images
images

सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिक करिब २४ लाख, एक वर्षमै थपिए ८ लाख ८२ हजार


  • 363
    SHARES
  • २०८२ श्रावण ७ गते बुधबार

    सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिक करिब २४ लाख, एक वर्षमै थपिए ८ लाख ८२ हजार

    काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको संख्या २४ लाख नजिक पुगेको छ । कोषले बुधबार पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०८१/८२ का उपलब्धिहरू सार्वजनिक गर्दै श्रमिक सहभागिता उल्लेख्य रूपमा बढेको जानकारी दिएको हो ।

    २०७९/८० को तुलनामा गत आव २०८१/८२ मा मात्रै ८ लाख ८२ हजार ९४६ श्रमिक थपिएका छन्, जसपछि कुल श्रमिक संख्या २३ लाख ७४ हजार ४८६ पुगेको छ । यसमध्ये औपचारिक क्षेत्रका श्रमिक ६ लाख १ हजार ८२५ रहेका छन् भने वैदेशिक रोजगारमा संलग्न श्रमिकको संख्या १७ लाख ७१ हजार ५३७ पुगेको छ । स्वरोजगार श्रमिक भने हालसम्म १ हजार १२४ छन् ।

    कोषमा सूचीकृत रोजगारदाता संख्या २० हजार ९५१ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा मात्र २५ अर्ब ३६ करोड रुपैयाँ योगदान संकलन गरिएको कोषले जनाएको छ । योसँगै कुल योगदान संकलन रकम ८३ अर्ब २५ करोड पुगेको छ ।

    गत वर्ष औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाका लागि १ लाख १० हजार ६९६ जना योगदानकर्तालाई २ अर्ब १५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत ५ हजार ९३३ जनालाई २० करोड भुक्तानी गरिएको छ । आश्रित परिवार सुरक्षाअन्तर्गत ७४५ जनालाई २६ करोड र वृद्धावस्था सुरक्षाअन्तर्गत १ लाख १२ हजार ८६८ जनालाई १३ अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।

    कुल ३ लाख ६२ हजार दाबीहरूमा ५ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी गरिएको कोषले जनाएको छ । हालसम्म कोषले ७ लाख ५६ हजार दाबीहरूमार्फत १५ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।


    images

    Logo