गर्न विशेष ध्यान दिन अनुरोध गरेको छ। गत असार २४ गते भोटेकोशीको बाढीले रसुवा र नुवाकोटमा ठूला क्षति पुर्‍याएको उदाहरण दिँदै इप्पानले सावधानी अपनाउन जोड दिएको हो।


    images

    Logo